काठमाडौं- नबिल बैंकले आफ्ना ग्राहकको गोप्य सूचना र बैंकिङ कारोबार विवरण सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गम्भीर आपत्ति जनाएको छ।
बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा फैलाइएका यस्ता दाबीहरू पूर्ण रूपमा आधारहीन, प्रमाणविहीन र भ्रामक रहेको स्पष्ट पारेको हो।
विशेष गरी २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारसम्बन्धी समाचारलाई लिएर बैंकमाथि प्रश्न उठेपछि नबिल बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। उक्त समाचारमा नै अनुसन्धान निकायबाट प्राप्त विवरणको आधारमा रिपोर्ट गरिएको उल्लेख भएको अवस्थामा बैंकलाई मात्र लक्षित गर्नु नियोजित दुष्प्रचार भएको बैंकको ठहर छ।
नबिल बैंकले कुनै पनि ग्राहकको विवरण ग्राहक स्वयं वा कानुनी प्रक्रिया पूरा गरेर आउने अनुसन्धानकारी निकायबाहेक अरू कसैलाई उपलब्ध नगराइने स्पष्ट पारेको छ। यदि कुनै विवरण सिस्टमबाट निकालिएको भए पनि त्यसको सम्पूर्ण डिजिटल ट्रेस कोर बैंकिङ सिस्टममा सुरक्षित रहने बैंकले जनाएको छ।
चार दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नबिल बैंकले प्रचलित कानुन र बैंकिङ आचारसंहिताको पूर्ण पालना गर्दै आएको दाबी गरेको छ। साथै, गलत सूचना फैलाएर बैंकको छवि धमिल्याउने व्यक्ति वा समूहविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ लगायत कानुनअनुसार कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ।
बैंकले यस्ता भ्रामक सूचनाको पछि नलाग्न ग्राहक तथा सर्वसाधारणलाई आग्रह गर्दै सुरक्षित, पारदर्शी र विश्वसनीय सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।