शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अर्थमन्त्रीलाई नाइमाले भन्यो - अटोमोबाइललाई विलासिता होइन आवश्यकताको मान्यता दिनुपर्छ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २५ २०८२
अर्थमन्त्रीलाई नाइमाले भन्यो - अटोमोबाइललाई विलासिता होइन आवश्यकताको मान्यता दिनुपर्छ

अर्थमन्त्री स्वर्णिम वाग्लेले नाइमाद्वारा प्रस्तुत सुझाव अत्यन्त सान्दर्भिक रहेको बताउँदै आयातकर्ता तथा उत्पादकका एकीकृत मुद्दा समेटेर प्रस्तुत गरेकोमा नाइमाको प्रशंसा गरे।

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितुसिंह वैद्य नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिमसँग भेटवार्ता गरेको छ। भेटमा प्रतिनिधिमण्डलले अर्थमन्त्री वाग्लेलाई बधाई दिँदै अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विस्तृत नीतिगत एवं प्रणालीगत सुधारसम्बन्धी सुझाव प्रस्तुत गरेको छ।

भेटमा नाइमाले स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रलाई विलासिता नभइ आवश्यकताको रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ।

साथै समग्र कर भार घटाउने, कर संरचनालाई सरल र सन्तुलित बनाउने तथा सवारीसाधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत डाउन पेमेन्ट रहने हायर पर्चेज व्यवस्था कायम गरी वित्तीय पहुँच सहज बनाउनुपर्ने माग राखिएको छ।

नाइमाले भन्सार जाँचपास सम्पन्न भइसकेपछि पनि लेखापरीक्षण तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक अनिश्चितता सिर्जना गरिरहेको उल्लेख गर्दै स्पष्ट, एकरूप र पारदर्शी प्रणाली आवश्यक रहेको बताएको छ। नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण पूर्वाधार विकास, यातायात ऐनको पुनरवलोकन, डिजिटल प्रणाली एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रण, ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन तथा दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने विषय पनि उठाएको छ।

विद्युतीय सवारीसाधनका लागि स्पष्ट, स्थिर र प्रोत्साहनमुखी नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। त्यसैगरी, हाइब्रिड सवारी साधनहरूको उचित वर्गीकरण गरी तिनको प्रविधिगत विशेषताअनुसार सन्तुलित र न्यायोचित नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले नाइमाद्वारा प्रस्तुत सुझाव अत्यन्त सान्दर्भिक रहेको बताउँदै आयातकर्ता तथा उत्पादकका एकीकृत मुद्दा समेटेर प्रस्तुत गरेकोमा नाइमाको प्रशंसा गरे। साथै मन्त्रालय र नाइमाबीच निरन्तर संवादको आवश्यकता रहेको उल्लेख गरे।

उनले निजी क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारस्तम्भ भएको औँल्याउँदै सरकार निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सकारात्मक रहेको र समग्र कर प्रणालीलाई थप सन्तुलित तथा व्यावहारिक बनाउने दिशामा कार्य भइरहेको जानकारी दिए। प्रस्तुत सुझावलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा यथासम्भव समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालसँग पनि भेट गरेको छ। भेटमा मोबिलिटी र अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल भएको छ। मन्त्री लम्सालले नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकले राष्ट्रिय राजस्व, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधिमा पुर्‍याउँदै आएको योगदानप्रति धन्यवाद व्यक्त गरे।

साथै आयातकर्ता तथा उत्पादकहरूले तिर्ने कर राजस्वको निश्चित प्रतिशत सम्बन्धित क्षेत्रको विकासमा पुनः लगानी गर्ने नीतिगत व्यवस्था गर्ने विषयमा सरकारले सकारात्मक पहल गरिरहेको जानकारी दिए। नाइमा द्वारा प्रस्तुत कार्यान्वयनयोग्य सुझावहरूलाई बिना ढिलाइ कार्यान्वयनतर्फ अघि बढाइने विषयमा उहाँले आश्वस्त पारे।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकको एकीकृत प्रतिनिधित्व गर्ने संस्था हो जसले नीति सुधार, उद्योग प्रवर्द्धन तथा दिगो गतिशीलताको क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ। यस संस्थामा आबद्ध सदस्यहरूले राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै ठूलो मात्रामा रोजगारी सिर्जना गरेका छन् र आधुनिक, सुरक्षित तथा दिगो यातायात प्रणाली विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।


प्रकाशित : बुधबार, चैत २५ २०८२१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend