आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द, मोनोपोली गर्न गोर्खा र राज ब्रुअरीलाई एक बनाउने खेल

मंगलबार, साउन ६ २०८२
मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द, मोनोपोली गर्न गोर्खा र राज ब्रुअरीलाई एक बनाउने खेल

गोर्खा ब्रुअरीबाट हुने उत्पादन राज ब्रुअरीबाट गर्दा गोर्खा ब्रुअरीको नाफा कम हुन्छ। जसबाट राज्यलाई आउने व्यावसायिक आयकर सिधै घाटा हुने छ।

काठमाडौं- मदिरा उद्योगमा पछिल्लो १३ वर्षदेखि राज्यले नयाँ लाइसेन्स जारी गरेको छैन। उद्योग खोल्न पूर्वअनुमति चाहिने यस्ता उद्योगको लाइसेन्स सरकारले लामो समयदेखि रोक्दा भएकै बलिया कम्पनीको एकाधिकार बढ्दै गएको छ। 

राजस्वको बलियो स्रोतका रुपमा लिइने मदिरा तथा सुर्तिजन्य उद्योगमा भएकै बलिया कम्पनीको रजगज बढ्दै गएको छ। स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने नाममा नयाँलाई छिर्न नदिने तर भएका पुरानाको एकछत्र बढ्दै जाने प्रवृत्ति मौलाएको छ। लामो समयदेखि लाइसेन्स रोकिएकोमात्र होइन सरकारले भएकै उद्योगको क्षमता विस्तारलाई पनि अड्काउने गरेको छ। 

क्षमता विस्तारमा समेत अनुदार हुने सरकारले बजारमा दुई तिहाइ हिस्सा भएको उद्योगलाई अर्को मदिरा उद्योग गाभ्ने अनुमति दिने तयारी गरेको छ। क्षमता विस्तार गर्दासमेत बजार बढ्ने भन्ने तर्क दिने गरेका कतिपय सरकारी अधिकारीहरू पछिल्लो समय गोर्खा ब्रुअरीलाई अर्को मदिरा उद्योग राज ब्रुअरी गाभ्ने अनुमति दिने तयारीमा छन्। 

राज ब्रुअरी आधुनिक उत्पादन प्लान्ट भएको उद्योग हो। यसले बहुराष्ट्रिय बियर ब्रान्डलाई नेपालमा ल्याएर उत्पादन गरेपनि सफलता हात पार्न सकेको थिएन।

घरेलु बियर उत्पादन पनि गरिरहेको राज ब्रुअरीले पछिल्लो समय करारमा गोरखाकै बियर उत्पादन सुरू गरिसकेको छ। यो उत्पादन करार केबल यतिमै सीमित छैन। गोर्खा ब्रुअरीबाट खेतान समूह बाहिरिएसँगै स्थानीय साझेदारका रुपमा राज ब्रुअरी नै भित्रिने तयारी भइरहेको छ।

उक्त खरिद-बिक्री सम्झौताको अनुमतिका लागि उद्योग विभागमा अहिले निवेदन परिसकेको छ। यसको अध्ययन भइरहेको विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले जानकारी दिएका छन्।  निवेदनउपर कुनै निर्णय नभएको अवस्थामा राज्यलाई अर्बौँ राजस्व कम हुने गरी गोर्खा ब्रुअरीको ब्रान्ड राज ब्रुअरीमार्फत उत्पादन गर्न दिइएको छ। 

राज ब्रुअरी घाटामा गएको कम्पनी हो। घाटाको कम्पनीबाट नाफामा गएको कम्पनीको उत्पादन गर्दै राज्यलाई व्यावसायिक आयकरमा छलछाम गर्ने काम भएको छ। 

एकातिर क्षमता विस्तारमा अनुदान हुने विभाग अर्को ब्रुअरी गाभ्ने कुरामा भने उदार हुने देखिएको छ। कुनै पनि उद्योगले क्षमता विस्तारको अुनमति मागेपछि दिनुपर्ने हुन्छ।

यो स्वाभाविक अनुमतिमा विभागले विगत लामो समयदेखि रोकेको थियो। गोरखा ब्रुअरीले नै यसअघि त्यस्तो अनुमति माग गर्दा अड्काइएको थियो। तर बजारमा मोनोपोली खडा गर्न गोर्खा ब्रुअरीलाई राज ब्रुअरी खरिद गर्न दिइएको हो। 

यसरी क्षमता विस्तारको अनुमति दिँदा प्रतिस्पर्धी अरु कम्पनीले सोहीअनुसारको तयारीको अवसर पाउँछन्। तर बजारमा अहिले नै दुई तिहाइ हिस्सा भएको गोरखा ब्रुअरीले तयारी अवस्थाकै अर्को उद्योग लिँदा भोलिपल्टदेखि नै बजारमा एकाधिकार झन मजबुत बनाउने जोखिम हुन्छ। तर विभागका महानिर्देशक ज्ञवाली आफू आएपछि कसैको क्षमता विस्तारमा अनुदार नभएको बताउँछन्। 

राजस्व छली कसरी हुन्छ?

गोर्खा ब्रुअरी नाफामा रहेको कम्पनी हो। नाफामा रहेको कम्पनीले नाफा बढाउँदै जाँदा जति नाफा बढी हुन्छ त्यसको २५ प्रतिशतसम्म व्यावसायिक आयकर राज्यलाई बुझाउँछ। 

उदाहरणका लागि गोर्खा ब्रुअरीले वार्षिक ३ अर्बको नाफा गरेको अवस्थामा राज्यलाई ७५ करोड व्यावसायिक आयकर प्राप्त हुन्छ। तर गोर्खा ब्रुअरीले अहिले घाटामा रहेको राज ब्रुअरीबाट आफ्नो उत्पादन गरिरहेको छ। 

राज ब्रुअरीले अहिले गोर्खाको उत्पादन गरेर घाटा मिलान गरिरहेको छ। गोर्खा ब्रुअरीबाट हुने उत्पादन राज ब्रुअरीबाट गर्दा गोर्खा ब्रुअरीको नाफा कम हुन्छ। जसबाट राज्यलाई आउने व्यावसायिक आयकर सिधै घाटा हुने छ। 

उदाहरणका लागि अहिले राज ब्रुअरीबाट उत्पादन करार सम्झौता गरेर गोर्खा ब्रुअरीले दुई अर्ब रुपैयाँको मात्रै बिलिङ आफ्नो ब्रुअरीबाट गर्दा त्यसबाट आउने व्यावसायिक आयकर सिधै राज्यलाई नोक्सानी हुने छ।

गोर्खा ब्रुअरीले लिँदै राज ब्रुअरी : कानूनविपरीत गएर बजारमा मोनोपोली गर्ने प्रपञ्च


प्रकाशित : मंगलबार, साउन ६ २०८२१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend