शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

वाइडबडीमा दोहोरिँदै न्यारोबडीको गल्ती : कमिसनको चक्करमा एउटै कम्पनीसँग इन्जिन मर्मत र भाडामा लिने ठेक्का आह्वान

बुधबार, चैत २५ २०८२
वाइडबडीमा दोहोरिँदै न्यारोबडीको गल्ती : कमिसनको चक्करमा एउटै कम्पनीसँग इन्जिन मर्मत र भाडामा लिने ठेक्का आह्वान

नेतृत्वविहीन रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्दै आएको वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको हो।

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको गल्ती दोहोर्‍याउँदै दुईवटा वाइडबडी जहाजको चारवटा इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने ठेक्का आह्वान गरेको छ।

निगमले जहाज नै ग्राउन्डेड हुने अवस्था सिर्जना गरेर अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटै वाइडबडीको चारवटै इन्जिन मर्मत तथा भाडामा लिने ठेक्का गरेको हो।

निगमले कम्पनी छनोटका लागि भन्दै अप्रिल ५ मा सूचना जारी गरेको छ। इन्जिन मर्मत गर्न तथा इन्जिन भाडामा दिन चाहाने कम्पनीले मे २१ सम्म प्रस्ताव पेस गर्नुपर्ने छ। 

निगमले एउटा इन्जिन मर्मतमा न्यूनतम १३ मिलियन डलरदेखि १६ मिलिएन डलरसम्म लाग्ने अनुमान गर्दै प्रस्ताव माग गरेको छ। एउटा इन्जिन मर्मतमा न्यूनतम १ अर्ब ९० करोडदेखि अधिकतम २ अर्ब ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो। सोही हिसाबमा चारवटा इन्जिन मर्मतमा ८ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने निगमको अनुमान छ।

एउटा इन्जिन मर्मतका लागि १ सय २० दिन न्यूनतम लाग्ने छ। उक्त समयमा जहाज कि त ग्राउन्डेड गर्नुपर्छ कि त इन्जिन भाडामा लिनु पर्छ। एउटा इन्जिन भाडा लिँदा दैनिक १३ हजार डलरभन्दा बढी लाग्ने निगमकै अनुमान छ।

यसरी एउटा जहाज उडानका लागि दुईवटा इन्जिन भाडामा लिँदा दैनिक २६ हजार डलरभन्दा बढी लाग्छ। १ सय २० दिनका लागि भन्दै इन्जिन भाडा लिँदा पनि ५० करोड रुपैयाँ लाग्ने अवस्था हुन्छ।

निगमको विगतका इतिहास हेर्ने हो भने कुनै पनि जहाजको इन्जिन मर्मत तोकिकएको समयमा भएको छैन। एउटा इन्जिन मर्मतमा वर्षदिनसम्म समय लागेका विगत छ।

रुस र युक्रेन युद्धका कारण पछिल्लो समयमा वायुयानको इन्जिन मर्मत तथा पार्टपुर्जा सहजरूपमा पाउन सकिने अवस्था छैन। जसका कारण निगमको इन्जिन मर्मतको समय निश्चय पनि लम्बिने छ। जति इन्जिन मर्मतको समय लम्बिन्छ निगमलाई उति नै घाटा हुन्छ।

एउटै कम्पनीसँग इन्जिन मर्मत र इन्जिन भाडामा लिने ठेक्का लिँदा इन्जिन मर्मतमा लापरबाही भएको विगतबारे निगम आफै जानकार छ।

इन्जिन मर्मतमा जति ढिलाइ भएपनि कम्पनीलाई इन्जिन भाडाबाट रकम पाइरहेको हुन्छ। निगम व्यवस्थापनको उच्च तहमा बसेर काम गर्नेहरुले पनि इन्जिन भाडाकै रकमबाट कमिसन आउने भएपछि एउटै कम्पनीबाट काम गराउने गरेका छन्।  

कमिसनको चक्करमा न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडा एउटै कम्पनीबाट गराउँदा निगमले ठूलो आर्थिक भार बेहोरेको थियो। त्यसबाट पाठ सिकेर इन्जिनियरिङ विभागले इन्जिन मर्मत र भाडामा लिने ठेक्का अलगअलग गर्ने गरी तयारी गरेको थियो। तर निगम सञ्चालक समिति तथा कमिसनमा रमाउनेहरुले त्यसलाई रोकेर एउटै कम्पनीबाट इन्जिन मर्मत र इन्जिन भाडामा लिने गरी ठेक्का आह्वान गर्न दबाब दिएका थिए। अन्तत: सोहीअनुसार ठेक्का आह्वान भएको छ।

एउटै कम्पनीलाई इन्जिन मर्मतको जिम्मा पनि दिने र उसैसँग इन्जिन भाडामा पनि लिने काम गर्न नहुने एक पूर्वमहाप्रबन्धक बताउँछन्।

विगतमा भएको टेन्डरमा पनि इन्जिन मर्मतका लागि एमआरओ छनोटका लागिमात्रै टेन्डर भएको थियो। कुनै पनि संस्थाले आफूलाई आर्थिकरूपमा कुनै भार नपर्ने र स्वार्थ नबाझिने गरी इन्जिन मर्मत र भाडामा लिने ठेक्का गर्नुपर्ने ती महाप्रबन्धकले बताए। 

अधिकांश एयरलाइन्स कम्पनीले एउटा कम्पनीसँग इन्जिन मर्मत र अर्को कम्पनीसँग इन्जिन भाडामा लिने ठेक्का सम्झौता गरेका हुन्छन्। केहीले मात्रै एउटै कम्पनीबाट इन्जिन मर्मत तथा भाडामा लिने काम भएको छ तर त्यस्तो काममा आर्थिक चलखेल हुने भन्दै विवाद भइरहेको हुन्छ।

इन्जिन मर्मतमा ढिलाइ गर्नुको एकमात्रै उद्देश्य भाडामा प्रयोग भएको इन्जिनको समय लम्ब्याउने र रकम असुली गर्ने हो। इन्जिन मर्मतमा पनि रकम आउने र भाडाबाट पनि रकम आउने हुँदा इन्जिन मर्मत र भाडाको ठेक्का एउटै कम्पनीलाई दिन नहुने अर्का पूर्वमहाप्रबन्धक बताउँछन्।

यसअघि २०२२ को मार्च ५ देखि न्यारोबडी जहाजको इन्जिन भाडामा लिएको र इन्जिन मर्मतको समय लम्ब्याउँदै १७ महिनाभन्दा बढी प्रयोग भएको विषयबाट पनि के प्रष्ट भएको छ भने नेपाल एयरलाइन्समा इन्जिन मर्मत र भाडामा लिने खेलमा अर्बौँ घौटाला छ।

एउटै कम्पनीबाट इन्जिन मर्मत र भाडामा लिने ठेक्का हुँदा सामान्य बिग्रिएको इन्जिन दुई महिनाभित्रै बन्ने अवस्थामा पनि समय लम्ब्याउँदै भाडाको रकम लिइरहने खेल हुने निगमका कर्मचारीहरू नै बताउँछन्। 

एउटै कम्पनीलाई दिँदा जहाजको इन्जिनमा देखिएको समस्या जाँचमा पनि अनावश्यक जाँचहरू गराउँदै खर्च बढाउने खेल हुने निगम स्रोतको दाबी छ। पछिल्लो समय मात्रै निगमले एमटीयूको इन्जिन भाडामा लिएर २०२२ को मार्च ५ देखि २०२३ को अगस्ट ३२ सम्म प्रयोग गर्दा ३६ करोड रूपैयाँ खर्च गरेको थियो। 

संस्थाको हितमा काम गर्ने हो भने इन्जिन मर्मत र इन्जिन भाडामा लिने ठेक्का अलग-अलग गरी कम्पनी पनि फरक-फरक बनाउनु पर्ने पूर्वमहाप्रबन्धकहरूको भनाइ छ। 

अन्नपूर्ण ग्राउन्डेड हुने निश्चित

नेतृत्वविहीन रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्दै आएको वाइडबडी जहाज ग्राउन्डेड हुने निश्चित भएको हो।

अन्तिम समयमा आएर बल्ल इन्जिन मर्मत तथा भाडामा लिने कम्पनी छनोटका लागि टेन्डर भएको छ। टेन्डर सूचना भएकै आधारमा दुईवटामध्ये एउटा अन्नपूर्ण नाम दिइएको कलसाइन 'नाइन एन एएलवाई' जहाज ग्राउन्डेड हुने निश्चित भएको छ। यसले उडान गर्न पाउने साइकल ३ सय छ भने कलसाइन 'नाइन एन एएलजेड'को ७ सय ४५ साइकलमात्रै बाँकी छ।

अब सरासर प्रक्रिया अगाडि बढेर कम्पनी छनोट भएको अवस्थामा पनि तीन महिनाभन्दा बढी समय लाग्छ। जहाज नियमितरूपमा उडान भइरहने हो भने त्यो बेलासम्मका लागि उडान साइकल बाँकी रहँदैन। एक साइकलमा एउटा ल्यान्डिङ र एउटा टेकअफ पर्छ।

यस्तोमा एउटा वाइडबडी जहाज एकदिन ग्राउन्डेड हुँदा १ करोड ५० लाख रुपैयाँ निगमले आम्दानी गुमाउने छ। 


प्रकाशित : बुधबार, चैत २५ २०८२१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend