शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पुराना गाडीलाई ईभीमा कन्भर्जन गर्ने कानून बनाउन यातायात मन्त्रालयले थाल्यो छलफल, के भने विज्ञले?

कन्भर्जनको फिजिबिलिटीमा धेरैको चासो, एक सातापछि पुनः छलफल गरिने

शुक्रबार, वैशाख ४ २०८३
पुराना गाडीलाई ईभीमा कन्भर्जन गर्ने कानून बनाउन यातायात मन्त्रालयले थाल्यो छलफल, के भने विज्ञले?

नेपालको सन्दर्भमा पेट्रोलियम गाडीलाई ईभीमा कन्भर्जन गर्नु र त्यसलाई परीक्षण गरेर सञ्चालन योग्न बनाउने कठिन देखिन्छ।

काठमाडौं- गएको चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले डिजेल तथा पेट्रोलबाट चल्ने पुराना सवारीलाई विद्युतीयमा परिमार्जन गर्न दिने निर्णय गरेको थियो। उक्त निर्णयमा कन्भर्जनका लागि आवश्यक कानूनी व्यवस्था मिलाउनेसमेत भनिएको थियो। 

पेट्रोलियम सवारीलाई विद्युतीय बनाउने विषय जटिल छ। त्यसका कानूनी जटिलता धेरै छन्। सरकारले सैद्धान्तिक निर्णय गरेसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार कन्भर्जनसँग सरोकार राख्ने र त्यस विषयका जानकारसँग छलफल गरेको हो।  

चैत २२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले कन्भर्जनका लागि आवश्यक कानूनी सहजीकरण गर्ने निर्णय गरेको थियो। इन्टरनल कम्बस्चन इन्जिन (आईसीई) सवारीलाई विद्युतीय (ईभी) मा कन्भर्जन गर्न यसअघि पनि दुईपटक निर्णय भइसकेको थियो। 

सरकारले २०७८ चैत १४ गते राजपत्रमा सूचना प्रकाशित गरेर कन्भर्जन गर्ने कुरालाई स्वीकार गर्दै सहजीकरण गर्ने बताएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा संशोधन गरेर सहजीकरण गरेको थियो।

त्यस्तै २०८२ असोजमा जेनजी विद्रोहपछि बनेको चुनावी सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि पुनः पुराना पेट्रोलियम सवारीलाई विद्युतीय बनाउन सहजीकरण गर्ने निर्णय गराएका थिए। 

अघिल्ला दुई निर्णयहरु औपचारिकताका लागि गरिएजस्ता थिए। निर्णयपछि त्यसको कार्यान्वयनका लागि आवश्यक कानून तथा कार्यविधि निर्माणमा कुनै चासो दिइएको थिएन। 

अहिले पनि बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले चैत २२ मा निर्णय गरेसँगै आवश्यक कानून निर्माणका लागि विज्ञ तथा सरोकारवालासँग छलफल सुरु गरेको छ। सरकारले के कस्ता कानून बनाउँछ, कन्भर्जन भएका सवारी कसरी र के-के परीक्षण अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था गर्छ? त्यो हेर्न बाँकी छ। 

बिहीबारको छलफलमा भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयको यातायात व्यवस्था शाखा हेर्ने सीडीई (मेकानिकल) शंकरसिंह धामी, यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक, पूर्वमन्त्री महावीर पुन, सांसद सागर ढकाल, कन्भर्जनका काम गरिरहेको इन्जिनियरलगायत सहभागी थिए। उक्त छलफलमा मुख्यगरी कन्भर्जनको 'फिजिबिलिटी'बारे धेरै कुरा भएको थियो। 

chhalfal conversion.jpg
मन्त्रालयमा भएको छलफल।

आर्थिक रुपमा कन्भर्जन गरिएका सवारी चलाउन उचित हुने वा नहुने भन्ने विषयमा सरकारले वृहत अध्ययन गर्नुपर्ने राय सहभागीले राखेका थिए।

कन्भर्जनको लागत, त्यो गाडी कति समय चलाउन सकिन्छ र कन्भर्जन भएको गाडी फिजिबल हुन्छ वा हुँदैन भन्ने विषयमा गम्भीर हुनुपर्ने छलफलमा सहभागीले बताएपछि एक सातापछि फेरि बस्नेगरी बिहीबारको बैठक सकिएको हो। 

नेपालमा हालसम्म सरकारसँग सवारी परीक्षण गर्ने सामान्य उपकरण र विज्ञ छैन। सरकारले नेपालमा आयात भएका विद्युतीय कारमा रहेको मोटरको पिकपवार कम गरेर ल्याएको आरोप लगाइरहेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमै विद्युतीय कार आयातमा पिकपावर घटाएर ल्याउँदा अर्बौँ करछली भएको भन्दै असुल गर्न भनेको छ। यो सबै महालेखाले त्यो गाडीको मोटरपावर परीक्षण गरेर भनेको नभइ मनगणन्तेरूपमा भनेको हो। 

नेपालको सन्दर्भमा पेट्रोलियम गाडीलाई ईभीमा कन्भर्जन गर्नु र त्यसलाई परीक्षण गरेर सञ्चालन योग्न बनाउने कठिन देखिन्छ। 

कन्भर्जन गर्दा सम्बोधन गरिनुपर्ने विषयहरु :

सवारीको संरचनागत परिमार्जन

पेट्रोलियम सवारीलाई ईभीमा कन्भर्जन गर्ने क्रममा आईसी इन्जिनयुक्त कारको सम्पूर्ण पावरट्रेन नै बदलिन्छ। बदलिएको सो स्ट्रक्चरमा विद्युतीय पावरट्रेन फिट गरिन्छ। यो परिमार्जनले सवारीको विद्यमान संरचनामा पूर्णबदलाव ल्याउँछ। पवरट्रेनमा हुने यो फेरबदलले सवारीको सुरक्षा सूचकहरू ब्रेक, सस्पेन्सन, स्टेरिङ सिस्टमलगायतमा प्रत्यक्ष प्रभाव पार्छ। 

सवारीको तौल सन्तुलन

आईसी इन्जिनयुक्त सवारीमा भएको इन्जिनलाई विद्युतीय मोटर र ब्याट्रीले विस्थापन गर्दा सवारीको तौल सन्तुलनमा अतिरिक्त समस्या आउँछ। पेट्रोल इन्जिन सवारीमा हुने इन्जिन र गेयर बक्सको तौलको तुलनामा मोटर र ब्याट्रीको तौल निकै कम हुन्छ। जसका कारण ईभीमा कन्भर्जन गरिएको सवारीको तौल सन्तुलनको इन्जिनियरिङमै गडबडी आउँछ। 

अर्काे महत्वपूर्ण कुरा विद्युतीय सवारीमा राखिने ब्याट्री प्याक थोरै ठाउँमा नभइ च्यासिसमा फराकिलो प्लेट बनाएर राखएिको हुन्छ। तर ईभीमा कन्भर्जन गरिने पुराना सवारीमा त्यसरी फराकिलो प्लेटमा ब्याट्री प्याक राख्न सकिँदैन। पहिलेको इन्जिन भएको ठाउँमा वा पछाडि डिक्कीमा ब्याट्री प्याकलाई अटाएर राख्नु पर्ने बाध्यता हुन्छ। यसरी जवरजस्त एकै ठाउँमा ब्याट्री प्याक राख्दा सवारीको सेन्टर अफ ग्राभिटीमा प्रत्यक्ष प्रभाव पर्छ। यसले सवारीलाई सन्तुलित मोडमा चलाउन निकै कठीन हुन्छ। 

कन्भर्जन गरिएका सवारीको संरचनामा पहिलेको डिजाइनमा बनेको सस्पेन्सन, ब्रेक र स्टेरिङ सिस्टमले साविक रुपमा काम गर्न सक्दैन। कन्भर्जन पूर्वको सवारीमा जसरी लोड ब्यालेन्स मिलाइएको हुन्छ त्यसमा कन्भर्जन पश्चात झिकिएकै स्थानहरूमा समान रुपमा ब्याट्री प्याक तथा विद्युतीय मोटर राख्न सकिँदैन। यसको परिणाामका रुपमा सवारीको सन्तुलन मिलाउन कठीन हुने भएकाले सुरक्षित यात्रामा प्रश्न उठ्छ। कन्भर्जन गर्दा सवारीको सुरक्षा र मूल्यमा ठूलो सम्झौता गर्नुपर्ने हुन्छ।    

भएको पुराना विद्युतीय सिस्टमसँग नयाँलाई मिलाउन कठीन

सवारीसाधनमा इस्ट्रुमेन्ट क्लस्टर, एबीएस, इमोबिलाइजरलगायत धेरै प्रकारका विद्युतीय सिस्टम जडान गरिएको हुन्छ। विद्युतीयमा कन्भर्जन गरिने आईसी इन्जिनयुक्त सवारीमा पुरानै विद्युतीय सिस्टमलाई नयाँ विद्युतीय मोटरबाट चलाउनु पर्ने हुन्छ। यो प्राविधिक रुपमा ज्यादै नै जटिल विषय हो। कन्भर्जन गरिएको पुरानो आईसी इन्जिनयक्त कारमा पुनः विद्युतीय वाइरिङ गर्ने हो भने त्यो पनि अझ जोखिमपूर्ण हुनसक्छ। 

