काठमाडौं- अटोमोबाइल व्यावसाय संसारभर नै ‘ग्ल्यामरस’ व्यवसाय मानिन्छ। अटो उत्पादन गर्ने देश र कम्पनीहरूको चार्म त छुट्टै हुने भइहाल्यो नै, त्यहाँ उत्पादन गरेका आयात गरी बिक्री गर्ने व्यवसायीहरूको ग्ल्यामर पनि त्योभन्दा कम हुँदैन।
नेपालमा गाडी उत्पादन त हुँदैनन्, तर संसारभरका प्रख्यात ब्रान्ड भने भित्रिसकेका छन्। ती ब्रान्ड बिक्री गर्ने व्यवसायीहरू सधैँ सिनेमाका सेलिब्रिटी जस्तै ग्ल्यामर बनिरहेका छन्। त्यसैले त पछिल्लो समय विश्वका प्रख्यात ब्रान्ड भित्र्याउने र भित्रिसकेका ब्रान्डहरू खोस्ने होडबाजी कहलिएकै व्यवसायिक घरानाबीच चलिरहेको छ।
धनाढ्य वर्ग चढ्ने, नाफा राम्रो हुने, सबैको चासोमा पर्ने र विलासीताको मानकका रुपमा पनि हेरिने हुँदा अटोमोबाइल संसाभर ग्ल्यामरस भएको हो। त्यसमा पनि कारलाई धेरैले चासो दिने गर्छन्। कार यस्तो हो, जुन किन्नेले चासो राख्ने नै भए; नकिन्नेले समेत खोजी खोजी हेर्ने वा अध्ययन गर्ने गरेको पाइन्छ।
नेपालमा कार भित्रिन थालेको इतिहास त्यति लामो छैन। राणा शासकहरूले आफ्नो सौख पूरा गर्न हेटौंडाको भिमफेदी हुँदै कार बोकाएर काठमाडौं ल्याएका थिए। त्यसपछि राजाहरूले मित्रराष्ट्रहरूबाट उपहार स्वरुप पाएका कार ल्याएर चढ्न थाले।
समय सधै एउटै चल्दैन। समयक्रममा नेपालमा पनि सडक निर्माण हुन थाल्यो। हिजो बोकेर ल्याउने गााडी गुडेरै काठमाडौं आउन थाले। देशैभरी सडक सञ्जाल विस्तारसँगै मानिसको आयस्तर पनि सँगसँगै बढ्दै गयो। यसले कारको आयात र नयाँ ब्रान्ड भित्र्याउनमा सहयोग पुग्दै गयो।
अहिले नेपाली सडकमा विश्वका अधिकांश ब्रान्ड कुद्न थालिसकेका छन्। न्यूनतम २० लाखदेखि ५-६ करोड रुपैयाँसम्मका कार नेपालमा बिक्री हुन थालेको व्यवसायी बताउँछन्। मर्सिडिज, बीएमडब्लू, ल्यान्ड रोभर, टोयोटा, टेस्ला, अउडी, ज्यागुअरजस्ता विश्वकै प्रिमियम ब्रान्ड पनि नेपाली सडकमा देखिन्छन्। नेपाली धनाढ्य वर्गले आफ्नो स्तर बढेको जनाउ प्रिमियम गाडी चढेर दिन्छन्।
नेपालमा सन् १९६० को दशकदेखि नै आधिकारिक रुपमा कार भित्रिन थालेको पाइन्छ। नेपालमा पछिल्लो समय अटोमोबिल्स व्यवसायमा राज गरिरहेका मोतिलाल दुगडले २०२९ सालदेखि नै नेपालमा कार ल्याउन प्रयास थाले। कति ब्रान्ड आए, कति ल्याउन सकेनन्, त्यसको चर्चा उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्।
