काठमाडौं- प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध भएका छन्। सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा भने अब बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ।
अर्याल यसअघि २०७९ मंसिरमा भएको निर्वाचनमा रास्वपाबाट समानुपातिक सांसद थिए। निर्वाचनपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने। पहिलो पटक २२ दिन मन्त्री बनेका उनी फेरि २०८० फागुनदेखि २०८१ असारसम्म दोस्रो पटक श्रममन्त्री बनेका थिए। अहिले उनी काठमाडौ क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्।
धादिङ साबिकको मैदी गाविस र हाल ज्वालामुखी गाउँपालिकामा अर्याल २०३२ सालमा जन्मिएका हुन्। २०४९ सालमा रोजगारीको शिलशिलामा काठमाडौं प्रवेश गरेका अर्याल रेस्टुरेन्टमा सामान्य कर्मचारीका रुपमा काम गर्दै अघि बढेका हुन्। वैदेशिक रोजगारीकै शिलशिलामा २०५३ सालमा जापान गएका उनले आठ वर्षभन्दा बढी समय उतै काम गरे। जापानबाट फर्किएपछि पर्यटन, शिक्षा, वैदेशिक अध्ययन कन्सल्टेन्सी, सहकारी र रेमिटेन्स क्षेत्रमा सक्रिय भए।
इजिलिंक रेमिटेन्सका साथै स्वयम्भू स्टार ब्याङक्वेट, एपीए ह्याण्डीक्राफ्टस, सुमिरे टुर्स एन्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कुल र जनसागर बचत तथा ऋण सहकारी संस्थामा लगानी गर्दै निर्देशक तथा सीईओको भूमिकामा रहेका अर्यालले सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नजिक रहेर काम गरिरहेका छन्। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य तथा उपसभापति हुन्।
२०७९ असारमा रवि लामिछानेको नेतृत्वका रास्वपा घोषणा भएको थियो। सोही क्रममा लामिछाने र अर्याल सँगै थिए। अर्याल र लामिछानेको सम्बन्ध विस्तारको सुरुवात भने इजिलिंक रेमिट्यान्स कम्पनीबाट सुरु भएको थियो। अर्यालले लामिछानेलाई २०७५ मा इजिलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डर नियुक्त गरेका थिए। लामिछानेलाई ब्रान्ड एम्बास्डर नियुक्ति गर्दा अर्याल रेमिट्यान्स कम्पनीका सीईओ थिए। लामिछानेको नेतृत्वमा कालिकोटमा बनाइएको रासकोट अस्पतालमा समेत अर्यालले सहयोग गरेका थिए।
गएको २५ वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ पर्यटन, शिक्षा र वित्तीय क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै उनले रोजगारी सिर्जनामार्फत युवाहरूलाई देशमै अवसर दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
पछिल्लो समय राजनीतिक रुपमा सुझबुझपूर्ण ढंगले अघि बढिरहेका नेताका रुपमा अर्यालले आफ्नो परिचय स्थापित गरेका छन्। गएको निर्वाचनमा रास्वपालाई बहुमत दिलाउन 'राजनीतिक मेलमिलाप'मा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।