शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे। यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ।

चौतारा- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ। कुण्डमा हिन्दु तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन्। यसलाई शेर्पाहरूले आमा छ्यूमेनका रूपमा पूजा गर्दछन्।

समुद्री सतहबाट ६ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट ४ हजार १२४ मिटरको उचाइमा पर्दछ। भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार सो ताल करिब ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ। तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन। कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ।

पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित हुन्छन्। यहाँबाट सम्मुख जुगल हिमशृंखला पर्दछ। प्राकृतिक रूपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ। अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ।

विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरूको खचाखच हुने गर्दछ। विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ। तत्कालीन जंगबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ।

भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउँछिन्। यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्ती छ।

महादेवको उग्ररूप अर्थात् भैरव सम्हारकर्ताका रूपमा मानिन्छ। भगवान् शिवको क्रिडास्थलका रूपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो।

भैरवकुण्ड नजिकै अर्काे प्रख्यातस्थल देउढुंगा पनि छ। कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुंगा पुगिन्छ। यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन्।

किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुंगाको धार्मिक यात्रा गर्छन्। ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन्। आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन्।

आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र छन्। भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे। यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ।

तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौंको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरू देख्न सकिन्छ। भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ।

चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो। त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो।

हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको संख्या बढ्दो छ। यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ। बीचमा चौँरीका गोठहरूमा बास बस्नुपर्ने हुन्छ। पर्यटकहरूलाई थप सहजताका लागि अब भने बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन्। पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभइ सिंगो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख १० २०८३१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend