शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

बजारको एकाधिकारमा सरकारकै साथ : कानून अवज्ञा गरेर गोर्खा ब्रुअरीमा राज ब्रुअरी विलय

शुक्रबार, चैत २७ २०८२
बजारको एकाधिकारमा सरकारकै साथ : कानून अवज्ञा गरेर गोर्खा ब्रुअरीमा राज ब्रुअरी विलय

बजारमा एकछत्र गरिरहेको उद्योगले उस्तै प्रकृतिको अर्को उद्योगलाई गाभ्दा प्रतिस्पर्धा झनै सीमित हुने र एकाधिकार प्रवर्द्धन हुने जोखिम छ।

काठमाडौं- क्षमता विस्तारमा समेत अनुदार हुने सरकारले दुई तिहाइ हिस्सा भएको उद्योगलाई नै बजारमा एकाधिकार कायम गर्न दिएको छ। कानूनी व्यवस्थालाई लत्याउँदै बजारमा एकाधिकारलाई मजबुत बनाउन गोर्खा ब्रुअरीले राज ब्रुअरीलाई विलय गराएको छ।

प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३ को दफामा ५ मा लेखिएको छ, 'प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिन वा मिल्न नहुने।' यस्तोमा बजारमा प्रतिस्पर्धालाई सीमित बनाउने गैरकानूनी अभ्यासलाई उद्योग विभागले नै साथ दिएको छ।

बजार संरक्षण ऐन २०६३ को दफा ५ मा कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने प्रतिष्ठानले एकाधिकार कायम गर्ने वा बजारमा नियन्त्रित व्यापारिक अभ्यास कायम गर्ने उद्देश्यले समान प्रकृतिको वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य प्रतिष्ठानसँग गाभिन, आपसमा मिल्न एक्लै वा आफ्नो सहायक प्रतिष्ठानसँग मिली त्यस्तो प्रतिष्ठानको ५० प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गर्न वा त्यस्तो प्रतिष्ठानको व्यवसाय कब्जा गरी ग्रहण (टेकओभर) गर्न सक्ने छैन भनि उल्लेख गरिएको छ।

ऐनमा 'कुनै एकै प्रकृतिको वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठान एक आपसमा गाभिँदा, मिल्दा, सेयर खरिद गर्दा वा टेकओभर गर्दा त्यस्ता वस्तु वा सेवा नेपाल राज्यभित्र हुने कुल उत्पादन वा वितरणमध्ये ४० प्रतिशतभन्दा बढी उत्पादन वा वितरण हुने भएमा प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले प्रतिष्ठान गाभिएको, मिलेको वा टेकओभर गरेको मानिनेछ' भनेर परिभाषित गरिएको छ।

त्यस्तो कानून लत्याउँदै बियर बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको गोर्खा ब्रुअरीले राज ब्रुखरी खरिद गरेको हो। 

खरिद प्रक्रिया विवादमा परेपछि २०८१ को माघदेखि नै गोर्खा ब्रुअरीले उत्पादन करार सम्झौता गरी राज ब्रुअरीको उद्योगबाट गोर्खा ब्रुखरीको ब्रान्ड उत्पादन गर्दै आएको थियो। अन्तत: सेटिङमा कानूनविपरीत एकाधिकार खडा गर्नेगरी गोर्खा ब्रुअरीले राज ब्रुअरीलाई विलय गराउने सहमति उद्योग विभागबाट लिएको पुष्टि भएको छ।

कानूनमा विपरीत काम गरे/गराएमा त्यस्तो काम कारबाही बदर गरी त्यस्तो काम कारबाही गर्ने र गराउने व्यक्ति वा प्रतिष्ठानलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उल्लेख गरिएको छ। 

नेपालमा बियरको बजारमा एक्लै ५५ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरी आफैमा जायन्ट कम्पनी हो। उत्पादन क्षमता तथा वितरणको परिमाणमा पनि गोर्खा ब्रुअरीको एकल साम्राज्य जस्तै छ। यति ठूलो कम्पनीले अब अर्को बियर उत्पादक कम्पनीलाई गाभ्ने भनेको बजारमा एकाधिकार खडा गर्नु हो।

यसअघि खेतान समूह गोर्खा ब्रुअरीबाट बाहिरिएपछि जावलाखेल समूहको राज ब्रुअरीलाई भित्र्याउँदै र त्यसको मूल्यांकनबापत गोर्खा ब्रुअरीको सेयर राज ब्रुअरीका मालिक राजबहादुर शाहलाई १५ प्रतिशत  दिइएको थियो। गोर्खा ब्रुअरी नेपाली बजारमा उत्पादन र वितरणका हिसाबले एक नम्बरमात्र होइन कुनै पनि प्रतिस्पर्धी उसको निकटसम्म छैनन्।

गोर्खाको बजार हिस्सा ५७ प्रतिशतआसपास छ भने दोस्रो कम्पनीको बजार हिस्सा १६ प्रतिशत छ। यो बजार हिस्सा २०८०/०८१ को अन्त:शुल्कबापत मदिरा उत्पादक कम्पनीहरुले बुझाएको विरणको आधार लिइएको हो। अहिले गोर्खा ब्रुअरीको हजार हिस्सा ७० प्रतिशतको हाराहारीमा पुगेको छ।

gorkha .png

गोर्खा ब्रुअरीले अहिले पनि उद्योगले लिएको उत्पादन क्षमताको १०० प्रतिशत नै उत्पादनसमेत नगरेको आन्तरिक राजस्व विभाग स्रोत बताउँछ। गोर्खा ब्रुअरीले कुनै उद्योग नै आफूमा विलय गराउनुभन्दा हरेक प्रदेशमा कम्पनीबाट नै क्षमता विस्तार गर्नु पर्ने हो। तर गोर्खा ब्रुअरीले बजारमा मनोपोली खडा गर्नकै लागि बियर नै उत्पादन गर्ने राज ब्रुअरीलाई विलय गराएको हो।

बजारमा एकछत्र गरिरहेको उद्योगले उस्तै प्रकृतिको अर्को उद्योगलाई गाभ्दा प्रतिस्पर्धा झनै सीमित हुने र एकाधिकार प्रवर्द्धन हुने जोखिम छ। 

मदिराको उत्पादनमा राज्यको प्रत्यक्ष निगरानी हुने भएकाले कुन उद्योगको उत्पादन कति हो र समग्र देशको उत्पादन कति हो भन्ने स्पष्ट तथ्यांक हुन्छ। बिजनेस न्युजलाई प्राप्त विवरणअनुसार गोर्खा ब्रुअरीको उत्पादन अहिले कुल उत्पादनको ६० प्रतिशतको हाराहारीमा रहेको छ। राज ब्रुअरी भने पछिल्लो समय निरन्तर ओरालो लागेको उद्योग हो। यसको बजार हिस्सा २ प्रतिशत रहेको छ। 

गोर्खा ब्रुअरीले उत्पादनका लागि लिएको अनुमतिअनुसारको उत्पादन क्षमताका आधारमा बजार हिस्सा गणना गराउँदै राज ब्रुअरीलाई विलय गराएर बजारमा एकाधिकार खडा गर्न लागेको हो।

आर्थिक वर्ष २०८०/०८१ मा गोर्खा ब्रुअरीले मात्रै अन्त:शुल्कमा १७ अर्ब ७२ करोड २६ लाख ८१ हजार रुपैयाँ तिरेको छ। यसैगरी उक्त आर्थिक वर्ष राज ब्रुअरीले ६४ करोड ७९ लाख ५० हजार, याक ब्रुअरीले १ अर्ब ७७ करोड ८३ लाख ३६ हजार, यती ब्रुअरीले ४ अर्ब ६ करोड ७१ लाख, टाइगरले १ अर्ब १६ करोड ४१ लाख ७० हजार, हिमालयन ब्रुअरीले ४३ करोड ६५ लाख र सीजी ब्रुअरीको ५ अर्ब ७ करोड १४ लाख ७० हजार रुपैयाँ अन्त:शुल्क तिरेको छ।

कुनै पनि वस्तुको उत्पादनका लागि इजाजत लिँदा उल्लेख गरिने क्षमताका आधारमा बजार तय हुँदैन। उद्योगबाट बजारमा जाने उत्पादिन बस्तुको बिक्री वितरणको आधारमा बजार हिस्सा हेर्नुपर्छ। यहाँ गोर्खा ब्रुअरीलाई राज ब्रुअरी खरिद गर्न दिँदा घोषित उत्पादन क्षमतालाई आधार बनाउने काम भएको उद्योग विभाग स्रोतको दाबी छ।

राज ब्रुअरी आधुनिक उत्पादन कारखाना भएको उद्योग हो। बडवाइजर तथा वार्स्टाइनर जस्ता विश्वप्रसिद्ध ब्रान्ड उत्पादन गर्न बनेको उक्त उद्योग नेपालमा ती बियर नचलेपछि बन्द भएको थियो।  

मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द

मदिरा उद्योगमा पछिल्लो १३ वर्षदेखि राज्यले नयाँ लाइसेन्स जारी गरेको छैन। उद्योग खोल्न पूर्वअनुमति चाहिने यस्ता उद्योगको लाइसेन्स सरकारले लामो समयदेखि रोक्दा भएकै बलिया कम्पनीको एकाधिकार बढ्दै गएको छ। राजस्वको बलियो स्रोतका रुपमा लिइने मदिरा तथा सुर्तिजन्य उद्योगमा भएकै बलिया कम्पनीको रजगज छ। 

स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने नाममा नयाँलाई छिर्न नदिने तर भएका पुरानाको एकछत्र बढ्दै जाने प्रवृत्ति मौलाएको छ। लामो समयदेखि लाइसेन्स रोकिएकोमात्र होइन सरकारले भएकै उद्योगको क्षमता विस्तारलाई पनि अड्काउने गरेको छ। 

क्षमता विस्तारमा समेत अनुदार हुने सरकारले बजारमा दुई तिहाइ हिस्सा भएको उद्योगलाई अर्को मदिरा उद्योग गाभ्ने अनुमति दिएको हो।

राज ब्रुअरी खरिदमा राज्य संयन्त्रलाई झुक्याउन गोर्खा ब्रुअरीले गरेको तीन बदमासी राज ब्रुअरी खरिदमा राज्य संयन्त्रलाई झुक्याउन गोर्खा ब्रुअरीले गरेको तीन बदमासी

मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द, मोनोपोली गर्न गोर्खा र राज ब्रुअरीलाई एक बनाउने खेल मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द, मोनोपोली गर्न गोर्खा र राज ब्रुअरीलाई एक बनाउने खेल

गोर्खा ब्रुअरीले लिँदै राज ब्रुअरी : कानूनविपरीत गएर  बजारमा मोनोपोली गर्ने प्रपञ्च गोर्खा ब्रुअरीले लिँदै राज ब्रुअरी : कानूनविपरीत गएर बजारमा मोनोपोली गर्ने प्रपञ्च


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend