शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

व्यावसायिक बाख्रापालनमा जमेका गौचन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
व्यावसायिक बाख्रापालनमा जमेका गौचन

म्याग्दी- जिल्लाको धौलागिरि गाउँपालिका-२ लमसुङका कृष्ण गौचन५२ हजार रुपैयाँ लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

६० वर्षीय गौचनले विसं २०७४ मा घुम्तीकोषको सहुुलियत ब्याजदरको ऋण ३८ हजार १५० रुपैयाँ र १५ हजार रुपैयाँ बीउपुँजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।

' घुम्तीकोषको ऋण र बीउपुँजीबाट तीन माउ बाख्रा किनेर घरमा भएका दुई वटा बाख्रामा थपेर पाँच वटा बनाएको थिए तर दुईवटा मरे,' उनले भने, 'जमुनापारी जातको बाख्राको नश्ल सुधारका लागि भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको संख्या बढेर १२० सम्म पुग्यो।'

हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन्। उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै संख्यामा पाठापाठी बिक्री हुुन्छ। मासुका लागि खसीबोका मासुु र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरू गोठमै आउँछन्। पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक-फरक मूल्यमा बिक्री हुने गरेको छ। घुम्तीगोठमा परम्परागत भैँसीपालन व्यवसाय छाडेर गौचनले बाख्रापालन सुरु गरेका थिए।

बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताए। उनलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आएका छन्। बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्र गौचनलाई पढ्नका लागि अष्ट्रेलिया पठाएका छन्। वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिएका छन्।

वैदेशिक रोजगारीमा सेचोजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुुरेन्द्रले बताए। 'विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छ,' उनले भने, 'विदेशको अनुभव पनि गरियो। अबै यतै व्यवस्थित रूपमा बाख्रापालन गर्ने सोचाइमा छु।'

बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाएका छन्। चरनका लागि दुई-दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आएका छन्। खोर निर्माणका लागि पछिल्लोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको गौचनले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend