काठमाडौं- कोशी प्रदेशको झापामा आयोजित 'क्रस बोर्डर टुरिजम् कन्क्लेभ झापा २०२६' को तेस्रो संस्करणले सीमापार पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार, पूर्वाधार विकास र नेपाल-भारत सहकार्य सुदृढीकरणमा विशेष जोड दिएको छ।
नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय काकडभिट्टाको संयुक्त आयोजनामा झापास्थित होटल मेची क्राउन मा शुक्रबार सम्पन्न कन्क्लेभमा सहभागी वक्ताहरूले पर्यटन क्षेत्रको दिगो विस्तारका लागि व्यवहारिक सुधार, सेवा गुणस्तर वृद्धि र संयुक्त बजार प्रवर्द्धन अपरिहार्य रहेको औंल्याए।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ ले सीमापार पर्यटनले प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै झापालाई क्षेत्रीय पर्यटन ‘हब’ का रूपमा विकास गर्न सेवामैत्री वातावरण, आकर्षक प्याकेज र स्पष्ट नीतिगत सुधार आवश्यक रहेको बताए। उनले सरकारद्वारा घोषणा गरिएको कोशी भ्रमण वर्षका लागि छुट्याइएको बजेट कार्यान्वयनमै कमजोरी रहेकोप्रति असन्तुष्टि व्यक्त गरे।
नेपाल पर्यटन बोर्ड का निमित्त निर्देशक सुनिल शर्मा ले कन्क्लेभको निरन्तरताले पर्यटन विकेन्द्रीकरणमा टेवा पुगेको जनाउँदै काठमाडौं केन्द्रित पर्यटनलाई बाहिर विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी सावित भइरहेको बताए। उनले सीमापार पर्यटनलाई राष्ट्रिय योजना तहमा संस्थागत गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
काकडभिट्टा अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराई ले सीमामा आवागमन सहजीकरणका लागि सेवा विस्तार गरिएको जानकारी दिँदै फागुन महिनामा मात्र १ हजार ५ विदेशी पर्यटक काकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको बताए। उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ६ हजार ७९१ विदेशी पर्यटक भित्रिएका छन् र वर्षभरिमा यो संख्या ९ हजार नाघ्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड का वरिष्ठ प्रबन्धक सूर्य थपलिया ले सीमापार पर्यटनको सम्भावनालाई ढिलो गरी बुझिएको स्वीकार गर्दै प्रभावकारी समन्वय र सहकार्यबिना पर्यटन विकास सम्भव नहुने बताए। उनले भारत नेपालका लागि प्रमुख स्रोत बजार भए पनि खुला सिमानाका कारण यसको औपचारिक तथ्यांक संकलन चुनौतीपूर्ण रहेको उल्लेख गरे। सेवा प्रवाह, आवागमन र चेकजाँच प्रक्रियामा सुधार नगरे पर्यटन विकास पछि पर्ने चेतावनीसमेत उनले दिए।
हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क का महासचिव सम्राट सन्ज्याल ले नेपाल–भारतबीच संयुक्त रूपमा पर्यटन उत्पादन विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशलाई संयुक्त रूपमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। सीमामा आवागमन सहज बनाउने तथा नीतिगत अवरोध हटाउनेतर्फ दुवै देशका नीति निर्मातामाथि दबाब सिर्जना गर्नुपर्ने उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) का अध्यक्ष ऋषिराज तिमिल्सिना ले कन्क्लेभले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै पर्यटकको बसाइ लम्ब्याउन नवीन पर्यटन प्याकेज आवश्यक रहेको बताए। निजी क्षेत्रको लगानी बढ्दै गएको उनले जानकारी दिए।
कार्यक्रममा भारतका बिहार, सिक्किम र पश्चिम बंगाल तथा नेपालको कोशी प्रदेशका पर्यटन सम्भावनाबारे भिडियो प्रस्तुतीकरण गरिएको थियो। “सीमापार पर्यटन: अवसर र चुनौती” विषयक अन्तर्क्रियामा विज्ञहरूले सीमापार पर्यटनका नीतिगत, संरचनागत तथा पूर्वाधारगत पक्षमा विस्तृत छलफल गरेका थिए। छलफलका क्रममा एसियन हाइवे नेटवर्कलाई क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्ने ‘गेमचेन्जर’ पूर्वाधारका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी उपयोगले नेपाल-भारतबीच पर्यटक आवागमनमा गुणात्मक वृद्धि ल्याउने विश्वास व्यक्त गरिएको थियो।
अन्तर्क्रियामा कर तथा शुल्क भुक्तानी प्रक्रियालाई एकद्वार प्रणालीमार्फत् सरलीकरण गर्नुपर्ने, सीमामा हुने जाँच प्रक्रियालाई व्यवस्थित बनाउनुपर्ने र सेवा प्रवाहमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, सडक सञ्जाल विस्तार, गुणस्तरीय पूर्वाधार विकास, डिजिटल प्रणालीको प्रयोग तथा पर्यटकमैत्री व्यवहार सुधारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
कन्क्लेभका क्रममा पर्यटन सञ्जाल झापा र हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क बीच दिगो पर्यटन विकास, सीमापार पर्यटन विस्तार तथा अनुभव आदानप्रदानका लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीमार्फत् क्षेत्रीय पर्यटन प्रवर्द्धन, नीतिगत सुधार तथा संयुक्त कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सहमति भएको आयोजकले जनाएको छ।
कार्यक्रममा भारतबाट ६० पर्यटन व्यवसायीको सहभागिता रहेको थियो भने कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो।