आजको नेपालमा धेरै पूर्वाधार छन्। संसारसँगको दुरी छोटिएको छ। हाम्रो मुलुकको आँगनमै वर्षमा लाखौँको संख्यामा पर्यटक आइपुग्छन्। यस्तो अवस्थामै पनि नेपालमा अहिले होटल जस्ता परियोजनामा लगानी गर्न धेरै पटक सोच्नुपर्छ। एकपटक सोचौँ त आजभन्दा ५० वर्ष पहिलेको अवस्था झन् कस्तो थियो होला। त्यही समयमा नेपालमा ठूलो होटलमा निजी लगानी गर्नु चानचुने कुरा थिएन। यही काम राधेश्याम सराफले गर्नुभयो।
उहाँले त्यस्तो बेला होटलमा लगानी गर्नुभएको थियो कि जतिबेला यसै पनि पर्यटक आउँदैन थिए। आए पनि राजपरिवार निकटकै लगानी रहेका सोल्टी तथा अन्नपूर्ण होटल थिए। त्यस्तोमा याक एण्ड यति होटल सञ्चालन गरेर देखाउनु आफैमा चुनौतीपूर्ण काम थियो। सन् १९७७ मा होटल खुल्दा नेपालमा पञ्चायत शासन थियो। त्यतिबेला राज परिवारकै लगानी भएका होटलको प्रतिस्पर्धीका रुपमा खोल्नुबाहेक निजी लगानीमा होटल खोल्नु ठूलो कुरा थियो।
आफै जग्गा खरिद गरेर होटलको संरचना निर्माण गर्नु सानो लगानी होइन। जुन काम सराफल गर्नुभयो। होटल खोल्नु लगानी जुटाउनु र व्यावसायिक दीगोपन आफ्नो ठाउँमा छ। नेपालको निजी क्षेत्रमा एउटा अर्को काम गर्नुभयो उहाँले त्यतिबेला। त्यो थियो बहुराष्ट्रिय वित्तीय संस्थाको लगानी ल्याउने कुरा। उहाँले याक एण्ड यति होटलमै त्यस्तो लगानी ल्याउनुभयो। अन्तर्राष्ट्रिय वित्तीय संस्थाले निजी क्षेत्रलाई पत्याउँछन् भनेर एउटा आत्मविश्वासको वातावरण उहाँले बनाउनुभयो। यो नेपालको हस्पिटालिटीमात्र होइन समग्र निजी क्षेत्रकै लागि महत्वपूर्ण कुरा थियो।
लगानी तथा पूर्वाधारका हिसाबले त्यो होटल परियोजना आफैमा एउटा युनिक काम थियो। अहिले पनि त्यसको संरचना आधुनिक देखिन्छ। जति हेरेपनि पुरानो नहुने यस्तो दीर्घकालीन डिजाइनको कल्पना र त्यसमा लगानी गर्नुमा उहाँको भिजन देखिन्छ।
याक एण्ड यति होटल नेपालमा सफल भयो। त्यस्तो बेलामा त्यति ठूलो लगानी गरेर स्तरीय होटल निर्माण गरेर सञ्चालन गर्दा पनि चल्छ, त्यसबाट लाभ हुनसक्छ, पर्यटक आएर बस्न सक्छन् भनेर एउटा प्रेरणादायी काम उहाँले गर्नुभयो। याक एण्ड यतिपछि उहाँले भारतमा होटल विस्तार गर्नुभयो। अहिले भारतमै उहाँको ठूलो होटल चेन बनिसकेको छ।
त्यसपछि उहाँले ह्यात रिजेन्सी खोल्नुभयो काठमाडौंमा। जुन होटलले अहिलेसम्म पनि पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउने तथा धेरै कर तिर्ने संस्थाका रुपमा रहेको छ। त्यसमा त्यतिबेला गरिएको लगानी तथा त्यसबाट नेपालले अन्तर्राष्ट्रिय समुदायमा पाएको ब्रान्डिङ अलौकिक छ। यी सबै हिसाबले हेर्दा सराफजी नेपालको पर्यटन उद्योगका एक पिल्लर हुनुहुन्थ्यो। उहाँको निधनबाट नेपालले भिजनरी उद्यमी गुमाएको छ।
भारतकै ठूलो होटेलियर बन्ने उहाँको आधार नेपालको भूमि बनेको थियो। त्यो कुरा उहाँ आफैमा देखिन्थ्यो। सायद त्यही कारणले हुनसक्छ उहाँले नेपालप्रतिको स्नेह अगाध थियो।
उहाँको नेपालप्रतिको माया यति थियो कि मरेपछि अन्तिम संस्कार काठमाडौंमै गर्नू भन्नुभएको रहेछ। त्यही भएर नयाँ दिल्लीबाट उहाँको पार्थिव शरीरलाई चार्टर्ड फ्लाइटबाट ल्याएर यहाँ अन्तिम संस्कार गरिएको छ। जबकि उहाँको धेरै आफन्त, नातागोता सबै भारतमै थिए।
परिवार तथा आफन्तमात्र होइन नेपालभन्दा ठूलो व्यापारिक साम्राज्य उहाँको भारतमै हो। तर पनि उहाँ नेपालमै बस्न रुचाउनुहुन्थ्यो। वर्षमा न्यूनतम ८ महिना नेपालमै बस्नुहुन्थ्यो। त्यही कारणले व्यापार व्यवस्थापन सबै भारतमै भए पनि उहाँका छोराहरू काठमाडौंमा धेरै बस्ने गरेका थिए।
नेपालप्रतिको माया र आस्थाका कारणले व्यापार तथा नाफाको केन्द्र भारतमा सरेपनि बसाइ भने उहाँको नेपालमै भयो। उहाँको परिवारको केन्द्र पनि नेपालमै भयो।
उहाँ नेपाल आउनुअघि तीब्बतमा पनि उहाँको व्यापारिक सम्बन्ध थियो। उहाँ तिब्बती भाषा पनि राम्रो बोल्नुहुन्थ्यो। भाषामात्र होइन उहाँको सम्बन्ध तिब्बती बौद्ध धर्मगुरुहरूसँग पनि थियो। उहाँको हरेक पुण्य काममा रिम्पोचेहरूको सम्बन्ध हुन्थ्यो।
बौद्ध धर्म तथा संस्करप्रति उहाँको लगाब उहाँका होटलमा पनि देखिन्छ। ह्यात रिजेन्सी काठमाडौं र याक एण्ड यतिमा देखिन्छ। होटलका लवीतिर स्तुपाहरू प्रसस्त देखिन्छन्। उहाँको संस्कृतिप्रतिको चेत उच्च देखिन्थ्यो।
व्यावसायिक रुपमा सफलता हात पारे पनि लो प्रोफाइलमा बस्न रुचाउने उहाँले आफूलाई सँधै फिट राख्नुहुन्थ्यो। त्यसैले उहाँले लामो उमेर पनि पाउनुभयो सायद। ९२ वर्ष भनेको राम्रै उमेर पनि हो।
व्यापार व्यवसायबाहेक उहाँले सामाजिक काममा पनि राम्रै गर्नुभएको थियो। अहिले धेरै नेपालीको आकर्षणको केन्द्र रहेको इन्डियन मोडर्न स्कुललाई धेरै ठूलो सहयोग गर्नुभएको थियो। त्यो स्कुलका लागि जग्गा खरिददेखि अन्य आर्थिक सहयोगसम्म उहाँले गर्नुभएको थियो। अहिले पनि ९५ प्रतिशत नेपाली विद्यार्थीले अध्ययन गर्ने त्यो स्कुलमा उहाँले निस्वार्थ सहयोग गर्नुभएको थियो।
धार्मिक तथा सामाजिक काममा पनि उहाँले कहिलै पनि नाइ भन्नु हुँदैन थियो।
देशले असल उद्योगी भिजनरी सेवक र पर्यटनको पिलर गुमाएको छ। नेपालमा महँगो र स्तरीय होटल बनाएपछि चल्छ, लगानी ठूलो कुरा होइन भनेर उहाँले सन्देश दिएर जानुभएको छ।