काठमाडौं- सरकारबाट स्वीकृति प्राप्त वा सरकारको स्वामित्वमा रहेको जुनसुकै स्वास्थ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला हुने भएको छ।
'वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम सूचीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ' श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत भनेको छ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) मा 'वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्नेछ' र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ कको उपनियम (९) मा 'नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउन यस नियममा भएको व्यवस्थाले बाधा पुगेको मानिने छैन' भन्ने व्यवस्था रहेकोले त्यसअनुसार गरिएको जनाइएको छ।
मंगलबार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्रीस्तरबाट यस्तो निर्णय गरिएको हो।
वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्वास्थ्य परीक्षण अनिवार्य छ। जुन परीक्षण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत र मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूबाट मात्र गर्नुपर्छ।