काडमाडौं- कालीगण्डकी जलाशययुक्त आयोजनाको लागत घट्ने प्रक्षेपण भएको छ। ६ सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको लागत १ खर्ब २० अर्ब रुपैयाँले घट्ने प्रक्षेपणसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।
आयोजनाको लागत सुरुमा ३ खर्ब ४५ अर्ब रुपैयाँ प्रक्षेपण भएको थियो तर ड्यामको उचाइ घटाइएको र आयोजनाको क्षमताका घटेका कारण लागत घट्ने प्रक्षेपण छ। रिपोर्टमा आयोजनाको लागत २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
आयोजना बागलुङ, पर्वत, स्याङजा र गुल्मी जिल्लामा पर्ने छ। प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभान क्षेत्र (सेतीवेनी) बाट करिब १० किलोमिटर माथिल्लो तटीय क्षेत्र उलेंनी, खंगकोट कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ र गुल्मीको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर पर्वत क्षेत्रमा पर्दछ।
बाँध क्षेत्रबाट आयोजनाको जलाधार क्षेत्र करिब ६ हजार ८ सय २८.३७ वर्ग किलोमिटर रहेको छ।
आयोजनाको प्रस्तावक विद्युत विकास विभाग हो। आयोजनामा २ सय ४४ मिटर अग्लो बाँध निर्माण हुने छ। चार वटा स्टिल पेनस्टक, विद्युतगृह, चार वटा फ्रान्सिस टर्बाइन निर्माणको प्रस्ताव गरिएको छ।