काठमाडौं- चिनियाँ अटोमोबाइल क्षेत्रको अग्रणी कम्पनी चेरीले बेलायती विलासी ब्रान्ड ज्यागुआर ल्यान्ड रोभर (जेएलआर) सँगको सहकार्यमा नयाँ युगको घोषणा गरेको छ। 'फ्रिल्यान्डर' ब्रान्डको आधिकारिक सुरुवातसँगै चिनियाँ अटो निर्माता चेरी अब विश्वव्यापी औद्योगिक 'इकोसिस्टम' निर्माणको नयाँ उचाइमा पुगेका छन्।
एक समय ल्यान्ड रोभरको अत्यन्त लोकप्रिय मोडलको रूपमा चिनिएको 'फ्रिल्यान्डर' अब एक स्वतन्त्र विद्युतीय सवारी ब्रान्डको रूपमा उदाएको छ। चेरी र जेएलआरको संयुक्त उपक्रममा विकास गरिएको यो ब्रान्डले दुवै कम्पनीको सबल पक्षलाई आत्मसात गरेको छ।
यसमा चेरीको अत्याधुनिक विद्युतीय सवारी प्रविधि र जेएलआरको प्रतिष्ठित डिजाइन दर्शनको सन्तुलित मिश्रण देख्न सकिने छ। चेरीका कार्यकारीहरूका अनुसार नयाँ फ्रिल्यान्डर केवल एउटा उत्पादन मात्र नभइ दुई देशका अटोमोबाइल शक्तिहरूको रणनीतिक एकताको प्रतीक हो।
यो ब्रान्डले सुरुमा चीनको स्थानीय बजारलाई केन्द्रित गर्ने भए तापनि यसको मुख्य लक्ष्य विश्वव्यापी बजार नै रहेको कम्पनीले स्पष्ट पारेको छ। चीनमा चेरी अटोमोबाइल र जेएलआरबीच लामो समयदेखि संयुक्त उपक्रम चलिआएको छ।
निर्यातबाट इकोसिस्टमसम्मको यात्रा
चेरीका उच्च अधिकारीले चिनियाँ ब्रान्डहरूको रणनीतिमा आएको ठूलो परिवर्तनलाई जोड दिएका छन्। विगतमा चिनियाँ कम्पनीहरूले चीनमा गाडी बनाएर विदेशमा 'निर्यात' गर्ने रणनीति मात्र अपनाउँथे। तर अहिले चेरीले स्थानीय बजारको मागअनुसार विदेशमै उत्पादन गर्ने, स्थानीय आपूर्ति श्रृङ्खला निर्माण गर्ने र प्रविधि साझेदारी गर्ने 'ग्लोबल इकोसिस्टम' मोडल अपनाएको छ।
'हामी अब केवल बिक्रेताको रूपमा मात्र विश्व बजारमा चिनिन चाहँदैनौँ,' चेरीका कार्यकारीले कार्यक्रममा भने, 'हामी स्थानीय समुदाय, उद्योग र प्रविधिसँग जोडिएर एउटा पूर्ण प्रणाली निर्माण गर्न चाहन्छौँ। फ्रिल्यान्डरको सुरुवात यसै दिशाको एक महत्वपूर्ण कदम हो।'
चेरी र जेएलआरबीचको नयाँ घोषणाले विश्व अटो बजारमा शक्ति सन्तुलन परिवर्तन भएको संकेत पनि गरेको छ। परम्परागत रूपमा पश्चिमा देशहरूबाट प्रविधि चीन भित्रिने गरेकोमा अहिले जेएलआर जस्तो प्रतिष्ठित बेलायती ब्रान्डले आफ्नो नयाँ उत्पादनका लागि चेरीको ईभी प्लेटफर्म र सफ्टवेयर समाधानहरू प्रयोग गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
नयाँ फ्रिल्यान्डर मोडलहरूमा उच्च क्षमताको ब्याट्री लाइफ, एआई-सञ्चालित ड्राइभिङ असिस्टेन्स र प्रिमियम इन्टेरियर रहने बताइएको छ। यी गाडीहरू चीनको चाङ्सु स्थित अत्याधुनिक प्लान्टमा उत्पादन हुनेछन्।
चेरी र जेएलआरको यो कदमले विश्वव्यापी अटो बजारमा प्रतिस्पर्धालाई थप तीव्र बनाउने निश्चित छ। चिनियाँ ब्रान्डहरूले अब आफ्नो पहिचान 'सस्तो विकल्प' बाट बदलेर 'प्रविधिमा आधारित प्रिमियम साझेदार' को रूपमा स्थापित गर्न सफल भएका छन्। फ्रिल्यान्डरको पुनरागमनले आगामी दिनमा अन्य ग्लोबल ब्रान्डहरूलाई पनि यस्तै किसिमको सहकार्यका लागि बाटो प्रशस्त गरेको छ।
चेरी अटोमोबाइल पछिल्लो दुई दशकयता चीनबाट सबैभन्दा कार निर्यातकर्ता कम्पनीसमेत हो। चेरी र त्यसअन्तर्गतका ब्रान्डले उत्पादन गरेर आईसीई तथा ईभी कार ७० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।
चेरी अटोमोबाइलको ईभी ब्रान्ड जेइको तथा ओमोडा र आईकार नेपाली बजारमा उपलब्ध रहेका छन्। शारदा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल प्रालिले जेइको तथा ओमोडा र आईकार बिक्री गर्दै आएको छ। यी ब्रान्डका विद्युतीय कार नेपाली उपभोक्ताको रोजाइमा रहेका छन्।