काठमाडौं- सेयर बजारमा यो साता तीन दिन कारोबारमा गिरावट आएको छ भने दुई दिन वृद्धि देखिएको छ। उकालो यात्रामा जान अन्य विषयले साथ दिइरहेको विश्लेषण भइरहँदा पनि साताभरको कारोबार भने सुखद रहेन।
यो साता कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत सुस्ताएको थियो। आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेर रोकिएको थियो। आइतबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो। त्यसपछि दुई दिन बढेर उत्साह थपिने आशमा रहेको बजारमा बुधबार र बिहीबार पुन: गिरावट आएको हो।
लगातार दुई दिन सोमबार १८.०७ साथै मंगलबार १६.०४ अंकले बढेको बजार बुधबार पुन: घटेको थियो। सेयर बजार बुधबार २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा झरेको थियो।
बिहीबार पनि बजारमा गिरावट नै आएको छ। बिहीबार १६.६९ अंकले घटेर २६१३.६७ बिन्दुमा पुगेको छ। लगातार कारोबार रकममा भइरहेको कमीले पनि लगानीरकर्ता बजारमा फर्किन बाँकी रहेको देखाउँछ। बिहीबार ५२ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता पठाएर मन्त्रिपरिषद् पुनर्गठन गर्न गठबन्धनमा प्रस्ताव राखेर छलफल गरिरहँदा सेयर बजारमा दुई दिन सकारात्मक प्रभाव देखिएको थियो। सोमबार उतारचढावमा रहँदै अन्तिममा १८.०७ अंकले बढेर २६३४.६५ बिन्दुमा उक्लिएको बजारमा मंगलबार पनि दोहोरो अंककै वृद्धि देखिएको थियो। मंगलबार १६.०४ अंकको वृद्धि देखिएको बजारले बुधबार र बिहीबार भने उहीअनुरूप साथ पाउन सकेन।
सोमबार र मंगलबार दुई दिनको लगातार वृद्धिले लगानीकर्तामा विश्वास थपिएको विश्लेषण भइरहँदा बुधबार र बिहीबारको अवस्थाले लगानीकर्ता अझै विश्वस्त नभएको देखिएको छ। बैंकहरूमा तरलताको समस्यासमेत समाधानउन्मुख रहँदै फागुनमा २२ अर्बले निक्षेप बढ्नुका साथै चुनावी माहोल बढिरहँदा पनि सेयर बजारले साथ पाउन सकिरहेको छैन।
आउने साता पनि उतारचढावमै बजार रहने विश्लेषकहरू बताउँछन्। पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताको विश्वास जित्नेगरी बजारमा सूचकहरू देखिएमा उकालो यात्रा समात्ने उनीहरूको भनाइ छ। गएका केही सातायता देखिएको अवस्था भने आउने साता ब्रेक हुने र बजारमा स्थिरता देखिँदै वृद्धितिर लाग्ने विश्लेषकहरू बताउँछन्। विशेष गरी ठूला लगानीकर्ताको पकडमा रहेको बजारमा चलखेल नहुँदा मात्रै स्वभाविक अवस्था देखिन थाल्ने उनीहरूको भनाइ छ।