काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि युसिन-एआरटी संयुक्त उपक्रम (जेभी) छनोट भएको छ। आयोजनाले सोमबार सूचना जारी गर्दै पाँच वर्षका लागि उक्त कम्पनीलाई १ अर्ब १० करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको जनाएको हो।
कम्पनीले लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम दरमा आर्थिक प्रस्ताव पेश गर्दै ठेक्का हात पारेको हो। सम्झौताअनुसार २.६५ किलोमिटर लामो सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र नियमित मर्मतसम्भारको जिम्मा कम्पनीले वार्षिक करिब २२ करोड रुपैयाँमा वहन गर्नेछ।
सञ्चालन ठेक्काका लागि कुल १० कम्पनी तथा संयुक्त उपक्रमबाट आवेदन परेको थियो। आयोजनाका अनुसार गत पुस ३० गतेसम्मको म्यादभित्र स्वदेशी तथा विदेशी निर्माण कम्पनीहरूको प्रतिस्पर्धी सहभागिता देखिएको थियो।
आवेदन दिनेमा सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड-स्वच्छन्द निर्माण सेवा जेभी, काष्ठमण्डप कन्स्ट्रक्सन-गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी जेभी, कुमार श्रेष्ठ निर्माण सेवा, केएसएनएस-अल्टिनोक-बीसीपीएल जेभी लगायतका कम्पनी रहेका थिए।
त्यस्तै एसएक्सआरबी-ब्राइट बुल, जेटीसीजी-दान्फे, बावरी कन्स्ट्रक्सन-टनलटेक सोलुसन्स तथा ईएमएसएल-पीएससीपीएल जेभीले पनि प्रतिस्पर्धा गरेका थिए।
करिब २२ अर्ब रुपैयाँ प्रारम्भिक लागतमा सुरु गरिएको नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको कुल लागत बढेर साढे २७ अर्ब रुपैयाँ नाघेको छ। यसमा जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ।
सडक विभागका अनुसार डिजाइन परिवर्तन, निर्माण अवधिमा थपिएका संरचना, पटक-पटकका अवरोध, परामर्श सेवाको अतिरिक्त लागत तथा निर्माण कम्पनीका क्षतिपूर्ति दाबीका कारण आयोजनाको लागत बढ्दै गएको हो।
२०७६ कात्तिक ४ गते शिलान्यास गरिएको यो आयोजना सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड-१९ को महामारी, स्थानीय अवरोध तथा डिजाइन परिवर्तनका कारण निर्माण कार्य पटक-पटक प्रभावित भएको थियो। कतिपय समयमा स्थानीय आन्दोलनका कारण लामो समयसम्म काम ठप्प भएको थियो भने २०८१ चैतमा पनि करिब एक महिना काम अवरुद्ध भएको थियो। मुख्य सुरुङ २०८१ बैशाख ३ गते छिचोलिए पनि सुरुङ मार्ग पूर्ण सञ्चालन अझै सुरु हुन सकेको छैन।