शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बेइजिङ अटो शोमा चिनियाँ कार निर्माताहरूले युरोपका प्रिमियम ब्रान्डलाई गर्दैछन् 'टार्गेट'

बुधबार, वैशाख ९ २०८३
बेइजिङ अटो शोमा चिनियाँ कार निर्माताहरूले युरोपका प्रिमियम ब्रान्डलाई गर्दैछन् 'टार्गेट'

चिनियाँ कम्पनीले बनाएका प्रिमियम कारहरु सुविधाले भरिपूर्ण छन् र जर्मन प्रतिद्वन्द्वीले ल्याएका कन्सेप्ट मोडलहरूको तुलनामा निकै सस्तो मूल्यमा उपलब्ध छन्।

काठमाडौं- चिनियाँ कार अटो निर्माता कम्पनीहरुसँग प्रिमियम जर्मन ब्रान्डहरू पोर्सा, मर्सिडिज र बीएमडब्लूका लागि एउटा सन्देश छ : हामी तिमीहरुका ग्राहक आर्कषित गर्न सक्षम भइसकेका छाैँ। यो सन्देश यसै साताबाट चीनकाे राजधानी बेइजिङमा सुरु हुन लागेको बेइजिङ अटो शोबाट अझ प्रष्याउँदै आउन लागेको छ। 

वर्षौंसम्म प्राविधिक रूपमा उन्नत र कम लागतका विद्युतीय सवारी साधनहरू उत्पादनमा चिनियाँ कम्पनीले विश्व बजारमा एउटा मानक स्थापित गरिसकेका छन्। तर पछिल्लो समय जीली र नियोजस्ता चिनियाँ कम्पनीहरूले अब्बल प्रिमियम मोडलहरू बजारमा ल्याइरहेका छन्। चिनियाँ कम्पनीले बनाएका प्रिमियम कारहरु सुविधाले भरिपूर्ण छन् र जर्मन प्रतिद्वन्द्वीले ल्याएका कन्सेप्ट मोडलहरूको तुलनामा निकै सस्तो मूल्यमा उपलब्ध छन्।

यो चिनियाँ अटोमोबाइल उद्योगका लागि एउटा ठूलो परिवर्तन हो जो विगत तीन वर्षदेखि विद्युतीय सवारीको प्राइस वारमा फसेको थियो। जसरी चिनियाँ प्रिमियम कार उत्पादकहरुले कार ल्याइ रहेका छन् यसले विश्वको सबैभन्दा ठूलो अटो बजार चीनमात्र होइन परम्परागत प्रिमियम कार निर्माताको पहिचान बनाएका प्रिमियम अटो निर्माताहरूलाई नै खतराको संकेत दिएको छ। 

बेइजिङ अटो शो २०२६ आगामी शुक्रबारदेखि सुरु हुँदैछ। त्यसमा चिनियाँ सवारी उद्योगले सयौँ नयाँ सवारी र कन्सेप्ट कारहरू सार्वजनिक गर्ने तयारी गरेको छ। चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)का महासचिव कुई डोङशुका अनुसार यसमा ठूला र प्रिमियम '९-सिरिज' एसयूभीहरूको बाढी नै आउनेछ। यसै सन्दर्भमा अनुसन्धान संस्था जाटो डायनामिक्सका कन्ट्री म्यानेजर बो युले भनेका छन्, 'मूल्य युद्ध अब 'भ्यालु फर मनी'को युद्धमा परिणत भएको छ।' 

प्रिमियम कार बजारका लागि भइरहेको यो लडाइँले चीनमा जर्मन अटो निर्माताहरूका लागि थप समस्या निम्त्याउने संकेत गरेको अटोमोबाइल विश्लेषकहरुको भनाइ छ। एसएन्डपी ग्लोबल मोबिलिटीको तथ्यांक अनुसार सन् २०१९ मा जर्मन अटो निर्माताहरूले चीनमा ५१ लाख सवारी साधन बिक्री गरेका थिए। यसको तुलनामा चीनमा उनीहरुको कार बिक्री २०२५ मा करिब २५ प्रतिशतले घटेर ३८ लाख ५० हजारमा झरेको छ।

मर्सिडिज बेन्ज, बीएमडब्लू र फक्सवागनका प्रिमियम ब्रान्ड पोर्सा र आउडी सबैले चालु आवको पहिलो त्रैमासमा चीनमा बिक्री घटेको रिपोर्ट सार्वजनिक गरेका छन्। 

चिनियाँ कम्पनीहरुले सार्वजनिक गरेको उच्च स्तरको प्रतिस्पर्धी प्रिमियम कारले चीनमा मात्र नभइ विदेशमा पनि प्रतिस्पर्धालाई तीव्र बनाउने र प्रतिस्पर्धा बढाउने छ। प्राइस वारले आन्तरिक बजार तनावपूर्ण बन्दै गएकाले चिनियाँ कार निर्माताहरू विदेशी बजारलाई केन्द्रमा राख्न थालेका छन्। कम मूल्यमा उच्च स्तरको सुविधासहित प्रिमियम कार लिएर चिनियाँ कम्पनीहरु युरोपेली तथा एसियाली बजार केन्द्रित हुन खोजेका छन्। 

चीनका ईभी निर्माताहरूले चीनमा निर्मित विद्युतीय कारहरूमा युरोपेली संघले लगाएको भन्सार शुल्कलाई आत्मसात गर्न र तिनको मूल्य युरोपेली प्रतिद्वन्द्वीहरू समान मोडलहरू भन्दा कम राख्न सफल भएका छन्। चिनियाँ हाइब्रिड र कम्बसन इन्जिनयुक्त कारहरूमा ईयूको महसुल लाग्दैन।

परामर्शदाता फर्म एलिक्स पार्टनर्सको एसिया अटोमोटिभ प्रमुख स्टीफन डायरले भनेका छन्, 'म थप चिनियाँ कम्पनीहरूले प्रिमियम उत्पादनमा जोड दिने अपेक्षा गर्दछु। स्वदेशमा आफूलाई फरक देखाउन र विश्वव्यापी बजारमा जानका लागि तयारी गर्न उनीहरूले यसो गरिरहेका छन्।' चीनमा कारको बिक्री पहिलो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले घटेको छ र निकट भविष्यमा यो स्थिर रहने वा अझै घट्ने अपेक्षा गरिएको छ।

'सडकको नयाँ मानक'

जीलीको प्रिमियम ब्रान्ड जिकरले गत साता एटएक्स सार्वजनिक गर्‍यो। उक्त कार सुरक्षा, इन्फोटेनमेन्ट र प्रविधिका सुविधाहरूले भरिपूर्ण फुल-साइज, लङ-रेन्ज प्लग-इन हाइब्रिड एसयूभी हो।

एटएक्स कारले पार्श्विक ठक्कर हुनुअघि यात्रुहरूलाई जोगाउन आफूलाई माथितिर ढल्काउन सक्छ। यदि कार साँघुरो ठाउँमा पार्क गरिएको छ भने चालकले इसारा गरेकै भरमा यो आफैं पार्किङबाट बाहिर निस्कन्छ। जसले यात्रुहरू सजिलै भित्र पस्न सकुन्। जीलीले एटएक्सको एउटा भिडियो देखाएको छ जसको सुरुवाती मूल्य ५३ हजार डलर भन्दा कम छ। 

यो कारले स्पीड परीक्षणमा पोर्सा कायेन र बीएमडब्लू एमफाइभ दुवैलाई हराएको देखाइएको छ। यी जर्मन प्रिमियम मोडलहरूको मूल्य क्रमशः १ लाख ३५ हजार डलर र २ लाख ५ हजार डलरबाट सुरु हुन्छ।

सांघाईबाट करिब २ सय किलोमिटर दक्षिणमा रहेको निङ्बोमा आयोजित एक कार्यक्रममा जीली अटोमोबाइलका सीईओ गान जियायुले भने, 'जिकर एटएक्स सडकको नयाँ राजा हो।'

