काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि सुविधासम्पन्न भवन निर्माण गरिने भएको छ।
काठमाडौं महानगरपालिका-२८ रामशाहपथमा १२ तले भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागि भन्दै वन तथा वातावरण मन्त्रालय वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।
रामशाह पथमा रहेको भवन पुरानो हुनुका साथै २०७२ को भूकम्पले जिर्ण भएको र जेनजी आन्दोलनको क्रममा भवन नै प्रयोग गर्न नमिल्ले गरी क्षति भएपछि नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको उल्लेख छ।
पार्किङका लागि छुट्याइएको तल्लो बेसमेन्ट र माथिल्लो बेसमेन्टबाहेक भवन १२ तलाको हुने छ। भवन निर्माणमा ३ अर्ब ४ करोड १८ लाख ११ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रस्तावित भवन भूकम्प प्रतिरोधात्मक हुनेछ भने कार्यालयको लागि आवश्यक पर्ने रिसेप्सन, कुरुवास्थल, ट्राफिक प्रहरी गुल्म कार्यालय, ड्रेसिङ कक्ष, सञ्चार ब्यारेक, पुरुष र महिला ब्यारेक, तालिम-मिटिङ-सचेतना हल, मिडिया रुम, प्रबन्ध तथा भण्डारण कक्ष, सीसीटीभी शाखा, मेट्रो ट्राफिक एफएम कार्यालय र स्टुडियो, कर्मचारी क्वाटर, आगन्तुक क्वार्टर, डाइनिङ हल, शौचालयलगायतका सुविधाहरु रहने छन्।
भवन सेवाग्राही, सर्वसाधारण र लैङ्गिकमैत्री तथा अपाङ्गमैत्री पूर्वाधारसहितको हुने जनाइएको छ। आयोजनामार्फत निर्माण हुने भवनलगायत अन्य संरचनाहरु सम्बन्धित निकायबाट (काठमाडौं महानगरपालिका, नगर कार्यापालिकाको कार्यालय) भवन निर्माणको लागि नक्सा स्वीकृत भएपश्चात मात्रै निर्माण गरिने रिपोर्टमा उल्लेख छ।