काठमाडौं- निजी हवाई सेवाप्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ। योसँगै निजी क्षेत्रबाट सञ्चालित २ वटा नेपाली वायुयान कम्पनीले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका छन्। यसअघि बुद्ध एयरले सन् २०१० मै अन्तर्राष्ट्रिय उडान अनुमति पाएको थियो।
१७ अप्रलिमा श्री एयरलाइन्सले काठमाडौं-दिल्ली-काठमाडौं, काठमाडौं-कोलकाता-काठमाडौं र काठमाडौं-ढाका-काठमाडौंका लागि अन्तर्राष्ट्रिय उडान अनुमति पाएको हो।
श्री एयरलाइन्ससँग हेलिकोप्टरसहित १८ वटा वायुयान छन्। जसमा ७ वटा क्यानेडियन ड्यास-८००, तीनवटा सीआरजे-२००, ६ वटा रसियन एमआई हेलिकोप्टर र दुईवटा बीथ्रीई हेलिकोप्टर छन्।
एयरलाइन्सका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन्। मित्तलको नाममा ९९.९८ प्रतिशत सेयर छ। उद्योगपति स्वर्गीय बनवारीलाल मित्तलले ६३ वर्षको उमेरमा २०५५ सालमा हेलिकोप्टरहरूबाट श्री एयरलायन्स स्थापना गरेका थिए। श्री एयरलाइन्स नेपाल तथा दक्षिण एसिया क्षेत्रबाट संयुक्त राष्ट्र संघअन्तर्गतको विभिन्न शान्ति मिसन तथा विश्व खाद्य कार्यक्रमका हेलिकोप्टरहरूबाट अन्तर्राष्ट्रिय चार्टर उडानसमेत सञ्चालन गर्ने पहिलो हवाई कम्पनी पनि हो।
सन् १९९९ मा अनन्या एयरको नाममा स्थापित एयरलाइन्सलाई पछि श्री एयरलाइन्समा रूपान्तरण गरिएको थियो। सन् २०२३ मा श्री एयलाइन्सलाई पब्लिक कम्पनीमा रूपान्तरण गरिएको थियो। एयरलाइन्सले अहिले काठमाडौंलाई आधार बनाएर धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, विराटनगर र माउन्टेन उडान गरिरहेको छ।
साथै एयरलाइन्सले नेपालगञ्जबाट पनि मानसरोवरको माउन्टेन उडान गरिरहेको छ। एयरलाइन्सले हेलिकोप्टरबाट चार्टर सेवासमेत दिँदै आएको छ। श्री एयर आन्तरिक उडान यात्रु संख्याको आधारमा तेस्रो बजार हिस्सा भएको एयरलाइन्स पनि हो।
८ हेलिकोप्टरबाहेक आफ्ना विमानहरूबाट समेत अन्तर्राष्ट्रिय यात्रु तथा विशेष समयमा कार्गो ढुवानी चार्टर उडान सुरु गरी छोटो समयमा सफलता प्राप्त गरेको र विदेशबाट एयर एम्बुलेन्स विमान ल्याउन नपर्ने गरी आफ्ना विमानहरूबाट बिरामीहरूलाई उपचारका लागि विदेश लाने सेवासमेत यसले प्रदान गर्दै आइरहेको छ। एयरलाइन्सले आईपीओसमेत जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
रेटिङ कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्मा श्री एयरलाइन्सले १५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। चालु आवको ६ महिनामै एयरलाइन्सले २ अर्ब ५३ करोड रुपेयाँ आम्दानी गरेको छ।
प्रिमियममा ६३ लाख कित्ता सेयर निष्कासन
एयरलाइन्सले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग प्रतिकित्ता २०० रुपैयाँका दरले आईपीओ जारी गर्न अनुमति मागेको छ।
एयरलाइन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप १०० रुपैयाँ प्रिमियम जोडेर २०० रुपैयाँका दरमा आईपीओ जारी गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ६३ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ जसको कुल आकार १ अर्ब २६ करोड रुपैयाँबराबर हुने छ। एयरलाइन्सको वार्षिक आम्दानी हरेक वर्ष बढ्दो क्रममा छ।