शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विदेशको आम्दानी सिधै खल्ती वालेटमा, फ्रिल्यान्सरको झन्झटका दिन सकिए

कर मिलानदेखि भुक्तानीका लागि जोखिम न्यूनीकरण हुने

मंगलबार, वैशाख ८ २०८३
विदेशको आम्दानी सिधै खल्ती वालेटमा, फ्रिल्यान्सरको झन्झटका दिन सकिए

यो व्यवस्थामा विदेशबाट हुने प्राप्तिलाई स्रोतमै करकट्टी पनि स्वतः हुने छ। खल्तीमा खाता खोल्दा नै प्यान नम्बर इन्ट्री हुने भएकाले त्यसरी आएको भुक्तानीको प्रकृतिअनुसारको करकट्टी हुने छ। यसबाट करको झन्झट पनि नेपाली फ्रिल्यान्सरलाई हुने छैन।

काठमाडौं- नेपालको भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती बाई आईएमई वालेटमा बहुराष्ट्रिय डिजिटल भुक्तानी पूर्वाधार कम्पनी स्ट्रिपको भुक्तानी उपकरण इनेवल भएको छ। यो भएसँगैनेपालमा रहेर विदेशी कम्पनीका लागि काम गर्ने फ्रिल्यान्सरहरूले सहजै भुक्तानी पाउने भएका छन्। 

विश्वका अधिकांश मुद्रा तथा विश्वव्यापी सबै भुक्तानी सेवाप्रदायकलाई स्वीकार गर्ने यो माध्यमबाट खल्तीमा भुक्तानी हुने भएसँगै नेपाली फ्रिल्यान्सर तथा विदेशबाट व्यक्तिगत भुक्तानी पाउनेका लागि सहज हुने भएको हो। 

नेपालमा रहेको कुनै पनि व्यक्तिले विदेशमा वस्तु तथा सेवाको बिक्री गर्दा त्यसबापत भुक्तानी लिनका लागि रेमिट्यान्स की बैंकिङ च्यानलबाट जानुपर्ने बाध्यता थियो। यसरी जाँदा भुक्तानीमा डिलेका साथै अधिक लागत पनि लाग्ने गरेको छ। 

खल्तीको यो साझेदारीले नेपाली सेवाग्राहीलाई सहज बनाउने भएको छ। विदेशी मुद्राको प्राप्तिमा क्रान्तिकारी पहल भएको कम्पनीले जानकारी दिएको छ। अहिलेको झन्झटिलो प्रक्रियाका कारणले २० प्रतिशति फ्रिल्यान्सरले मात्र आधिकारिक च्यालनबाट भुक्तानी लिँदै आएका छन्। ८० प्रतिशत प्राप्ति अनौपचारिक रूपमै हुँदै आएको छ। 

साझेदारीअनुसार नेपालमा रहेका खल्ती वालेट प्रयोगकर्ताले भुक्तानीका लागि रिक्वेस्ट गर्नुपर्छ। सो रिक्वेस्ट गर्दा प्यान नम्बरसँगै जसलाई भुक्तानीका लागि आग्रह गरिएको हो उसको ईमेलमा नोटिफिकेसन जान्छ। उसले उक्त नोटिफिकेसनमा क्लिक गर्दा ‘पे’ विकल्प दिन्छ। त्यसरी जाँदा भुक्तानी दिने विदेशस्थित व्यक्तिसँग भएको बैंक, कार्ड तथा वालेटबाट भुक्तानी हुन्छ। 

त्यसरी भएको भुक्तानी नेपालको खल्तीको वालेटमा तत्काल जम्मा हुन्छ। 

यो प्रक्रियाले एकातिर करिब रियलटाइमजस्तै भुक्तानी हुने छ भने अर्कोतिर लागत पनि न्यून हुने छ। अहिले नेपाली फ्रिल्यान्सरहरूले जोखिमपूर्ण माध्यमबाट भुक्तानी लिँदै आएका छन्। त्यस्तै वस्तु व्यापारका लागि पनि पर्सन टु पर्सन भुक्तानीका लागि जटिल प्रक्रिया छ। यो समस्या समाधान हुने कम्पनीले जानकारी दिएको छ। 

यसरी यो व्यवस्थामा विदेशबाट हुने प्राप्तिलाई स्रोतमै करकट्टी पनि स्वतः हुने छ। खल्तीमा खाता खोल्दा नै प्यान नम्बर इन्ट्री हुने भएकाले त्यसरी आएको भुक्तानीको प्रकृतिअनुसारको करकट्टी हुने छ। यसबाट करको झन्झट पनि नेपाली फ्रिल्यान्सरलाई हुने छैन। 


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend