शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विगतमा राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न रवि लामिछानेको आग्रह

बिहीबार , चैत १९ २०८२
विगतमा राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न रवि लामिछानेको आग्रह

रवि लामिछानेले विगतका सरकारद्वारा नियुक्त गरिएका सबै तह र तप्काका व्यक्तिहरूलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले विगतका सरकारद्वारा नियुक्त सबै व्यक्तिहरूलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै उनले देशको प्रशासनिक संरचनालाई सहज बनाउन पुराना व्यक्तिहरूले मार्ग खाली गर्नुपर्ने बताएका हुन्। उनले नयाँ जनादेशअनुसार प्रणालीमा रूपान्तरण आवश्यक रहेको उल्लेख गरे।

‘हामीलाई यो जनादेश सिंहदरबार चलाउन होइन, बदल्न दिइएको हो। हामीले बदल्न सुरु गरिसकेका छौँ’ उनले भने।

'हामी प्रश्न गरेर यो ठाउँमा आएका हौँ। हामीले बोलेर होइन कामबाट आफूलाई प्रमाणित गर्नुपर्छ। हामी विगतका कमजोरीबाट पाठ सिक्नेछौँ' सभापति लामिछानेले भने, 'यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन। प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको बेग पनि रोकिनेछैन। रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणि गर्नुपर्नेछ।'

लामिछानेले आफ्नो पार्टीलाई जनताले केवल सरकार सञ्चालनका लागि नभइ संरचनात्मक परिवर्तनका लागि जिम्मेवारी दिएको दाबी गरे। सोहीअनुसार पुरानो प्रणालीलाई प्रतिस्थापन गर्दै नयाँ ढाँचामा अघि बढ्ने संकेत उनले दिएका छन्।

त्यस्तै उनले जनताप्रति आभार व्यक्त गरेरमात्र नबस्ने स्पष्ट पार्दै मतादेशको सम्मान गर्दै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ। यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु, यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौँ,’ उनले भने।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend