म्याग्दी- मालिका गाउँपालिका-६ डाँडागाउँमा पाखो सम्याएर हिमाली युवा क्लबको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ।
५५ लाख ६५ हजार ५ सय ५५ रुपैयाँको लागतमा भवन र खेलमैदान निर्माण भएको हो। सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी समुदायस्तरबाट सहयोग र श्रमदान जुटाएर खेलमैदान र भवन निर्माण गरिएको क्लबका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिए।
'खेलमैदान र भवन निर्माण भएको ठाउँ यसअघि भिरालो पाखा थियो', उनले भने, 'डोजर लगाएर करिब ६० मिटर जमिन खारेर डिलमा पर्खाल बनाएर सम्याइएको हो।' ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको हो। खेलमैदानको परिसरमा दुई कोठे भवन, ‘स्टेज’ र सार्वजनिक शौचालयसहितको भवन निर्माण भएको छ।
डाँडागाउँमा यसअघि खेलमैदान नहुँदा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो। सामुदायिक भवनमा भेला, बैठक, तालिम, गोष्ठी, सभा, समारोह र भोजभतेर सञ्चालन गर्न सहज भएको छ। क्लबले १५ वर्षअघि सुरु गरेको खेलमैदान निर्माण कार्यले अहिले पूर्णता पाएको हो।
मालिका गाउँपालिकाबाट १७ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि हिमाली युवा क्लबले ४ लाख ७६ हजार रुपैयाँबराबरको श्रमदान र फुलपाती आमा समूहले ३ लाख रुपैयाँ नगद सहयोग गरेका छन्।
सुवास गर्बुजा, सविन पुन, रविन पुन, डाइमण्ड जुग्जाली, अमृत जुग्जाली, इन्द्र पुन, चकबहादुर पाइजा, सुरज जुग्जाली, चित्र पाइजा, गमबहादुर जुग्जाली, मन्दीप/सन्दीप/रघु जुग्जाली र लकमन पुनले १-१ लाख रुपैयाँ सहयोग गरेको क्लबका सचिव रोहन जुग्जालीले जानकारी दिए।
रत्नसिंह गर्बुजाले ५ हजार ५ सय ५५ रुपैयाँ, माइकल पाइजा, सुर्ज/रेशम जुग्जाली, तीर्थमान/सज्जन जुग्जाली, नारायण जुग्जाली, रुविन जुग्जाली, जीवन पुनले ५०-५० हजार रुपैयाँ, कर्ण जुग्जालीले ३१ हजार रुपैयाँ, प्रवीण रानाले ३१ हजार रुपैयाँ, खिमबहादुर जुग्जालीले १७ हजार रुपैयाँ र रमेश पाइजाले ५ हजार रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ।
खेलमैदानको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र भवनको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बुधबार उद्घाटन गरे। कार्यक्रममा सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासले तीव्रता पाए पनि जनसंख्या घट्नु र बसाइँसराइ बढ्नु चुनौती बनेकोमा चिन्ता व्यक्त गर्दै पर्यटन र कृषिमा आधारित उद्यम, व्यवसायमा लाग्न सुझाव दिए।
भवन र खेलमैदान उद्घाटनका साथै नयाँ वर्षको अवसरमा क्लबका संस्थापक कासिराम जुग्जाली स्मृति प्रथम कप आयोजना गरिएको छ। भलिबल, फुटसललगायतका प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ। कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो। रासस