शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

'आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिने सरकारी बिदा महत्त्वपूर्ण अवसर हो, व्यवसायीले प्याकेज ल्याउनुपर्छ'

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २३ २०८२
'आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दुई दिने सरकारी बिदा महत्त्वपूर्ण अवसर हो, व्यवसायीले प्याकेज ल्याउनुपर्छ'

हालको निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए।

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयललाई लक्ष्य गरेर व्यवसायीहरूले प्याकेजहरू ल्याउनुपर्ने बताएका छन्। दुई दिने सरकारी बिदा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ।

उनका अनुसार विगतदेखि नै पर्यटन प्रवर्द्धनका लागि दुई दिन बिदा दिन प्रस्ताव गरिएको थियो तर त्यो लागू हुन सकेको थिएन। हालको निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले बताए।

नेपालमा पर्यटन पूर्वाधार र हस्पिटालिटी उद्योगमा ठूलो लगानी भइसकेको अवस्थामा यो अतिरिक्त बिदाले ती क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउने उनले बताए। आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षण हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना बढ्ने र यसले दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन आधार तयार गर्ने उनको भनाइ छ।

'सरकारले दिएको दुई दिने बिदालाई सकारात्मक रूपमा लिनुपर्छ। विगतमा यस्ता अभियान चलाउन पटक-पटक सरकारलाई अनुरोध गर्दै आएका थियौँ। यसले  आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा दिन्छ,' जोशीले भने।

अहिलेका शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा अनुभव अरूसँग साझा गर्न सक्ने यसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्‍याउने उनले बताए। साथै कर्मचारीले परिवारलाई समय दिन नपाउँदा र सामान्य घरेलु कामसमेत गर्न नसक्दा कार्यक्षमतामा असर पर्ने अवस्था अब सुधार हुने उनको अपेक्षा छ। कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने उनले बताए।

पर्यटन व्यवसायीहरूलाई लक्ष्य गर्दै उनले सरकारी बिदालाई केन्द्रमा राखेर आकर्षक प्याकेज ल्याए नेपाल पर्यटन बोर्डले सहयोग गर्ने  बताए। सेवा गुणस्तर, आतिथ्यता र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै बोर्डले यससम्बन्धी जनचेतनामूलक भिडियोहरू निर्माण गरिरहेको पनि उनले जानकारी दिए।

'नयाँ वर्ष आसपास, बच्चाबच्चीको बिदा हुँदा र चाडपर्वमा नेपालीहरू घुमफिर गर्ने गरेकोमा अहिले सरकारले दिएको दुई दिन बिदामा समेत घुमफिर गर्न सक्ने अवस्था बनेको छ,' जोशीले भने, 'सरकारी बिदालाई लक्ष्य गरेर व्यवसायीहरूलाई प्याकेजहरू ल्याउन हामी अनुरोध गर्दछौँ। ती क्याम्पेनहरू पर्यटन बोर्डले प्रवर्द्धन गर्छ। पर्यटन सेवामुखी व्यवसाय हो, पर्यटकको संख्या बढ्दै गर्दा सेवा गुणस्तरीय भएन भने त्यसले नकारात्मक असर पार्छ।' न्युज एजेन्सी नेपाल


प्रकाशित : सोमबार, चैत २३ २०८२१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend