शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकको आकर्षण बढ्दै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १७ २०८२
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकको आकर्षण बढ्दै

पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ। यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ।

भोजपुर- भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बांगोटिंगो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षण गर्ने गर्दछ।

भोजपुर नगरपालिका-१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो छ। उकालो-ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन्।

पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ। यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ। यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो।

माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्यासमेत बढेको स्थानीयको भनाइ छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ। बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन्।

स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता ल्याएको छ। आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ। साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार-व्यवसाय पनि विस्तार हुन थालेको छ।

सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ। आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर-बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरुले बताउने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, चैत १७ २०८२११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend