काठमाडौं- नेपालमा लुब्रिकेन्ट उत्पादन क्षेत्रमा नयाँ चरणको सुरुवात गर्दै गोल्छा समूह र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानीमा स्थापना गरिएको अत्यधुनिक 'लुब्रिकेन्ट ब्लेन्डिङ प्लान्ट' औपचारिकरूपमा सञ्चालनमा आएको छ।
गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले उद्योगमा उत्पादन सुरु भएको जानकारी दिँदै यो परियोजना नेपालकै औद्योगिक इतिहासमा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
नवलपुरमा रहेको यो उद्योगमा गोल्छा समूह र इन्डियन आयल कर्पोरेशनको सहकार्यकमा उत्पादन सुरु गरिएको हो। भारतीय र नेपाली दुवै उद्योगको ५०/५० प्रतिशत स्वामित्व राखेका छन्।
उद्योगमा प्रारम्भिक चरणमा करिब एक अर्ब रुपैयाँ लगानी गरिएको छ। सन् २०२४ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण गरिएको यो प्लान्ट करिब डेढ वर्ष ढिलाइपछि औपचारिक रूपमा उत्पादन चरणमा प्रवेश गरेको हो।
शेखर गोल्छाले यो नेपाल र भारतबीचको औद्योगिक सहकार्यमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै भने, 'हामी इन्डियन आयलजस्तो भारतकै ठूलो कम्पनीसँगको सहकार्य सुरु गर्न पाउँदा अत्यन्त उत्साहित छौँ। यो गोल्छा समूहका लागि पहिलो संयुक्त लगानी हो, जसले हाम्रो औद्योगिक यात्रामा नयाँ अध्याय सुरु गरेको छ।'
उनका अनुसार यो सहकार्य केवल उत्पादन उद्योग स्थापना मात्र नभइ भविष्यमा थप विस्तार, रणनीतिक साझेदारी तथा उत्पादन विविधीकरणतर्फ पनि केन्द्रित रहनेछ। नेपालमा बढ्दो सवारीसाधन र औद्योगिक आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको जनाइएको छ।
उद्योगले आयातमा निर्भरता घटाउँदै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। साथै उद्योग सञ्चालनमा आएपछि प्रत्यक्षरूपमा रोजगारी सिर्जना र प्राविधिक क्षमताको विकासमा समेत योगदान पुग्ने बताइएको छ।