शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विश्व बैंकको सहयोगमा व्यास नगरपालिकामा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
विश्व बैंकको सहयोगमा व्यास नगरपालिकामा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा निर्माण कम्पनी बीकेएचटीडीसीएल एसीपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो।

तनहुँ- विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ। विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ।

विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका-७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

व्यास नगरपालिकाको वडा नं ७, ९, १० र ११ लाई जोड्ने पराशर मार्गअन्तर्गत बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कुल-कलेस्ती सडक कालोपत्र गरिनेछ। उक्त खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए।

उक्त सडक स्तरोन्नतिका लागि २०८१ साल वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा निर्माण कम्पनी बीकेएचटीडीसीएल एसीपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो। सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार ४२७ रुपैयाँको ठेक्का आह्वान भएको थियो।

त्यसमध्ये नौवटा फर्मले बोलपत्र दर्ता गराएकामा २३.४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो। विसं २०८२ असारसम्म यसको म्याद रहेकामा काम नसकिएपछि २०८३ असारसम्म म्याद थप भएको छ।

१० दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिनेछ। उक्त सडकले व्यास नगरपालिका-११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका-१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका-९ कुमालगाउँ, व्यास नगरपालिका-७ समता स्कुल, कलेस्तीलगायतका ठाउँ जोड्छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend