शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

म्याग्दीको मल्कवाङमा पुग्यो केन्द्रीय प्रसारण लाइनको विद्युत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
म्याग्दीको मल्कवाङमा पुग्यो केन्द्रीय प्रसारण लाइनको विद्युत

नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका-६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो।

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको छ। नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका-६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो।

मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभीए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको धवलागिरि गाउँपालिका-५ का वडाध्यक्ष अमर छन्त्यालले बताए।

गत मंसिर महिनामा प्रसारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज भएको थियो। मिटरबक्स जडान र वायरिङ सकिएपछि यसै महिनादेखि घरघरमा केन्द्रीय लाइनको बिजुली बालिएको वडाध्यक्ष छन्त्यालले बताए।

'छन्त्याल र दलित समुदायको बसोबास रहेको मल्कवाङमा पहिलो चरणमा ४३ वटा घर, वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा ४६ वटा मिटर जडान भएर बिजुली बालेका छौँ,' उनले भने, 'होपाखोला टोलमा अर्को चरणमा लाइन विस्तार गरिने विद्युत प्राधिकरणले प्रतिबद्धता जनाएको छ।'

धवलागिरि गाउँपालिका-५ मा पर्ने मलम्पार टोलमा गत असारमा विद्युतीकरण भएको थियो भने भेडिखाल्टामा मल्कवाङबाट विद्युत लगिने भएको छ। यहाँका बासिन्दाले हाल नन्दीबाङ खोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका छन्।

म्याग्दीका १४ स्थानका दुई हजार एक ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ।

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं -४ ओखरबोटका ६ सय, च्युरीबोटका करिब एक सय, धवलागिरि गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ।

३७० घरपरिवारको बसोबास रहेको लुलाङमा ट्रान्सफर्मर चार्ज भइसकेको नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। मालिका गाउँपालिकाको सिस्नेरी र महभिरमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। यो ठेक्कामार्फत धवलागिरि गाउँपालिका-१ को गुर्जाबाहेक बस्तस्हरुमा केन्द्रीय विद्युत सुविधा पुग्ने केन्द्रका प्रमुख गामीले बताए। रासस


प्रकाशित : सोमबार, चैत १६ २०८२१४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend