काठमाडौं- नेपाल राष्ट्र बैंकले मुलुकको सूचना प्रविधि (आईटी) क्षेत्रलाई थप प्रतिस्पर्धी र सुदृढ बनाउन वैदेशिक मुद्रा भुक्तानीसम्बन्धी सीमा बढाएको छ।
विदेशी विनिमय व्यवस्थापन विभागमार्फत जारी एकीकृत परिपत्र-२०८१ संशोधन गर्दै केन्द्रीय बैंकले सफ्टवेयर खरिद, क्लाउड सेवा तथा अनलाइन उपकरणहरूको खर्चमा लचकता ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार बैंकहरूले अब सफ्टवेयर वा आईटीसम्बन्धी सेवा खरिदका लागि प्रतिवर्ष अधिकतम ३ हजार अमेरिकी डलरसम्मको ‘प्रिपेड कार्ड’ जारी गर्न सक्नेछन्। यसअघि सीमा न्यून हुँदा अन्तर्राष्ट्रिय सफ्टवेयर, लाइसेन्स तथा डिजिटल उपकरण खरिदमा कम्पनीहरूले कठिनाइ भोग्दै आएका थिए।
राष्ट्र बैंकले डलर आम्दानी गर्ने आईटी कम्पनीलाई थप सुविधा दिएको छ। विदेशमा सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने कम्पनीका लागि प्रिपेड कार्डको सीमा बढाएर वार्षिक ५ हजार अमेरिकी डलर पुर्याइएको छ। यसले सेवा निर्यात विस्तार गर्दै विदेशी मुद्रा आम्दानी बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, अनलाइनमार्फत वैदेशिक मुद्रा आर्जन गर्ने व्यक्तिगत फ्रिल्यान्सर तथा डिजिटल उद्यमीहरूले आफ्नो पेशासँग सम्बन्धित सफ्टवेयर, एप्लिकेसन तथा अन्य डिजिटल सेवा खरिद गर्न अब वार्षिक २५ हजार अमेरिकी डलरसम्म बैंकिङ उपकरणमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
नयाँ प्रावधानले अन्तर्राष्ट्रिय प्लेटफर्ममा आबद्ध नेपालीहरूलाई आवश्यक व्यावसायिक उपकरण खरिद गर्न सहज बनाउने तथा विशेषगरी सफ्टवेयर विकास कम्पनी, फ्रिल्यान्सर र डिजिटल सेवा निर्यातमा संलग्न युवाहरूलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।