शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

गोरखामा लक्जरी हेरिटेज 'समिट होटल' बनाउँदै चौधरी ग्रुप

गोर्खालाई लक्जरी पर्यटनको गन्तव्य बनाउने लक्ष्य

शुक्रबार, चैत २७ २०८२
गोरखामा लक्जरी हेरिटेज 'समिट होटल' बनाउँदै चौधरी ग्रुप

काठमाडौं- चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले गोरखालाई अन्तर्राष्ट्रियस्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को शिलान्यास गरेको छ।

काठमाडौंको चर्चित ‘समिट होटल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ।

सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौंको ऐतिहासिक समिट होटलको विरासतलाई नयाँ स्वरूप दिँदै गोरखामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुविधाहरुका साथै नेपाली मौलिकता प्रदान गर्नेछ।

करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। करिब ३० वटा लक्जरी कोठाहरु रहने होटलको रुमरेट करिब ५०० अमेरिकी डलरआसपास रहने छ। समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ।

सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोरखालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो। ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोरखा दरबारनजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। गोरखा त्यही स्थल हो जहाँबाट पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्वपुर्ण कदम हो।

gorkha sumit.jpeg

‘गोरखा नेपालको इतिहास बोकेको निकै महत्त्वपूर्ण क्षेत्र हो। नेपालको इतिहास, संस्कृति र मौलिकता तथा समिट होटलको विरासतलाई नेपालभर र विश्वसामु प्रस्तुत गर्ने हाम्रो प्रयास हो। पर्यटनमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने सरकारको लक्ष्यमा चौधरी ग्रुप सधैँ सहयोगी भूमिकामा रहनेछ,’ उनले भने।

समिट होटलले गोरखा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वाससमेत गरिएको छ।

केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेशनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ होटलको शिलान्यास काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो।

सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ। हाल यसको पोर्टफोलियोमा १२ देशका १ सय ३० गन्तव्यमा २ सय ३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी रहेको छ।

चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, प्रमुख करदाता तथा रोजगार सिर्जनामा अग्रणी संस्था हो। चौधरी ग्रुपको राजस्व योगदान सरकारको वार्षिक राजस्वको करिब २ प्रतिशत बराबर छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै चौधरी ग्रुपले २५ अर्ब ५९ करोड रुपैयाँ सरकारको राजस्वमा योगदान गरेको थियो भने पछिल्ला पाँच वर्षमा कुल ९२ अर्ब २६ करोड रुपैयाँ राजस्व योगदान गरिसकेको छ।


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend