शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २३ २०८२
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

धौलागिरि आरोहण अनुमतिबापत ७५ लाख ६४ हजार ६५० रुपैयाँ र अन्नपूर्णको आरोहण अनुमतिबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी प्राप्त भएको विभागकी शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिइन्।

म्याग्दी- चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका-४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका-४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरूले अनुमति लिएका हुन्।

धौलागिरि आरोहणका लागि दुई समूहका ८ महिलासहित १७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका ८ महिलासहित २७ जनाले अनुमति लिएका छन्।

धौलागिरि आरोहण अनुमतिबापत ७५ लाख ६४ हजार ६५० रुपैयाँ र अन्नपूर्णको आरोहण अनुमतिबाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ रोयल्टी प्राप्त भएको विभागकी शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिइन्।

उनका अनुसार वसन्तयाममा अन्नपूर्ण धौलागिरिसहित हालसम्म १२ हिमाल आरोहण गर्न २४ समूहका १७० जनाले अनुमति लिँदा १० करोड ८७ लाख ३० हजार रुपैयाँ रोयल्टी संकलन भएको छ। दैनिकजसो आरोहण अनुमति लिनेहरुको संख्या थपिँदै गएको छ।

गत शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको अनुमति कसैले पनि लिएका थिएनन्।

गत वर्षको वसन्त याममा धौलागिरि आरोहण गर्न दुई समूहका १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए। अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविरमा आरोहीको टोली पुगेर आरोहणको तयारी थालेको छ। रासस


प्रकाशित : सोमबार, चैत २३ २०८२१८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend