काठमाडौं- पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठूलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतंक देखिएको छ। बाँदरले बाली नष्ट गर्दा कृषकहरु अत्यन्त चिन्तित भएका छन्।
किसानले खेती लगाउने बेलामा उन्नत बीउवीजन, मल खाद्य सिँचाइ र कृषि श्रमिकको अभाव वर्षेपिच्छे व्यहोर्दै आएका छन्। बल्लतल्ल खेती लगायो हावाहुरी, बाढीपहिरो, अतिवृष्टि–अनावृष्टिबाट अन्नपात जोगाउनै गाह्रो छ। जब अन्न भित्र्याउने समय आउँछ तब बाँदरको आतंक हुन्छ। त्यसैले एकथरि किसान कृषि पेसा नै छोड्ने मनस्थितिमा छन् भने अर्का थरि कृषकहरु गाउँ छोड्न बाध्य छन्।
बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन्। बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकारसमक्ष माग गर्दै किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित आज प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पूरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए। सो प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्चाउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न किसानले माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कँडेलले सम्बन्धित निकायमा ज्ञापनपत्र पुर्याएर सहयोग गर्ने प्रतिबद्धता जनाए। विसं २०७५ को फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्याउने योजनासहित भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवर शिकारी झिकाएर दर्जनौँ बाँदर समातिएको थियो।
नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानअगावै समातेर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी जटिलता आइपरेको थियो।
नेपालमा बाँदर मार्न कानूनी अड्चन भएकाले उचित व्यवस्थापन गर्न पहल थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन्।
बढ्दो बाँदर आतंकले भोजपुरको मानेभन्ज्याङ र रामप्रसाद गाउँपालिका–५ का कृषक गाउँ छोडेर बसाइँ सरेका छन् भने केहीले खेती नै गर्न छोडेकाले खेतबारी बाझो भएको बताएका छन्। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, बाग्लुङ र पर्वत जिल्लामा बाँदर आतंकले केही गाँउका किसानको पूरै बाली नष्ट पारिदिएको त्यहाँका किसानले विभिन्न गुनासो गरेका छन्।
त्यसैगरी पछिल्लो समय ललितपुर, दोलखा, गोरखा, रामेछाप, मकवानपुर, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, इलाम, धनकुटा भोजपुर, गुल्मी, र अर्घाखाचीमा बाँदर आतंक बढ्दै गएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बाँदर आतंककै कारण कति क्षेत्रफल जमिन बाँझो छ भन्ने यकिन तथ्यांक छैन। तर राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार लामो समयदेखि कृषियोग्य जमिन घटिरहेको छ। विसं २०६८ को कृषि गणनामा २५ लाख २५ हजार ६३९ हेक्टर र त्यसको १० वर्षपछि अर्थात विसं २०७८ को कृषि गणनामा आइपुग्दा झण्डै तीन लाख हेक्टर जमिन घटन गइ २२ लाख १८ हजार ४१० हेक्टर जमिन खेतीयोग्यमा खुम्चिएको उल्लेख छ।
अन्नबाली नै जोगाउन सकिएन भने खाद्य सम्प्रभुता संविधानमा मात्र सीमित हुन बेर लाग्दैन। नेपालको संविधान भाग (३) को धारा ३६ को उपधारा (२) ले प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने तथा उपधारा (३) ले प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भनी उल्लेख गरेको छ।
मकै, कोदो, धान, गहुँलगायत विभिन्न बाली तथा फलफूलहरु लगाएर जीवन गुजारा गर्ने किसानको श्रमलाई सम्मान गर्न सकिएन भने कृषिको स्वनिर्भरतामा धक्का पुग्ने देखिन्छ। भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तको तथ्यांकअनुसार नेपालले झण्डै मासिक रु दुई अर्बभन्दा माथिको खाद्यान्न आयात गर्दै आएको छ।
बिहानदेखि बेलुकासम्म खेतबारीमा काम गरेर लगाएको बाली क्षण भरमा बाँदरले नष्ट गरिदिएपछि किसानलाई रिस उठ्नु स्वाभाविकै हो। तर, कानूनले बाँदर मार्न रोक लगाएको छ। नेपालको वन्यजन्तु संरक्षण ऐन २०७१ ले बाँदरलाई मार्ने वा हानी नोक्सानी गर्नेलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना र ६ महिनादेखि तीन वर्षसम्म कैद हुन सक्ने उल्लेख छ। रासस