काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको करिब सात वर्षपछि आगामी आर्थिक वर्षको साउनदेखि पूर्ण सञ्चालनमा आउने भएको छ।
सुरुङमार्ग आयोजना समितिले नेपाली निर्माण कम्पनीसहितको संयुक्त उपक्रम (जेभी) चोङछिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्सन लाई सेवा प्रदायकको रूपमा छनोट गरेको छ। सो कम्पनीले ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख रुपैयाँमा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मा पाउनेछ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार, सम्झौतापछि तीन महिनाभित्र सुरुङमार्ग औपचारिक रूपमा परीक्षण सञ्चालनमा ल्याइनेछ। परीक्षण वैशाख अन्त्यसम्म चल्नेछ भने साउनको पहिलो सातादेखि नियमित सवारीसाधन सञ्चालन सुरु हुने लक्ष्य राखिएको छ।
निर्माण सुरु भएको २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी, स्थानीय अवरोध र डिजाइन परिवर्तनका कारण काम पटक-पटक प्रभावित भएको थियो। मुख्य सुरुङ २०८१ वैशाख ३ गते छिचोलिएको भए पनि अझै पूर्ण सञ्चालनमा आउन सकेको छैन।
यसअघि फ्लाइओभर र्याम्प क्षेत्र र पश्चिम पोर्टलमा पहिरो नियन्त्रणका काम बाँकी रहेको छ। अस्थायी रूपमा पैदल क्रसिङको व्यवस्था गरिने र दीर्घकालीन समाधानका रूपमा आकाशे पुल निर्माण गरिने योजना अघि बढाइएको छ।
सुरुङमार्गको टोल दर २०८२ साउनमै तय भइसकेको छ र आरएफआईडी आधारित टोल संकलन प्रणाली जडानको काम पनि सुरु भइसकेको छ। निर्माण कम्पनीबाट आयोजना हस्तान्तरण, सेवा प्रदायकको टेकओभर र आवश्यक तालिम कार्य वैशाखदेखि असारसम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।