बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आठ महिनामै १३ खर्बको आयात 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ७ २०७८
आठ महिनामै १३ खर्बको आयात 

अघिल्लो वर्षको तुलनामा आयातको वृद्धिदर केही घटेपनि मासिक आयात भने फेरि बढ्न थालेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामै विदेशबाट १३ खर्ब ८ अर्ब रुपैयाँ बराबरको माल समान आयात भएको छ। 

भन्सार विभागको तथ्यांक अनुसार यो आयात गत वर्षको यही अवधिको तुलनामा ३८ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा जम्मा ९ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। 

यो वर्षको सुरूदेखि नै आयातमा उच्च वृद्धिदर देखिएको थियो। आयात धेरै बढेका कारणले नेपालमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ। यसरी विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि  नेपाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्ने उपकरण परिचालन गर्न थालेको थियो। 

राष्ट्र बैंकको कदम तथा आन्तरिक बजारमा कर्जाका लागि पर्याप्त तरलता नभएपछि पछिल्ला महिनामा आयातको वृद्धिदरमा केही लगाम लागेको छ। माघसम्म ४२ प्रतिशतको वृद्धिदर भएको आयात फागुनमा आउँदा ३८ प्रतिशतमा सीमित भएको छ। 

अघिल्लो वर्षको तुलनामा आयातको वृद्धिदर केही घटेपनि मासिक आयात भने फेरि बढ्न थालेको छ। 

साउनमा १ खर्ब ५० अर्बको आयात भएर सुरु भएको आर्थिक वर्षको पाँचौं महिना मंसिरमा सबैभन्दा धेरै १ खर्ब ८८ अर्ब रुपैयाँको आयात भएको थियो। पुषमा घटेर १ खर्ब ६० अर्बको आयात भएको थियो भने माघमा त्यसमा पनि धेरै घटेर १ खर्ब ४८ अर्बमा सीमित भएको थियो। नेपाल राष्ट्र बैंकले लिएका नीतिका कारणले गर्दा आयातमा केही लगाम लागेको अनुमान गरिएको थियो। यद्यपि फागुनमा फेरि आयात बढेको छ। फागुनमा १ खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको छ। 

पछिल्लो समय अमेरिकी डलर बलियो भएको तथा अधिकांश वस्तुको मूल्य बढेकाले आयातका लागि नेपालले अझै धेरै रकम भुक्तान गर्नुपर्ने भएकाले आयात रकम अझै बढ्नसक्ने अधिकारीहरूले प्रक्षेपण गरेका छन्। 

साउनदेखि फागुनसम्म १ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। यो गत वर्षको तुलनामा ८२ प्रतिशतले धेरै हो। यो कूल कूल व्यापार ४२ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब पुगेको छ भने व्यापार घाटा ३४ प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब पुगेको छ। 

 


प्रकाशित : सोमबार, चैत ७ २०७८०९:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend