बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

घट्दो सेयर बजारमा 'ब्रेक'पछि दोहोरो अंकको वृद्धि, चुनावअघि बजार बढाउन अर्थमन्त्री शर्माको जोडबल

सोमबार, चैत ७ २०७८
घट्दो सेयर बजारमा 'ब्रेक'पछि दोहोरो अंकको वृद्धि, चुनावअघि बजार बढाउन अर्थमन्त्री शर्माको जोडबल

काठमाडौं- लगातार घटिरहेको सेयर बजारमा एक सातापछि क्रम फेरिएको छ। गत आइतबार १०१ अंक बढेर लगातार घटिरहेको बजारमा यो साता कारोबारको दोस्रो दिन सोमबार वृद्धि देखिएको छ। 

सोमबार उतारचढावमा रहँदै रातो भइरहेको बजार कारोबार बन्द हुन २० मिनेट बाँकी हुँदा एकाएक हरियो यात्रामा प्रवेश गरेको थियो। सोमबार १८.०७ अंकले बढेर बजार २६३४.६५ बिन्दुमा उक्लिएको छ। जहाँ २ अर्ब ५९ करोड रूपैयाँको कारोबार भएको छ। १ सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

पछिल्लो समय सेयर बजारमैत्री भाषण गर्दै हिँडेका अर्थमन्त्री शर्मा चुनाव अगाडि बजार बढाउने पक्षमा रहेका छन्। त्यसका लागि उनको दौडधुप चलिरहेको छ। जसको सकारात्मक प्रभावका कारण पनि सेयर बजार सोमबार बढेको हो। विश्लेषकहरूले बजार अत्याधिक घटिसकेकोले चुनावअगाडि बजार बढ्ने बताउँदै आएका छन्। 

आइतबार दोहोरो अंकको गिरावटसँगै कारोबार रकमसमेत सुस्ताएको थियो। आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेर रोकिएको थियो। आइतबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको थियो। 

गत साता कारोबारको पहिलो दिन आइतबार भने सेयर बजारमा १०१ अंकको वृद्धि आएको थियो। तर गएको साता पनि अन्य दिनहरू भने सेयर बजारका लागि सुखद हुन सकेन। गएको सोमबार प्राविधिक समस्याले कारोबारको केहीबेरमै रोकिएको सेयर बजारमा मंगलबार र बुधबार भने गिरावट आएको थियो। अर्थमन्त्री शर्माले सोमबारको जस्तो समस्या अब आउन नदिन पहल गर्न नेप्सेलाई मंगलबार नै निर्देशन दिएका थिए। गत साताको मंगलबार १७.१५ अंकले गिरावट आएको बजारमा बुधबार पनि १९.६५ अंकको गिरावट आएको थियो। 

बैंकहरूले ऋण नदिए पनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले बजारमा सुधारको संकेत देखिएको विश्लेषण भइरहँदा पनि सेयर बजार भने बढ्न सकेको थिएन। बैंकहरूमा तरलताको समस्यासमेत समाधानउन्मुख रहेको छ। लगातार निक्षेप घटिरहेको भए पनि फागुनमा २२ अर्बले निक्षेप बढेको थियो। सेयर बजारले साथ पाउने अवस्था रहेको विश्लेषण भइरहे पनि बजारमा अपेक्षाकृत वृद्धिको अवस्था आइरहेको छैन। सोमबारको वृद्धिले लगानीकर्तामा विश्वास थपिने विश्लेषण भइरहेका छन्। 


प्रकाशित : सोमबार, चैत ७ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend