शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कहाँ बिग्रियो केराको चक्र? किसानलाई ५०, कालीमाटीमा २२०, उपभोक्तालाई ३०० रुपैयाँसम्म

एउटा विध्वंशक 'ढुसी'ले नेपाली किसानलाई थपेको अवसर

बिहीबार , चैत १९ २०८२
कहाँ बिग्रियो केराको चक्र? किसानलाई ५०, कालीमाटीमा २२०, उपभोक्तालाई ३०० रुपैयाँसम्म

‘टीआर फोर’को जोखिम रहेको भन्दै भारतबाट हुने केरा आयातमा कडाइ गरेपछि स्वदेशी उत्पादनले पहिलेभन्दा राम्रो मूल्य पाएका छन्। तर बजार मूल्य र किसानले पाउने मूल्यबीच सन्तुलन छैन।

काठमाडौं- किसानले एक दर्जन केराको ५० रुपैयाँ पाइरहेका छन्। कालीमाटी फलफूल तथा तरकारी बजारमा केराको थोक मूल्य प्रतिदर्जन २२० रुपैयाँ छ। बजारमा उपभोक्ता एक दर्जन केराको २६० देखि ३०० रुपैयाँसम्म तिर्न बाध्य छन्। कहाँ बिग्रियो त केराको चक्र?

बजारमा अहिले देखिएको केराको अभाव र मूल्यको चक्रमा धेरै विषय जोडिएको देखिएको छ। किसानले पहिलेभन्दा बढी मूल्य पाइरहेको भए पनि उपभोक्ताले तिरेको मूल्यअनुसारको रकम किसानसम्म पुग्न सकेको छैन। 

नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरी पन्त चितवनका किसानले अहिले राम्रा कोसा केराको प्रतिदर्जन ५० रुपैयाँ र माल्बु केराको प्रतिदर्जन ७५ रुपैयाँ पाइरहेको बताउँछन्। 

'जैविक सुरक्षाका कारण अहिले आयात रोकिएको अवस्था हो। नेपालमा केराखेती बचाउनका लागि नै त्यसो गरिएको हो' उनी भन्छन्, 'हामीले दसैँ तिहारमा एक रुपैयाँमा पनि केरा बेचेको हो। कति त नबिकेर कुहिएको थियो। अहिले नेपाली किसानले मूल्य पाएका छन्।'

असारसम्म केराको मूल्य पहिले पनि सस्तो नहुने बताउँदै उनी भन्छन्, 'बजारमा तीन सय रुपैयाँसम्ममा बेचेको छ भने कहाँ कसले नाफा बढी लिएको हो राज्यले हेरोस्। अवैधरुपमा आएका कुराहरू राज्यले नियन्त्रण गर्नुपर्छ।'

बल्खुस्थित फलफूल तथा तरकारी बजारका थोक फलफूल बिक्रेता हरि तिवारीका अनुसार बजारमा मागअनुसार केरा आपूर्ति हुन नसक्दा मूल्य निरन्तर बढिरहेको छ। 'अहिले बजारमा केरा पाउनै मुस्किलजस्तै भएको छ,' उनले भने, 'डिमान्ड धेरै छ तर सप्लाई त्यसअनुसार छैन।'

तिवारीका अनुसार अहिले नेपाली उत्पादनले मात्रै बजार धान्न नसक्ने अवस्था छ। विगतमा भारतबाट आयात हुने केराले आपूर्ति सन्तुलनमा सहयोग गरे पनि हाल भारतबाट आयात अवरुद्ध भएपछि समस्या चर्किएको उनले बताए।

भारतबाट अवैधरूपमा केरा भित्रिने क्रम अहिले पनि नरोकिएको व्यवसायीहरू नै बताउँछन्। प्रभावकारी नियमन नहुँदा कालोबजारी बढेको तिवारीसमेत बताउँछन्। 'अवैध बाटोबाट केरा आइरहेको छ तर त्यसको निगरानी छैन,' तिवारीले भने, 'त्यही अवैध केरा पनि उच्च मूल्यमा बिक्री हुँदा बजार मूल्य अस्वाभाविक रूपमा बढेको हो।'

अहिले चितवनको केरा सुपरजोन क्षेत्रमा १८ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। जहाँ प्रतिहेक्टर ४५ मेट्रिकटन उत्पादन हुने गर्दछ। अहिलेको अवस्थामा किसानहरूले केराखेतीको क्षेत्रफल बढाउनेगरी विभिन्न कामसमेत गरिरहेका छन्। 

भन्सार विभागको तथ्यांकअनुसार गएको साउन महिनामा ४९ लाख ७२ हजार ५ सय ५२ किलो केरा आयात भएको थियो। भदौमा ५८ लाख ७५ हजार ३ सय १९ किलो, असोजमा ५१ लाख ९८ हजार ४० किलो, कात्तिकमा २९ लाख ४७ हजार २ सय ५५ किलो, मंसिरमा ४ लाख ३७ हजार ३ सय ६९ किलो, पुसमा ४ सय ६० किलो, माघमा २ हजार ६ सय ८ किलो र फागुनमा ५ हजार ७ सय किलो केरा आयात भएको थियो।

'आयातित केरामा विध्वंशक ढुसी?'

भारतबाट हुने केरा आयात रोकेर नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न किसानले पटक-पटक गरिरहेको मागअनुसार अहिले आयात रोकिएको भने होइन। प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका वरिष्ठ प्लान्ट अफिसर रोशन अधिकारीका अनुसार टीआर फोर भन्ने ढुसीका कारण नै अहिले समस्या आएकोले आयात रोकिएको हो। 

'अन्तर्राष्ट्रियरूपमा नै यस्तो रोगहरू फैलने अवस्था हुँदा आयात रोकिन्छ, रोकिएन भने यसले ठूलो विनाश गर्छ' उनले भने। 

'कैलालीतिर २०८० सालमा यसको संक्रमण भएको थियो। त्यसपछि विभिन्न काम गरेर हामीले त्यसलाई नियन्त्रण गरेका थियौँ। अहिले सानो-सानो क्षेत्रमा त्यस्तो ढुसी देखिएको छ। अहिले खुला रुपमा छाड्यौँ भने भयावह हुनसक्छ भनेर हामीले आयात रोकेको हो' अधिकारीले सुनाए। 

टीआर फोर नामक ढुसीको स्रोत के हुनसक्छ भनेर खोजी गरिरहेको अधिकारी बताउँछन्। 'हामीले काम सुरु गरेर गएको असोज २ गतेयता आयात रोक्न भनेका हौँ। नेपाल सरकारका विभिन्न निकायको आफ्नो-आफ्नो काम गरेमा त्यो ढुसी फैलनबाट रोक्न सकिन्छ भन्ने हो। हामीले आफ्नो क्षेत्राधिकारभित्र रहेर नै काम गर्ने हो। अवैध आयातहरुका विषय हेर्ने निकायहरू पनि छन्' उनले भने।  

अहिले नेपाली किसानले उत्पादन बढाउने र राम्रो बजार पाउने अवसर पाएकोरूपमा पनि अहिलेको अवस्थालाई हेर्नुपर्ने अधिकारीको राय छ। 'भोलि हाम्रै उत्पादन मनग्य बनाउन पनि सकिएला नि त' उनले सुनाए। 

किसानलाई अवसर?

भारतबाट वैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको बताउँदै केरा उत्पादकहरूले पटक-पटक त्यस्तो आयात रोक्नुपर्ने माग गर्दै आइरहेका थिए। बजारको माग धान्न सकिने अवस्थामा पनि नेपाली किसानले मूल्य नपाउँदा केराखेतीबाट नै विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरूको तर्क थियो। अहिले भने जे कारणले आयात रोकिएको भए पनि नेपाली केराले बजार पाएकोमा किसान खुसी छन्। 

अहिलेको अवस्थामा नै अब आउने एक वर्षमा नेपाललाई पुग्ने केरा नेपालकै किसानले उत्पादन गर्नेगरी काम भइरहेको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष पन्त बताउँछन्।

'अहिले किसानहरू पुन: केरा खेतीमा नै लागेका छन्। नेपालभर बेर्ना उत्पादन बढेको छ। गोरखा, धादिङका पहाडमा पनि केराखेती गर्नेहरूले सम्पर्क गरेर सोधपुछ गरिरहेका छन्। अहिले अन्य किसानहरू पनि खेतीको क्षेत्र बढाउँदै छन्' उनले भने। 

पन्तले भनेजस्तो बजारमा अहिले नेपाली केराको मात्र बजार भने होइन। व्यवसायीहरूले नै अहिले पनि भारतबाट अवैधरूपमा केरा आयात भएको स्वीकारिरहेका छन्। यस्तोमा 'टीआर फोर' नियन्त्रणमा नै समस्या हुनसक्ने जोखिम पनि छँदै छ। 

एकातर्फ किसानले पहिलेभन्दा राम्रो मूल्य पाएर खुसी व्यक्त गरिरहँदा अर्कोतर्फ उपभोक्ता भने चर्को मारमा परिरहेको गुनासो गर्छन्। किसानको उत्पादन र बजारसम्मको यो चक्रमा सरकारले थप निगरानी गर्नुपर्ने देखिन्छ। नत्र कसरी किसानलाई एक दर्जन केराको ५०, कालीमाटीमा २२० र बजारमा ३०० रुपैयाँसम्म पर्छ?


प्रकाशित : बिहीबार , चैत १९ २०८२०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend