शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

पथलैयादेखि नारायणघाटसम्मको १ सय किलोमिटर सडक स्तरोन्नति अघि बढ्यो, ५४ अर्ब २९ करोड खर्च हुने

१९ वटा वन्यजन्तु निकास र २ स्थानमा भायाडक्ट निर्माण हुने

सोमबार, चैत १६ २०८२
पथलैयादेखि नारायणघाटसम्मको १ सय किलोमिटर सडक स्तरोन्नति अघि बढ्यो, ५४ अर्ब २९ करोड खर्च हुने

काठमाडौं- पूर्व-पश्चिम राजमार्गको पथलैयादेखि नारायणघाट सडकखण्ड विस्तारको काम अगाडि बढ्ने भएको छ। १ सय किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रायसुझावका लागि सार्वजनिक भएको छ। 

मधेश प्रदेशको बारा जिल्ला र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा प्रस्तावित १ सय किलोमिटर सडक स्तरोन्नतिका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले रायसुझावका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो। सडक स्तरोन्नतिमा  एसियाली विकास बैंक (एडीबी) को लगानी हुने छ। 

प्रतिवेदन  सडक  भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र मनहरि गाउँपालिका क्षेत्रमा पर्दछ। सडकको सुरु विन्दु बारा जिल्लाको पथलैया र अन्तिम बिन्दु चितवन जिल्लाको गोन्द्राङ रहने छ।

यस आयोजनाअन्तर्गत सडकको आफ्‌नै स्वामित्वमा रहेको ५० मिटर अधिकार क्षेत्रमा अस्फाल्ट कंक्रिटबाट निर्मित ४ लेनको सडक ३ मिटर आइल्यान्डसहित आवश्यकताअनुसार सोल्जर निर्माण गरिने छ। यस सडकखण्डमा वन्यजन्तु वारपारका लागि १९ वटा वन्यजन्तु निकास र २ स्थानमा भायाडक्ट निर्माण गरिने छ। सडक स्तरोन्नतिका क्रममा ४१ वटा पुल र २ सय ४६ वटा कल्भर्ट निर्माण गरिने रिपोर्टमा उल्लेख छ।

पूर्व-पश्चिम राजमार्ग नेपालको प्रमुख आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारिक राजमार्गका साथै एसियाली राजमार्गको खण्ड पनि हो। दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार आयोजनाले पूर्व-पश्चिम राजमार्गमा पर्ने पुलहरूसहित २ सय ७० किलोमिटर सडकखण्ड स्तरोन्नति गर्दै छ।

जसमध्ये काँकरभिट्टा-लौकही सडकखण्ड १ सय २० किलोमिटर, बुटवल-गोरुसिंगे सडकखण्ड ५० किलोमिटर तथा पथलैया-हेटौँडा-नारायणघाट सडकखण्ड १ सय किलोमिटर रहेको छ। यस प्रस्तावित आयोजनाले पथलैया-हेटौँडा-नारायणघाट सडकखण्डका सबै पुल-पुलेसाहरूसहित २ लेनको सडकलाई ४ लेनमा स्तरोन्नति गर्ने छ। 

यो सडकखण्ड मधेश प्रदेशको बारा जिल्ला र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्ला भएर गएको छ। पथलैया-हेटौँडा-नारायणघाट सडक स्तरोन्नतिपश्चात ट्राफिक जाम न्यूनीकरण, यात्रा गुणस्तर अभिवृद्धि तथा सडक सुरक्षामा सुधार ल्याउने लक्ष्य लिइएको छ।

यस आयोजनाअन्तर्गत विद्यमान सडक तथा पुलहरू एसियन राजमार्ग मापदण्डमा स्तरोन्नति गरिने छ। सडकको चौडाइ सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी (सहरोन्मुख) क्षेत्रमा ३७.४ मिटर र ग्रामीण तथा वनक्षेत्रमा २४ मिटर कायम गरिएको छ।

सडक स्तरोन्नतिका अवयवअन्तर्गत १ सय किलोमिटरको सडकखण्डलाई २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने, पेभमेन्ट स्तरोन्नति, ज्यामितीय सुधार, २० स्थानमा चोक सुधार, सडकका दुवै भागमा सर्भिस रोड, साइकल लेन, सहरी क्षेत्रमा फुटपाथ, पैदलयात्रु क्रसिङका लागि ६ स्थानमा आकासेपुल र १२ स्थानमा अन्डरपास, ४ किलोमिटरभन्दा बढी लम्बाइ भएको २ भायडक्टसहित २१ स्थानमा वन्यजन्तु क्रसिङ स्ट्रक्चर निर्माण गरिने रिपोर्टमा उल्लेख छ।

साथै सडकखण्डमा ४१ वटा पुल र २ सय ४६ वटा बक्स कल्भर्ट निर्माण हुने छ। प्रस्तावित पुलका लागि १ सय वर्ष रिटर्न फ्लो, कल्भर्टका लागि ५० वर्ष रिटर्न फ्लो र साइड ड्रेनका लागि २५ वर्ष रिटर्न फ्लोमा डिजाइन गरिएको छ।

प्रस्तावित स्तरोन्नतिका कार्यहरू सडकको ५० मिटर क्षेत्राधिकारभित्र सम्पन्न गरिने भएकाले क्षेत्राधिकारभन्दा बाहिर स्थायी रूपमा थप जमिन आवश्यक नपर्ने समेत रिपोर्टमा उल्लेख छ। सडक स्तरोन्नति तथा पुल निर्माणमा ५४ अर्ब २९ करोड ३६ लाख ४७ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।  यो आयोजना सन् २०२६ भित्रै सुरु भएर ३ वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ।


प्रकाशित : सोमबार, चैत १६ २०८२१४:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend