शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

घान्द्रुकमा पर्यटकको चहलपहल बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
घान्द्रुकमा पर्यटकको चहलपहल बढ्यो

पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ।

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिका-१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक १ हजारदेखि १ हजार २०० सम्म पर्यटक आउने गरेका जानकारी दिए। 'अन्य दिनमा पनि ६-७ सय पर्यटक भित्रिरहेका छन्', उनले भने, 'सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि थप बढ्ने अपेक्षा लिइएको छ।'

‘सबै मौसममा पर्यटन’को मूलमन्त्रसहित स्थानीय पर्यटन व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन्। संस्कृति र प्रकृतिको संगमस्थल मानिने घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलमा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये बढी भारतीय पर्यटक रहेको बताए। यो याममा एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक यस क्षेत्रमा आएको उनको भनाइ छ।

पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ। चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको कार्यालय प्रमुख उपाध्यायको भनाइ छ। सडकको पहँच विस्तारले घान्द्रुकमा आन्तरिक पर्यटकको आवतजावत पछिल्लो समय बढेको हो।

अन्नपूर्ण गाउँपालिका-१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकलाई पर्यटन बजारमा बिकाइराख्न यहाँको मौलिकता र पहिचान जोगाउनुपर्ने बताए। पछिल्लो समय तीव्र रूपमा निर्माण भइरहेका कंक्रिटका संरचनाले गाउँको मौलिक स्वरूप बिगारेको उनको भनाइ छ। परम्परागत सामग्री र शिल्प प्रयोग गरेर घर निर्माण गर्नेलाई गाउँपालिकाले अनुदानको नीति ल्याउन लागेको वडाध्यक्ष गुरुङले बताए।

विसं २०२६/२७ तिर स्थानीय शंकरमान गुरुङले घान्द्रुकमा पर्यटनको जग बसाल्नुभएको थियो। घान्द्रुक गाउँ अहिले चल्तीको गन्तव्यका रूपमा देशीविदेशीमाझ परिचित छ। बर्सेनि हजारौँ पर्यटकले यहाँ पाइला टेक्छन्। प्रकृति र संस्कृतिमा रमाउँछन्। पर्यटकीय चहलपहल बढे पनि घान्द्रुकको असली पहिचान गुम्ने हो कि भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ।

घान्द्रुक उहिलेको जस्तो छैन। जीवनशैली, रहनसहन फेरिँदो छ। नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरूप भने खल्बलिएको छ। पर्यटकको आवतजावत बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन्। आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ।

मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि संकटमा पर्ने देखेर स्वयं पर्यटन व्यवसायी पनि चिन्तित छन्। घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको दृश्य यहाँको मुख्य आकर्षण हो। घान्द्रुकको गाउँले परिवेश र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ।

पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् भने ३५ वटा घरबास छन्। पर्यटन व्यवसायमा अर्बौँको लगानी छ। सयौँले रोजगारी पाएका छन्। भारतीय, चिनियाँदेखि युरोप, अमेरिकासम्मका पर्यटक यहाँ आउने गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल-घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रूपमा समेत लिइन्छ। पोखरा-बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै ५-६ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ। मोटरमा पोखराबाट घान्द्रुक पुग्न २ घण्टा लाग्छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३११:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend