काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा चौधौँ राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरको खुमलटारमा सञ्चालन भइरहेको छ।
कार्यशालाको उद्घाटन गर्दै परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले समयको मागअनुसारको पशुपालन प्रविधि, स्रोत र साधनको भरपूर उपयोग हुनेगरी अनुसन्धान र सम्बन्धित सबै संस्थाहरूको सहकार्यमा प्रविधिको विकास तथा विस्तार गर्नु अहिलेको आवश्यकता रहेको बताए।
उनले परिषद्को अनुसन्धानको रणनीति तयार भइरहेको र परिषद्ले प्रतिफललक्षित योजना विकासको माध्यमबाट सरोकारवालासँगको सहकार्यमा कृषि अनुसन्धानको मार्ग अवलम्बन गरिरहेको जानकारी दिए।
साथै परिषद्ले आगामी वर्षदेखि प्रादेशिकस्तरमा एक प्रदेश दश पालिकाका दरले अनुसन्धानमा सहकार्य विस्तार गर्दै जाने र कृषि प्रविधिमा आधारित उत्पादन प्रणाली अपनाउने कृषकहरुले योजना अनुसारको सहुलितपूर्ण ऋण पाउने व्यवस्था भएको जानकारी दिए।
जलवायुमैत्री प्रविधि, सङ्क्रामक रोगहरूको समयमै निदान र रोकथाम एवम् पशुपालनलाई उद्योगसँग जोड्नेतर्फ लाग्नुपर्ने उनको धारणा थियो।
यस्तै हेफर इन्टरन्यासनल नेपालका निर्देशक डा. केशव साहले परिषद्सँगको सहकार्य फलदायी रहेको र देशका ५० जिल्लाका ५ लाख किसानसँग उद्यमशीलताको विकासमा हेफरले काम गरिरहेको जानकारी दिए। अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था नेपालका निर्देशक डा. मनोहरा खड्काले खाद्य प्रणाली सबल बनाउन जलस्रोतको पर्याप्त उपयोग गर्नुपर्ने र त्यसको लागि परिषद्सँग सहकार्य गर्न तयार रहेको बताए।
उक्त कार्यक्रममा नेपालमा पशुपन्छी र मत्स्यपालनका अनुसन्धान उपलब्धिबारे परिषद्का निर्देशक डा. निना गोर्खाली, स्थानीय भैँसीको लैंगिक पृथकीकरणबारे भारतीय कृषि अनुसन्धान परिषद्को तर्फबाट डा. सउमेन नस्कर, पशुपालन प्रणालीको रूपान्तरका लागि नीतिगत मार्गचित्रबारे डा. विष्णुराज उप्रेती र मानव स्वास्थ्य, पशु स्वास्थ्य र दिगोपनको संयोजनमा नेपालको लागि दृष्टिकोणबारे क्यानडाबाट आमन्त्रित डा. द्रोणप्रकाश रसालीले मुख्य प्रस्तुति दिएका थिए।
यसैगरी नेपालमा पशु आहारा र व्यवस्थापन प्रणालीको अवस्थाबारे प्रा. डा. नवराज देवकोटा, बदलिँदो जलवायुको अवस्थामा दिगो पशुपालन तथा व्यवस्थापन विषयमा डा. चेतराज उप्रेती र खाद्य सुरक्षा र आर्थिक वृद्धिका लागि दिगो मत्स्यपालन विषयमा बंगलादेशका डा. मन्जुरूल करिमले प्रस्तुति दिए।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यशालामा कृषि आधुनिकीकरण परियोजना, केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजु, अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्था, भारतीय कृषि अनुसन्धान परिषद्, हेफर इन्टरन्यासनल नेपाल, लुथरन नेपाल, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था, विश्व विद्यालय, पशुसेवा विभाग प्रतिनिधिहरु, परिषद्का निर्देशक एवम् वैज्ञानिकहरू लगायतको सहभागिता छ। कार्यशालामा पशु, पन्छी र मत्स्य विषयका ६७ कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ। सोमबार सुरु भएको कार्यक्रम तीन दिनसम्म चल्नेछ।