शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

हात्तीदह सिमसारमा संरचना विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ७ २०८३
हात्तीदह सिमसारमा संरचना विस्तार

लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरेफेदमा रहेको हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य र सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्दै गएको छ।

सिरहा- लहान नगरपालिका-१५ कोइरालो खोला सामुदायिक नमूना वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ संरचना विस्तार गरिएको छ।

यसै सिलसिलामा नगरप्रमुख महेशप्रसाद चौधरीले परिसरमा दुई कोठे ‘होमस्टे’ र सौन्दर्यकरण कार्यको शिलान्यास गरे। करिब २० लाख ४२ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त परियोजनामा एक लाख रुपैयाँबराबरको जनसहभागिता रहने कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिए।

नगरप्रमुख चौधरीले हात्तीदहलाई मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए।

'लहानको गौरवको रूपमा रहेको हात्तीदह सिमसार क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ। यहाँ निर्माण हुने होमस्टे र सौन्दर्यकरणकार्यले पर्यटकलाई आकर्षित मात्र गर्ने छैन, यसले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गरी नगरको आर्थिक समृद्धिमा मद्दत पुर्‍याउनेछ' उनले भने। 

एक महिनाअघि मात्रै सोही क्षेत्रमा सञ्चालनमा आएको ‘हात्तीदह वनस्टे’ले पर्यटकलाई प्राकृतिक वातावरण र स्थानीय संस्कृतिको अनुभव गराउँदै आएको छ। वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले वन र सिमसारको संरक्षणसँगै आयआर्जनलाई जोड्न नयाँ संरचनाले मद्दत गर्ने बताए।

'हामीले वन र सिमसार क्षेत्रको जैविक विविधता जोगाउँदै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘वनस्टे’ र होमस्टेको अवधारणा अघि सारेका हौँ। नयाँ संरचना बनेपछि पाहुनाले अझ गुणस्तरीय सेवा पाउनेछन्' उनले भने। उनले आगामी दिनमा थप संरचना विस्तार गर्ने योजना रहेको जानकारी दिए।

हात्तीदह परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, सानो चिडियाखाना तथा सेल्फीस्थल निर्माण गरिएको छ।

हाल दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ। यहाँ चार वर्षअघिदेखि सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको हो। यसबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन थालेका छन् भने हाल १४ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

करिब ५६ हेक्टर क्षेत्रफलमा फैलिएको कोइरालो सामुदायिक वनमध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गर्दै पर्या पर्यटनको विकास गरिएको छ। यसमा लहान नगरपालिकाको मात्र नभइ संघीय र प्रादेशिक निकायको पनि महत्वपूर्ण साझेदारी रहँदै आएको छ।

वन उपभोक्ता समितिका अध्यक्ष चौधरीका अनुसार यस क्षेत्रको गुरुयोजना कार्यान्वयनमा राष्ट्रपति चुरे संरक्षण विकास कार्यालय, डिभिजन वन कार्यालय लहान, बृहत् जलाधार व्यवस्थापन कार्यालय लगाएतले प्राविधिक तथा आर्थिक सहयोग पुर्‍याउँदै आएका छन्।

लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरेफेदमा रहेको हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य र सामुदायिक वन व्यवस्थापनको उत्कृष्ट उदाहरण बन्दै गएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ७ २०८३१६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend