काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा नेतृत्व परिवर्तनसँगै आम्दानीमा सुधार देखिन थालेको छ। निगमले चालु आर्थिक वर्षको आठ महिनामा जहाज उडानबाट हुने आम्दानीमा सुधार गरेको छ।
निगमले सार्वजनिक गरेको माघ र फागुनको आकाश भैरव रिपोर्टअनुसार जहाज उडाएर गर्ने आम्दानी बढेको छ। निगमले चालु आर्थिक वर्ष २०८२/०८३ को माघमा १ अर्ब ३१ करोड ५३ लाख ९३ हजार २ सय रुपैयाँ आम्दानी गरेको छ भने फागुनमा १ अर्ब ४६ करोड ४७ लाख ४२ हजार ६ सय ४७ रुपैयाँ आम्दानी गरेको छ।
गत आर्थिक वर्ष २०८१/०८२ को माघमा निगमले जहाज उडाएर १ अर्ब १५ करोड ५१ लाख ४७ हजार ३ सय ४० रुपैयाँ र फागुनमा १ अर्ब ३५ करोड ४१ लाख ११ हजार ९ सय ६६ रुपैयाँ आम्दानी गरेको थियो।
समग्रमा निगमले जहाज उडाएर चालु आवको ८ महिनामा ११ अर्ब १९ करोड ४ लाख ४२ हजार ६ सय ८४ रुपैयाँ आम्दानी गरेको छ। गत आवको सोही अवधिमा निगमले १० अर्ब १० करोड ९४ लाख ३९ हजार ४ सय ८८ रुपैयाँ आम्दानी गरेको थियो। गत आवको तुलनमा चालु आवमा १ अर्ब ९ करोड रुपैयाँ बढी आम्दानी गरेको हो।
युवराज अधिकारी निगम कार्यकारी अध्यक्ष रहँदा लापरबाही र कमिसनतन्त्रका कारण चार वर्षसम्म निरन्तर रुपमा घटिरहेको निगमको आम्दानीमा अहिले उनी बाहिरिएसँगै सुधार देखिएको हो।
२०७८ कात्तिकमा निगम कार्यरकारी अध्यक्षको जिम्मेवारीमा अधिकारीको आगमनसँगै निगमको जहाज उडाएर हुने आम्दानीमा सुधार हुन सकेको थिएन।