योबीचमा फक्सवागन, निसान, फोर्ड, महिन्द्रा कमर्सियल, जोन्डियर ट्याक्टर, दुईपांग्रेमा रोयल इन्फिल्ड, राजदूत, अप्रिलिया, भेस्पा, पियाजिओलगायत करिब दर्जन ब्रान्डका सवारीसाधन व्यावसायमा एमभी दुगड ग्रुप संलग्न थियो। तर, पछिल्ला दिनमा दुगडका अटोमोबाइल ग्ल्यामरमा क्षयीकरण तीब्र भइरहेको छ।
दुगड ग्रुपले ल्याएर बिक्री गरिरहेका ब्रान्डहरू अरु घरानाले खोस्दै लगिरहेका छन्। अटोमोबिलमा ग्ल्यामर मानिने कार र मोटरसाइकलबाट दुगड करिब बाहिरिसकेको छ। कारको ब्रान्ड त अब दुगड ग्रुपसँग छैन, तर डी–लाइफस्टाइलबाट खोसेको भेस्पा र अप्रिलिया ब्रान्ड भने दुगडसँगै छ।
हालै गुमाएका ब्रान्ड रोयल इनफिल्ड
प्रिमियम दुईपांग्रे सवारी ब्रान्ड रोयल इनफिल्ड दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सबाट प्रिन्सिपल कम्पनीले खोसेको हो। भारतको आइसर मोटरसको स्वामित्वमा रहेको रोयल इनफिल्डको अब नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह भएको छ। पुरानो आधिकारिक बिक्रेताबाट असन्तुष्ट बनेको रोयल इनफिल्ड इन्डियाले नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको हो।
विगत २० वर्षदेखि रोयल इनफिल्डको आधिकारिक बिक्रेता रहेको विवेक अटोमोबाइल्स प्रालीबाट यो ब्रान्ड खोसिएको हो। रोयल इनफिल्ड इन्डियाले विवेक अटोमोबाइल्स २०२२ मे ८ सम्ममात्र आधिकारिक बिक्रेता कायम रहने बताएको छ।
निसान खोसिँदाको पीडा
जापानी कम्पनी निसानको एजेन्सी दुगड ब्रदर्सले विसं २०३८/३९ मा लिएको थियो। एजेन्सी लिएपछि उक्त कम्पनीबाट उत्पादित निसान र डाट्सन ब्राण्डका कार नेपालमा परिचित र स्थापित गराउन दुगड समूहले अथक प्रयास गरेको थियो।
३० वर्षभन्दा बढी आधिकारिक बिक्रेता रहेको दुगडबाट २०७२ मा निसान कम्पनीले एजेन्सी खोसेर शारडा समूहलाई दियो। यसबाट दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगड निक्कै दुःखी भएको उनले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्।
‘म निसान कम्पनीले हामीबाट एजेन्सी खोसेको केही वर्षभित्रै उक्त कम्पनीका अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत कार्लाेस घोसले भ्रष्टाचारका मुद्दामा दण्डित भएर जापानको कारागारमा बस्नु पर्यो। पछि अति नाटकीय ढंगले उनी जापानबाट भागे,’ दुगडले लेखेका छन्, ‘अहिले उनी लेबननमा रहेको बताइन्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, अहिले विश्वबजारमा निसान कम्पनीको व्यापार र साख दुवै घटेको छ।’ निसान ब्रान्ड नेपालमा स्थापित गर्न आफ्नो समूहले गरेको मेहनतको ब्रान्ड खोसेर अवमूल्यन गरेकोमा उनले दुःख व्यक्त गरेका हुन्।
फोर्ड गुमाउँदाको गुनासो
फोर्ड कम्पनीको डिस्ट्रिब्युटरसीप दुगड ग्रुपले पाउन त पायो तर त्यस कम्पनीले उत्पादन गरेका कार नेपालमा बिक्री हुनसक्ने विभिन्न मोडलका गाडी विश्वका अन्य बजारबाट ल्याउन भने दिइएको थिएन।
आइकोन मोडलको गाडी मात्र भारतबाट आयात गर्न दिइँदा दुगड ग्रुपले ठूलो नोक्सानी बेहोर्नु परेको कुरा दुगडले उल्लेख गरेका छन्। ‘विभिन्न मोडलका गाडी ल्याउन पाउने आशामा हामीले ठूलो खर्च गरेर तीनकुनेस्थित गोर्खा कम्प्लेक्समा भव्य र ठूलो सोरुम बनाएका थियौं,’ उनले लेखेका छन्, ‘हामीलाई ल्याउन स्वीकृति दिइएको आइकोन मोडलको गाडी पनि नेपालको बजारमा लोकप्रिय हुन सकेन।’
त्यसबेला फोर्ड कम्पनीले अन्य नयाँ ब्राण्डका गाडी सार्वजनिक गर्ने घोषणा पनि गरेको थिएन। केही वर्षपछि फोर्ड कम्पनीले सानो कार विश्वबजारमा ल्यायो र त्यो सफल पनि भयो। ‘हामीले फोर्ड कम्पनीलाई उक्त गाडीको नेपालका लागि डिलरसिप दिन आग्रह गरी पत्राचार मात्र गरेनौं, भारतको चेन्नाईस्थित मुख्य कार्यालय र कोलकातास्थित क्षेत्रीय कार्यालय दुवैमा गयौं र निरन्तर संवाद गरिरह्यौं,’ दुगडको भनाइ छ, ‘तर कम्पनीले हाम्रो डिस्ट्रिब्युटरसिप खारेज गरी आकाश गोल्छाको गो–अटोमोबाइल्सलाई डिलरसिप दियो। तर फोर्डजस्तो आफूलाई विश्वविख्यात ठान्ने कम्पनीले पनि हामीप्रति भने न्यायोचित व्यवहार गरेन।’
यो कुराले दुगड समूह निक्कै दुःखी भएको मोतिलाल दुगडले बताउने गरेका छन् र किताबमा पनि लेखेका छन्।
फक्सवागनबाट भएको उपेक्षा
२०२९ सालतिर दुगडले जर्मनीको फक्सवागन ब्रान्डको गाडीको सोल डिस्ट्रिब्युटर्स लिएको थियो। हुकुमचन्द दुगडको पहल र निर्देशनमा उक्त जिम्मेवारी लिएर दुगड समूहले बालाजु औद्योगिक क्षेत्रभित्र सर्भिस सेन्टरको रुपमा गुराँस इन्जिनियर्स प्रालिसमेत स्थापना गरेको थियो। त्यसबेला नेपालमा उक्त ब्रान्ड अत्यन्त लोकप्रिय थियो।
‘हामीले उक्त कम्पनीकै बिटल र अर्काे एक मिनीबस पनि आयात गरेका थियौं,’ दुगडले लेखेका छन्, ‘तर पछि विश्वबजारमा जापानमा बनेका गाडीहरूले प्रभाव यति धेरै बढ्यो, फक्सवागनले आफ्नो दृष्टि एसियाका अन्य देशहरूबाट हटाएर चीनमा केन्द्रित गरेको थियो।’
फक्सवागनले एसियाको बजारमा पुनःस्थापित हुने उद्देश्यले भारतमा पनि कारखाना स्थापना गरेको थियो। त्यस क्रममा भीडब्लू, स्कोडा र आउडी समूहका तीनवटै ब्रान्डका लागि छुट्टाछुट्टै कम्पनीहरू स्थापनासमेत गरेको थियो।
‘त्यसबेला मैले जर्मनीबाटै फक्सवागन गाडी मगाएर पशु विकास आयोजनालाई बिक्री गरेको थिएँ। भारतमा कम्पनी र कारखाना खोलिएपछि मैले भारत र जर्मनी दुवै देशबाट पुनः गाडी आयात गर्नका लागि एजेन्सी दिन आग्रह गरेको थिएँ,’ दुगडले लेखेका छन्, ‘त्यसका लागि म सिंगापुरसम्म पुगेँ। त्यहाँबाट मलाई दिने आश्वासन पनि दिइयो तर फक्सवागनको भारतस्थित सब्सिडियरीले विशाल ग्रुपको पूजा इन्टरनेशनललाई एजेन्सी दियो।’
फक्सवागनलाई नेपाल भित्र्याउन र त्यसलाई परिचित एवं स्थापित गराउन दुगड समूहले गरेको दुःख, लगानी र मिहिनेतको कम्पनीले कुनै मूल्यांकन नै नगरेको जिकिर दुगडले गरेका छन्।
ताकत र प्रभाव नपुग्दा गुमेको टाटा ट्रक र कारहरूको आधिकारिक एजेन्सी
नेपालमा सन् १९८० भन्दा अघिदेखि नै उमेश जैन नामका एक व्यक्तिको फर्म टाटा ट्रकहरूको आधिकारिक बिक्रेता थियो। त्यसताका कोटाका रूपमा सीमित संख्यामा मात्र ट्रकहरू आयात हुन्थे तर ट्रकको माग अत्यन्त बढी हुने हुँदा किन्नेहरूबीच तँछाडमछाड हुन्थ्यो। त्यसैले बिक्रेताले बढी मूल्य लिएर बिक्री गर्ने गर्थे।
सन् १९८० तिर टाटा कम्पनी अर्काे एजेन्ट बनाउन बाध्य भयो र सोबारे अध्ययन गर्न कम्पनीको उच्चस्तरीय टोली नेपाल आयो। ‘टोलीले मेरो अनुभवी कम्पनी र हालको एजेन्सी सिप्रदी ट्रेडिङलाई अनुभव नभए तापनि प्रभावशाली भएकाले सर्टलिस्ट गरी बम्बई फर्कियो। हामीसँग त्यसबेला फक्सवागन गाडीको एजेन्सीको अनुभव थियो र वर्कसप आदिसमेत बनाइसकेका थियौं,’ दुगडले लेखेका छन्, ‘हामी पूर्णतः व्यापारिक पृष्ठभूमिबाट आउनुका साथै अनुभवीसमेत भएका कारण छनोटमा पर्यौं र हाम्रो नाम बोर्डमा पेश भयो। तर बोर्डमा हाम्रो ताकत र प्रभाव पुगेन। अन्त्यमा सिप्रदी ट्रेडिङलाई नै एजेसीको नियुक्ति दिइयो। एक प्रकारले बाजी मारिसकेको त्यो अवसर अन्ततः मेरो हातबाट फुत्क्यो।’
सिप्रदीले सन् १९८२ देखि ट्रक र बसको बिक्री सरू गर्यो। त्यसपछि सन् १९९५ ताका जब टाटा कम्पनीले पेसन्जर कारहरू बजारमा ल्यायो, त्यसबेला पेसेन्जर कार डिभिजन छुट्याउने मनसाय बनाएर कार, जीप आदिका लागि नयाँ डिलर बनाउने क्रममा आफ्नो कम्पनीलाई छनौट गरिएको र बम्बई बोलाएको दुगडले बताएका छन्। तर टाटाको प्यासेन्जर कारको डिलर पाउनबाट समेत आफूहरूलाई बञ्चित गराइएको जिकिर उनले गरेका छन्।
छनोटमा परेर पनि नपाएको बजाज
बजाज स्कुटरको पहिले एउटा भारतीय कम्पनी वाग्मती इन्जिनियरिङ कम्पनी प्रालि आधिकारिक बिक्रेता थियो। त्यसताका नेपालमा जापानी, ताइवानी मोटरसाइकलको बोलवाला थियो। बजाजले सन् १९९६/९७ तिर डिस्ट्रिब्युटर फेर्ने निर्णय गरी शेखर गोल्छा र दुगडको फर्मलाई पनि सर्टलिस्ट गरेर मोलिलाल दुगर्ड, शेखर गोल्छा र एक जना अर्काे फर्मको मालिकलाई भारतको पुणेमा बोलाएर सामान्य कुरा गरेको थियो।
उक्त डिस्ट्रिब्युटरसिप पनि तुरून्तै सोही दिन शेखर गोल्छाको फर्म हंसराज हुलासचन्द प्रालिलाई दिइएको उनकै पारिवारिक सूत्रबाट थाहा पाएको दुगडले किताबमा लेखेका छन्। यसरी अन्तिममा आएर पुनः असफल भएको र गोल्छाले सन् १९९८ देखि बजाज आधिकारिक डिस्ट्रिब्युटरको रुपमा नेपाल ल्याइरहेका छन्।
त्यस्तै अन्य केही ब्रान्डमा समेत दुगड समूहले आधिकारिक बिक्रेता बन्न खोजेको थियो। तर शक्तिको खेल, व्यावसायीबीचको अस्वस्थ्य प्रतिस्पर्धाका कारण आफूहरूले सफलता हात पार्न नसकेको मोतिलाल दुगडले दाबी गरेका छन्।
दुगडबाट ब्रान्ड खोसिनुको कारण
अटोमोबाइल ब्रान्ड भित्र्याउन मेहनत गरेर धेरै ब्रान्ड ल्याउन पनि सफल भएको दुगड समूह ती ब्रान्ड जोगाइ राख्न भने असफल भयो। २०७० सालतिरसम्म अटोमोबाइल ब्रान्ड खोसाखोस हुने क्रम त्यतिधेरै भएको थिएन। नेपालमा जब कार तथा मोटरसाइकलको माग र बिक्री बढ्दै गयो र नयाँ व्यवसायिक घरानाको समेत उदय भयो। अटोमोबाइल ब्रान्ड बिक्री गर्नु नेपालमा रहेका सबैजसो व्यवसायिक घरानाको प्रतिष्ठा जस्तै बन्यो।
त्यसैले नयाँ ब्रान्ड ल्याउने र नेपालमै बिक्री भएका ब्रान्ड हत्याउन व्यवसायिक घरानाबीच ‘वार’ चल्यो जुन आजपर्यन्त जारी छ।
दुगड ग्रुपले यस्तै वारकाबीच आफूलाई परिमार्जन गर्न सकेन। मोतिलाल दुगडका छोरा विवेक दुगड अमेरिका गएर बस्दा समेत उनीहरूले आफ्नो विरासतमा ठूलो क्षयीकरण सहनु गरेको छ। ‘आफूसँग ब्रान्ड छ, त्यो चलेकै छ, कसले लान सक्छ र?’ भन्ने पुरातन व्यापारिक शैलीले दुगड ग्रुपले निसान जस्तो राम्रो ब्रान्ड गुमायो।
त्यसपछि विवेक दुगड अमेरिकाबाट नेपाल फर्किए र व्यवसाय सम्हाल्न लागे। उनी आएलगत्तै भेस्पा अप्रिलिया ब्रान्ड खोसेर ल्याउन सफल भए। तर त्यसको केही वर्षपछि ३० वर्षअघिदेखि बिक्री गर्दै आएको प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्ड गुमायो। यसको अर्थ विवेक दुगडले पनि पुरातन शैलीमै व्यवसायलाई निरन्तरता दिएको देखिन्छ।
बजारको माग, उपभोक्ताको चाहनाअनुसार समयानुकुल व्यवसायलाई समेत परिमार्जन गर्न नसक्ने हो भने दुगड समूहसँग रहेको महिन्द्राको कमर्सियल, भेस्पा/अप्रिलिया, अन्य ब्रान्डका निर्माण उपकरणसमेत नगुमाउला भन्न सकिन्न।