काठमाडौं- पश्चिम एसियामा जारी तनावले विश्व अर्थतन्त्रमा ठूलो तरंग सिर्जना गरिरहेको छ। यसको असर नेपालमा पनि देखिएको छ। महँगीले पारेको दबाबका प्रारम्भिक संकेतहरू सतहमा आएका छन्।
बढ्दो भाडा र महँगीको प्रभाव केवल एउटा क्षेत्रमा मात्र सीमित छैन। यसले दैनिक जीवनका सबै क्षेत्र, भान्सा खर्चदेखि दैनिक उपभोग्य सामग्रीसम्म असर गर्न थालेको छ। कच्चा तेल र ग्यासको मूल्य वृद्धिका कारण खाना पकाउने इन्धन, खाद्य सामग्री, निर्माण र उद्योगजन्य वस्तुको मूल्य बढ्न थालेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उपभोक्ता मूल्यवृद्धि दर पछिल्ला महिनामा क्रमिक रूपमा बढेको छ। फागुनमा वार्षिक बिन्दुगत मूल्यवृद्धि ३.६२ प्रतिशत पुगेको छ जुन माघको ३.२५ प्रतिशतको तुलनामा उच्च हो।
विशेषगरी फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि पश्चिम एसियामा ऊर्जा आपूर्ति शृंखला प्रभावित भएको छ। कच्चा तेल, ग्यास, रासायनिक मल र प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्तिमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ। यसको प्रत्यक्ष असर आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा देखिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको भए पनि पछिल्ला महिनामा क्रमिक वृद्धि देखिएको छ। २०८१ माघयता ५ प्रतिशतभन्दा तल रहेको महँगी दर अब विस्तारै उकालो लाग्न थालेको छ।
सार्वजनिक यातायात र हवाई भाडामा असर
सार्वजनिक यातायातमा पनि महँगीको प्रभाव देखिन थालेको छ। यातायात व्यवस्था विभागले गन्तव्यअनुसार नयाँ भाडा सार्वजनिक गरेको छ। यात्रुवाहक सवारीको भाडा १५.७१ प्रतिशत र मालवाहक सवारीको भाडा १६.६८ प्रतिशतले बढाइएको छ।
तराईका मार्गमा सञ्चालन हुने मालबाहक सवारीको भाडा १५.७३ प्रतिशतले बढाइएको छ भने पहाडी मार्गमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २१.८६ प्रतिशतले समायोजन गरिएको छ। विभागले २०७२ सालदेखि लागु भएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा स्वचालित रूपमा समायोजन हुँदै आएको जानकारी दिएको छ।
पछिल्लोपटक डिजेलको औसत बजार मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर हुँदा २०८१ पुस २२ मा भाडा समायोजन गरिएको थियो। त्यसयता विभिन्न सूचकहरूको बजार मूल्यमा आएको परिवर्तन र इन्धन मूल्य वृद्धिलाई ध्यानमा राखेर आजदेखि लागु हुने गरी राष्ट्रियस्तरका रुटमा सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको विभागले जनाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीहरूले पनि हवाई भाडामा ‘इन्धन चार्ज’ बढाएका छन्। आन्तरिक हवाई इन्धन प्रतिलिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ कायम गरिएको छ।
उद्योग र दैनिक जीवनमा असर
पेट्रोलियम पदार्थ र त्यससँग सम्बन्धित कच्चा पदार्थको आपूर्ति अवरुद्ध हुँदा नेपालका औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन्। देशभरका औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेका उद्योगहरूले आवश्यक कच्चा पदार्थको आपूर्ति अनिश्चित बन्दै गएको बताएका छन्। उपलब्ध हुँदा पनि मूल्य उल्लेख्य रूपमा बढेकाले उत्पादन लागतमा तीव्र वृद्धि भइरहेको छ।
खाद्यान्न, वनस्पति तेल, जुत्ताचप्पल, धागो, कपडा, सिमेन्ट तथा फलामजन्य सामग्रीको मूल्य बढ्ने संकेत देखिएको छ। खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सम्भावित मूल्यवृद्धि, ढुवानी र प्याकेजिङमा प्रयोग हुने प्लास्टिक दानाको अभाव तथा मूल्यवृद्धिले विभिन्न उद्योगको लागत थप बढाएको छ।
प्लास्टिक उद्योगहरूले उत्पादन करिब ४० प्रतिशत घटाइसकेका छन्। युद्धअघि प्रतिटन करिब ९०० अमेरिकी डलरमा पाइने एचडीपीई र पीपी दाना अहिले करिब १,२५० डलरमा पुगेको छ। यसको असर प्लास्टिकका भाँडाकुँडा, खेलौना, फर्निचर, त्रिपाल, बोरा, पाइप, पेट बोतल, प्याकेजिङ सामग्री तथा जुत्ताचप्पल उत्पादनमा देखिन थालेको छ।
वनस्पति तेल उद्योगहरू पनि प्रभावित छन्। भटमासको कच्चा तेल प्रतिटन १,२२० डलरबाट बढेर १,२८० डलर पुगेको छ। सूर्यमुखीको तेल प्रतिटन १,४०० डलरबाट १,५२० डलर पुगेको छ। निर्यातमुखी उद्योगहरूमा प्रयोग हुने इथिलिन भिनाइल एसिटेट (इभा)को मूल्य प्रतिटन १,१५० डलरबाट बढेर १,६०० डलर पुगेको छ।
निर्माण क्षेत्रमा असर
निर्माण क्षेत्रमा पनि तेल र इन्धनको मूल्यवृद्धिको प्रभाव प्रत्यक्ष देखिन थालेको छ। निर्माण व्यवसायीहरू अहिले प्रोजेक्टहरू होल्डमा राख्दै छन्। भट्टा, ढुवानी र सिमेन्टमा इन्धन लागत बढेसँगै निर्माण लागत अत्यधिक वृद्धि भएको छ।
केही ठूला निर्माण कम्पनीहरूले नै नयाँ परियोजना सुरुवात गर्न ढिलाइ गरेका छन् भने चलिरहेको परियोजनामा लागत नियन्त्रण र तालिका व्यवस्थापनमा चुनौती आएको छ।
निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, बिटुमिन, सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य बढेसँगै सम्पूर्ण भवन निर्माण, सडक र इन्फ्रास्ट्रक्चर प्रोजेक्टमा असर परेको व्यवसायीहरूले बताएका छन्।