परामर्शदाता फर्म सिनो अटो इनसाइट्सका प्रबन्ध निर्देशक तु लेले ठूला प्रिमियम एसयूभीहरू सार्वजनिक गरेर चिनियाँ अटो निर्माताहरूले जर्मन प्रिमियम कार निर्मातामात्र होइन डेट्रोइटका अटो निर्माताहरू जनरल मोटर्स, फोर्ड मोटर र स्टेलान्टिसलाई चुनौती दिइरहेका छन्। 

अहिलेसम्मको अवस्था अनुसार अमेरिकी ग्राहकहरूले चिनियाँ कारहरू किन्न सक्दैनन्। यद्यपि धेरै उद्योग विश्लेषकहरूले यो अवस्था परिवर्तन हुने अपेक्षा गरेका छन्। 

'पाँच वर्षअघि अकल्पनीय थियो अवस्था'

चिनियाँ प्रिमियम कारहरूको उदय यस्तो समयमा भएको छ जुन समयमा उपभोक्ताको जनसाङ्ख्यिक र रुचीहरू परिवर्तन भएका छन्। सीपीसीएका कुईका अनुसार औसत चिनियाँ कार खरिदकर्ताको उमेर ३० बाट बढेर ४० भन्दा माथि पुगेको छ र परिवारहरू ठूला प्रिमियम मोडलहरू चाहन्छन्। जसले गर्दा इन्ट्री-लेभल कारहरूको माग घटिरहेको छ।

चिनियाँ उपभोक्ताहरू चीनका ईभी निर्माताहरूको अग्रणी प्रविधितर्फ पनि आकर्षित भइरहेका छन्। युवा खरिदकर्ताहरूलाई जर्मन प्रिमियम ब्रान्डहरूको विरासतमा चासो कम हुँदै गएको छ। उता युरोपमा भने उनीहरूको मुख्य शक्ति हो। जाटो डायनामिक्सकी बोले भनिन्, 'जर्मन ब्रान्डहरू विगतमा अड्किएका छन्, तर चिनियाँ उपभोक्ताहरू स्वदेशी प्रविधि अँगाल्न चाहिरहेका छन्।'

अटो परामर्शदाता फेलिप मुनोजले पाँच वर्षअघि चिनियाँ उपभोक्ताहरूले स्थापित जर्मन प्रतिद्वन्द्वीहरू भन्दा स्थानीय प्रिमियम मोडलहरूलाई रुचाउने कुरा 'अकल्पनीय' थियो। तर अब 'विदेशी लक्जरी र प्रिमियम ब्रान्डहरूलाई चीनमा टिक्न गाह्रो हुनेछ।'

उनले थपे, 'प्रश्न यो हो कि के चीन बाहिर पनि यस्तै हुनेछ? युरोपमा जर्मन प्रिमियम ब्रान्डहरू गुणस्तरको मानक हुन्। त्यसलाई परिवर्तन गर्न गाह्रो हुनेछ।' 

अप्रिल २४ देखि मे ३ सम्म हुने बेइजिङ अटो शोमा १ सय ८१ वटा वर्ल्ड प्रिमियर ७१ वटा कन्सेप्ट कारसहित १ हजार ४ सय ५१ वटा कार प्रदर्शनीमा राखिने कारन्युजचाइनाले लेखेको छ। विश्वकै ठूलो दाबी गरिएको बेइजिङ अटो शो ३ लाख ८० हजार वर्ग मिटर क्षेत्रफलमा हुनेछ। 

यो अटो शोमा अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बीएमडब्लू मर्सिडिज बेन्ज अउडी फक्सवागन टोयोटा फोर्डलगायत छन् भने‍ चिनियाँ ब्रान्डमा एफएडब्लू होङक्यू डोङफेङ मोटर चाङगन अटोमोबाइल जीली चेरी अटोमोबाइल ग्रेटवाल मोटरलगायतले नयाँ प्रविधि र सवारी सार्वजनिक गर्दैछन्। 

बेइजिङ अटो शोमा सार्वजनिक हुने र भएका चेरी अटोमोबाइल चाङगन दिपल ग्रेटवाललगातका केही कार नेपाली बजारमा आउने छन्। बेइजिङ अटो शोमा नेपाली व्यवसायीहरु पनि सहभागी हुँदै छन्। 


प्रकाशित : बुधबार, वैशाख ९ २०८३११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend