शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

१ करोड रुपैयाँ लगानी गरेर भेडाबाख्रा पालनमा जमेका हिमबहादुर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
१ करोड रुपैयाँ लगानी गरेर भेडाबाख्रा पालनमा जमेका हिमबहादुर

सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जंगल पसेका छन्।

म्याग्दी- रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुपर्ने बाध्यता थिएन।

सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जंगल पसेका छन्।
 
'यूएईमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,' उनले भने, 'आफ्नो जन्मिएको ठाउँमा पनि केही गरौँ। कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर व्यावसायिक भेडाबाख्रा पालेको हो।'

हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पुँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेडाबाख्रा फार्म’ सञ्चालन गरेका छन्। उनका परिवार र आफन्त पोखरामा बसोबास गर्नुहुन्छ। उनी भने ६ सय भेडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गरेका छन्।

'असोजमा बेसी झारेको भेडागोठ हिउँदभरि मल्कवाङको फेदी खालीखोलामा राखे,' उनले भने, 'वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन-भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पुर्‍याउछौँ।' सहरबजारको कोलाहल, प्रदूषण र तनाव भन्दा भेडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाए।

एक वर्षमा तीन सयको हाराहारीमा भेडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिएका छन्। करिब १ करोड रुपैयाँ लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक ३० लाख रुपैयाँदेखि ४० लाख रुपैयाँको भेडाबाख्रा बिक्री हुने बताए।

मासु र पूजाआजाका लागि गोठबाटै भेडाबाख्राको खसीबोका बिक्री हुन्छन्। उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिमबहादुरको अनुभव छ। भेडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताए।
 
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीकाविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ। घुम्ती गोठमा भेडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँचवटा कुकुर पालेका छन्। खाद्यान्न ढुवानी गर्न दुईवटा घोडा पनि सँगै पालेका छन्। चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेडापालनमा चुनौती बनेको हिमबहादुरले बताए। रासस


प्रकाशित : बिहीबार , चैत १९ २०८२१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend