बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

टेलिकमको सेयरमा ठूला लगानीकर्ताकाे चलखेल, लाभांश घोषणापछि लगातार घटेको घट्यै

सोमबार, चैत ७ २०७८
टेलिकमको सेयरमा ठूला लगानीकर्ताकाे चलखेल, लाभांश घोषणापछि लगातार घटेको घट्यै

काठमाडौं- नेपाल टेलिकमको सेयर मूल्य लाभांश घोषणा भएपछि लगातार घटिरहेको छ। लाभांश घोषणा गरेको पहिलो दिननै ८८ रुपैयाँले घटेर सेयर मूल्य १६ सय २६ रुपैयाँमा आएको थियो। दोस्रो दिन ५८ रुपैयाँले घटेर १५ सय ६८ रुपैयाँ कायम भएको थियो। 

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटिरहेको छ। लाभांश घोषणाले बढ्नुपर्ने सेयर बजार लगातार उच्च अंकबाट अहिलेसम्म २९५ रुपैयाँ गिरावट आइसकेको छ।

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिँदा सेयर मूल्य लगातार घटिरहेको छ। टेलिकमको सेयर मूल्यमा सानालाई फसाएर ठूला बाहिरिँदा समस्या आएको एक लगानीकर्ताले बताए। ‘दिनै नपर्ने कम्पनीलाई बोनस सेयर दिइएको छ, यसले भविष्यमा मूल्य घट्ने आँकलनमा साना लगानीकर्ता त्रसित भएका हुन्,’ ती लगानीकर्ताले भने। 

यो साताको दोस्रो दिन सोमबारसम्म आइपुग्दा सेयर मूल्य घटेर १५ सय ४ रुपैयाँमा आइपुगेको छ। साेमबार पनि प्रतिकित्ता ४६ रुपैयाँ घटेकाे छ। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको थियो। टेलिकमको ९ सय ७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

ntc 1.PNG

ठूलो कम्पनी भएकोले चुक्ता पुँजी बढ्दै जाँदा सेयर मूल्य तल झरेर बस्ने अनुमानमा लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन्। सबै कम्पनीको हकमा त्यस्तो लागू नभए पनि लगानीकर्ता त्रासमा हुँदा सेयरमूल्य घटेको हो। 

टेलिकमको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको थियो। कम्पनीले सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो। 

कम्पनीको बजार पुँजीकरण २ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ। गत एक साताअगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो। एक सातामै कम्पनीको बजार पुँजीकरण १७ अर्बले घटेको छ। 

टेलिकमको चालु आवको दोस्रो त्रैमासमा कुल आम्दानी ८‍.३६ प्रतिशतले बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ। गत वर्षको तुलनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पहिलाे पटक सेयर लाभांश घाेषणा गरेकाे हाे। 

कुन वर्ष कति लाभांश ?

ntc 1.PNG


प्रकाशित : सोमबार, चैत ७ २०७८०९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend