काठमाडौं- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) निर्माणको विश्वव्यापी होडबाजीबीच प्रविधि जायन्ट गुगलले एआई स्टार्टप 'एन्थ्रोपिक' मा १० अर्ब डलर तत्काल लगानी गर्ने भएको छ। दुई कम्पनीबीच भएको सम्झौताअनुसार भविष्यमा थप ३० अर्ब डलरसम्म लगानी विस्तार गर्ने बताइएको छ।
उक्त सम्झौताले गुगल र एन्थ्रोपिकको सम्बन्धलाई साझेदार र प्रतिस्पर्धी दुवैका रूपमा नयाँ उचाइमा पुर्याउनले विश्वास गरिएको छ। एन्थ्रोपिकका अनुसार गुगलले हाल ३ सय ५० अर्ब डलरको मूल्यांकनका आधारमा १० अर्ब डलर नगद उपलब्ध गराउने छ।
स्टार्टप कम्पनी एन्थ्रोपिकले शुक्रबार गराएको जानकारी अनुसार कम्पनीले निर्धारित कार्यसम्पादनका लक्ष्यहरू पूरा गरेमा अल्फाबेटको स्वामित्वमा रहेको गुगलले थप ३० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। यस लगानीले मुख्यतया एन्थ्रोपिकको कम्प्युटिङ क्षमता विस्तारमा सहयोग पुग्नेछ।
सफ्टवेयर विकासको प्रक्रियालाई द्रुत बनाउने एआई एजेन्ट 'क्लोउड कोड'को व्यापक सफलतासँगै एन्थ्रोपिकले लगानी जुटाउने अभियानलाई तीव्र बनाएको हो। यसै सातामात्र कम्पनीले अमेजनबाट पनि ५ अर्ब डलर लगानी पाएको थियो। अमेजनले पनि लत्काल सो लगानीसँगै भविष्यमा थप २० अर्ब डलर लगानी बढाउने बताएको छ।
गएको फेब्रुअरीमा ३० अर्ब डलर संकलन गरिसकेको एन्थ्रोपिकको मूल्यांकन अहिले ८ सय अर्ब डलरभन्दा माथि पुग्न सक्ने लगानीकर्ताहरूको अनुमान छ। एन्थ्रोपिक गुगलको चिप्स र क्लाउड सेवाहरूको प्रमुख ग्राहक समेत हो। गुगल क्लाउडले आगामी पाँच वर्षभित्र एन्थ्रोपिकलाई ५ गिगावाट बराबरको कम्प्युटिङ क्षमता उपलब्ध गराउने बताएको छ।
विशेषगरी गुगलको टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) चिप्सहरू एनभिडियाको प्रमुख विकल्पका रूपमा देखिएको छ। जुन एआई विकासका लागि अहिले विश्व बजारमा दुर्लभ र बहुमूल्य संसाधन मानिदै आएको छ।
एन्थ्रोपिकले आगामी अक्टोबरसम्ममा आफ्नो प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहँदा पूर्वाधार विस्तारका लागि यो लगानी महत्त्वपूर्ण हुने कम्पनीले जनाएको छ। क्लोउड कोड यतिबेला सिलिकन भ्यालीका इन्जिनियरहरूको रोजाइमा परेको छ। जसका कारण गुगलका आफ्नै अधिकारीहरू एआई कोडिङको क्षेत्रमा एन्थ्रोपिकको बढ्दो वर्चस्वलाई लिएर चिन्तितसमेत देखिएका छन्।
यद्यपि एन्थ्रोपिकको भविष्य चुनौतीमुक्त भने छैन। अमेरिकी सेनाले यसको प्रविधि प्रयोग गर्ने विषयमा विवाद उत्पन्न भएपछि पेन्टागनले एन्थ्रोपिकलाई 'सप्लाई-चेन जोखिम'को सूचीमा राखेको छ।
यसविरुद्ध एन्थ्रोपिक अहिले अदालतमा लडिरहेको छ। साथै ठूला टेक कम्पनीहरूले स्टार्टअपमा लगानी गर्ने र पुनः सोही रकम आफ्नै चिप्स वा डाटा सेन्टर सेवा खरिदमा खर्च गराउने 'सर्कुलर डिल' का सम्बन्धमा पनि कतिपय वित्तीय विश्लेषकहरूले प्रश्न उठाएका छन्।
गुगलमै पूर्वएआई अनुसन्धानकर्ताका रूपमा कार्यरत डेरियो अमोदेईले सन् २०२१ मा ओपनएआईका पूर्वकर्मचारीहरूसँग मिलेर एन्थ्रोपिक एआईको स्थापना गरेका थिए। अहिले यो कम्पनी र गुगल मानव क्षमताको बराबरी गर्ने एआई निर्माणको दौडमा आमनेसामने भएका छन्।