कन्भर्जनको लागत

पुरानो आईसी इन्जिनयुक्त सवारीलाई विद्युतीयमा कन्भर्जन गर्न धेरै विद्युतीय पार्टहरू थप गर्नुपर्ने हुन्छ। त्यसका लागि आई इन्जिनले काम गर्ने इन्जिन, गेयर बक्सलगायत निकाल्नु पर्छ। कारबाट निकालिएको पुरानो कम्पोनेन्ट काम लाग्दैनन्। विद्युतीय कम्पोनेन्टहरू आयात गर्नुपर्ने भएकाले यस्तो कम्पोनेन्टको मूल्य फ्याक्ट्री लागतभन्दा बढी पर्छ। यसरी हेर्दा पुराना कारलाई कन्भर्जन गरेर बनाइने विद्युतीय कार नयाँ विद्युतीय कारकै सरहमा मूल्य पर्न जान्छ। त्यसैले पुराना कारलाई महँगो लागतमा कन्भर्जन गरेर असुरक्षित सवारी बनाउनु सबै दृष्टिबाट उपयुक्त छैन। 

सरकारले नयाँ विद्युतीय आयातमै न्यून कर लाग्ने व्यवस्था गरेकाले पुरानोलाई लाखौँ खर्चगरेर जोखिमपूर्ण कन्भर्जन भएको ईभी चढ्नु उपभोक्ताको पनि रुचीको विषय होइन। रहर र सौख पूरा गर्न कन्भर्जन गरिनु समान्य भएपनि व्यवसायिक रुपमा यो उचित छैन।  

सर्भिस्याबिलिटी

कुनै पनि परम्परागत सवारी उत्पादक (ओईएम)ले ईभी कन्भर्जन किट उत्पादन तथा आपूर्ति गर्दैनन्। यस्ता किटहरू स्पेयर पार्टस उत्पादकले बनाएर आपूर्ति गर्छन्। यसरी किट बनाउनेहरूले मर्मत तथा सर्भिसका लागि आवश्यक पार्टपूर्जा नियमित रुपमा बनाएर पठाउँदैनन्। उनीहरूको ध्यान एक पटकको बिजनेसमा हुन्छ। यस्तो अवस्थाको मोडिफिकेसनमा अर्काे पटकलाई समान प्रकारको कन्भर्जन किट पाउने सम्भावना लगभग हुँदैन। 

अर्काे महत्वपूर्ण पक्ष भनेको पार्टस निर्माताहरूले कन्भर्जन किट बनाउँदा रिसर्च एन्ड डेभलपमेन्ट(आरएन्डडी)मा खासै खर्च गर्दैनन्। त्यसैले उनीहरूले बनाउने किटको विश्वसनीयतामा प्रश्न उठ्छ। यो अवस्थामा कन्भर्जन गरिएको ईभीमा केही समयस्या आयो भने कसरी र कसले मर्मत गर्ने, सेवा दिनेमा ठूलो जटिलता आउँछ।  

परीक्षण र प्रमाणीकरण

मुख्यगरि नेपाल देशसँग सवारी परीक्षण गर्ने आफ्नै कुनै संयन्त्र नै छैन। तर पनि यातायात व्यवस्था विभाग र त्यस अन्तर्गतका निकायहरूले सम्बन्धित देशका सवारी उत्पादन परीक्षण निकायले दिएको सर्टिफिकेटका आधारमा सवारी परीक्षण गर्दै आएका छन्।

अहिले पुराना आईसी इन्जिन सवारीलाई ईभीमा कन्भर्जन गरिएकामा पनि त्यसरी नै परीक्षण गरिँदै आएको छ। तर यसको जटिलना भनेको पुराना सवारीको आवरण बाहेक सबै बदलेर के आधारमा परीक्षण हुने हो त्यो परीक्षण गर्ने स्वयमलाई नै थाहा हुँदैन। 

कन्भर्जन गरिएको ईभीको सुरक्षा सूचकहरूले काम गरेका छन् वा छैनन्, इन्जिन निकालेर ब्याट्री प्याक राख्दा लोड व्यालेन्स असन्तुलित पो भएको छ कि, कन्भर्जन गर्दा सवारीको संरचनामै दख्खल गरेको छ कि, यी र यस्ता विषयमा जाँच गर्न नेपालसँग न उपकरण छ न त यहाँ भएका प्राविधिकसँग दक्षता नै। 

त्यसैले सुरक्षाका हिसाबमा, प्राविधिक वैधानिकताका आधारमा, कन्भर्जन भएको सवारीको फिटनेस, कन्भर्जन ईभीको दीर्घकालिकता आदिले कन्भर्जनको उपादेयता र विश्वसनीयतामा प्रश्नैप्रश्न उठेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ४ २०८३११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend