काठमाडौं- नेपाली बजारमा नयाँ-नयाँ ब्रान्डका विद्युतीय भ्यान तथा माइक्रोबस आउने क्रम जारी छ। हालसम्म ३० भन्दा बढी ब्रान्डका विद्युतीय माइक्रोबस नेपाली बजारमा भित्रिसकेका छन्।
पछिल्लो पटक नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको कम्पनीले पनि नयाँ ब्रान्डको माइक्रोबस भित्र्याएको हो। उप्रेतीको कम्पनी एसटीसी अटो सोलुसन प्रालिले जिन्बै ब्रान्डको विद्युतीय माइक्रोबस चीनबाट आयात गरेको हो।
विद्युतीय कारमात्र होइन नेपाली बजारमा विद्युतीय माइक्रोबस तथा भ्यानको आयातसमेत उल्लेख्य रुपमा बढेको छ। छोटो तथा मध्यम रुटमा र व्यावसायिक प्रयोजनमा ११ सिट क्षमता र १४/१६ सिट क्षमताका विद्युतीय माइक्रोबसको माग बढेसँगै नयाँ नयाँ ब्रान्ड आउने क्रम जारी छ। प्यासेन्जर कार सेगमेन्टमा नयाँ ब्रान्ड आउनेक्रम रोकिएको छ भने आएका केही ब्रान्डहरु टिक्न नसकेर बन्द भइसकेका छन्।
नेपाली बजारमा हाल ३० भन्दा बढी विद्युतीय माइक्रोबस तथा भ्यानका ब्रान्ड र तीनका दर्जनौँ मोडल उपलब्ध छन्। अहिले बजारमा उपलब्ध सबै विद्युतीय माइक्रोबस चीनबाट आयात भइरहेको छ।
माइक्रोबस तथा भ्यानका आयातमा ठूला व्यावसायिक घरानादेखि स्टार्टप व्यवसायीहरूसम्म लागिपरेका छन्। यसरी आयात भइरहेका ब्रान्डहरूमध्ये केही ब्रान्डेड छन् भने सयौँ ननब्रान्डेड छन्, कुनै चीनका स्टार्टप कम्पनी छन् त कुनै संकटोन्मुख ब्रान्ड छन्।
गुणस्तरीय र विश्वसनीय ब्रान्डका सवारी आयातको सुनिश्चितता सरकारले गर्नुपर्ने बेला आइसकेको छ। लाखौँ डलर खर्चिएर आयात गरिएका माइक्रोबस तथा भ्यानको पाट्र्स र सर्भिस नपाउने अवस्था आयो भने उपभोक्ताको लगानी डुब्नेछ।
सञ्चालन खर्च न्यून भएकाले व्यावसायिक प्रयोजनमा विद्युतीय माइक्रोबस तथा भ्यानप्रति यातायात व्यवसायीहरू आकर्षित भएका हुन्। डिजेल माइक्रोबससरहकै भाडामा सञ्चालन गर्न पाइने भएकाले व्यवसायीहरू विद्युतीय माइक्रोबसतर्फ मोडिएका थिए। तर बुधबार सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्दै विद्युतीय सार्वजनिक सवारीको भाडा भने यथावत राख्ने निर्णय गरेको छ। यसकाबीच पनि विद्युतीय माइक्रोबस चलाउनेहरुलाई लाभ नै मिल्ने व्यवसायीहरुको भनाइ छ।
एसटीसी अटो सोलुसनले ल्याएको जिन्बै ब्रान्डको विद्युतीय माइक्रोबस एचवानएल १४ सिटे विद्युतीय माइक्रोबस हो। यो माइक्रोबसमा १ सय किलोवाट पिक पावरको मोटर रहेको छ। सुरुमा कम्पनीले एउटा माइक्रोबस ल्याएको हो। सडक परीक्षण गरेपछि बिक्रीका लागि अरु माइक्रोबस ल्याउने जनाएको छ। त्यसपछि नै मूल्य सार्वजनिक गर्ने छ।
विद्युतीय माइक्रोबस तथा भ्यानको आयात बढ्दै जाँदा उपभोक्ताले समयमै र उचित मूल्यमा सर्भिस र स्पेयर पार्ट्स पाउन नसकिरहेको गुनासो आउन थालिसकेको छ। जसका कारण विद्युतीय माइक्रोबस तथा भ्यानप्रति उपभोक्तामा नैराश्य आउन सक्छ। आयातकर्ताहरूले यसबारेमा बेलैमा सोच्नु पर्ने व्यवसायीहरूको भनाइ छ।
स्पेयर पार्टस तथा सर्भिसका लागि एसटीसी अटो सोलुसनले विद्युतीय माइक्रोबस बिक्री सुरु गर्नु अगावै जिन्बै ब्रान्डका लागि आवश्यक सर्भिस र स्पेयर पार्टसको काम पनि सुरु गरिसकेको जनाएको छ।
चीनको सवारी उत्पादक कम्पनी ब्रिलियन्स अटोअन्तर्गतको कमर्सियल सवारी ब्रान्ड हो जिन्बै। सरकारी स्वामित्वमा रहेको उक्त कम्पनीले लामो समयदेखि विद्युतीय सवारी उत्पादन गर्दै आएकाले गुणस्तरीय सवारी नेपाल ल्याएको कम्पनीले जनाएको छ।
