शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कानूनमन्त्री सोविता गौतम : नागरिककेन्द्रित शासन प्रणाली सुधारको अपेक्षा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
कानूनमन्त्री सोविता गौतम : नागरिककेन्द्रित शासन प्रणाली सुधारको अपेक्षा

नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ। समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उनी राजनीतिमा सक्रिय छिन्।

काठमाडौं- नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिन्छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्ने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिन्।

विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छिन्। उनी सामान्य पारिवारिक परिवेशमा हुर्किएकी हुन्। 

शिक्षातर्फ रुचि राख्ने गौतमले माध्यमिक तहको अध्ययन भक्तपुरको एक विद्यालयबाट सम्पन्न गरेकी थिइन्। त्यसपछि उनले कानून विषयमा स्नातक पूरा गरेकी छिन् भने हाल काठमाडौं स्कुल अफ ल मा एलएलएम अध्ययनरत छिन्।

राजनीतिमा प्रवेशअघि नै कानून, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन्। कानूनी समस्या र अधिकार उल्लंघनका विषयलाई कानूनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव उनीसँग छ।

त्यस्तै राष्ट्रिय तहमा नीतिगत बहस, जनसरोकार र सुधार एजेन्डालाई संसद्मै उठाउने अनुभव उनमा छ। कानून, न्याय तथा मानव अधिकार समितिमा पूर्वसदस्यका रुपमा उनले विधेयक, मानव अधिकार र न्यायका क्षेत्रमा प्रत्यक्ष अनुभव हासिल गरेकी छिन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानूनी परामर्श अनुभवका साथै नेपालका युवा संस्थाको सञ्जालमार्फत अभियान सञ्चालन, सरकारसँग पैरवी र नीति दबाबमा सक्षम नेतृत्व उनले देखाएकी थिइन्।

उनले अन्तरराष्ट्रिय तहमा आफ्नो पहिचान बनाउँदै संयुक्त राष्ट्रसंघसँग आबद्ध कार्यक्रम तथा अन्तरसंसदीय संघको स्वास्थ्य समितिमा सदस्यका रूपमा योगदान दिएकी छिन्। सार्वजनिक स्वास्थ्यका सम्बन्धमा संवादमार्फत जनचेतना फैलाउने कार्यमा उनको सक्रियता उल्लेखनीय छ।

युवाको सहभागिता, सुशासन, पारदर्शिता र नीतिगत सुधारका पक्षमा स्पष्ट धारणा राख्नुहुने गौतमले राजनीतिलाई सेवा र परिणाममुखी कार्यसँग जोड्नुपर्नेमा जोड दिन्छिन्। निर्वाचनका क्रममा उनले विकास, सुशासन र युवालाई अवसर सिर्जनाका एजेन्डा अघि सारेकी थिइन्।

राजनीतिमा प्रवेश गर्नुअघि उनी सञ्चार क्षेत्रमा पनि परिचित थिइन्। विशेषगरी स्वास्थ्य कार्यक्रमको प्रस्तोताका रूपमा उनले तथ्यमा आधारित बहस, गलत सूचनाविरुद्ध अभियान तथा जनचेतनामूलक कार्यक्रममार्फत उनले समाजमा सकारात्मक प्रभाव पारेकी थिइन्।

सन् २०२३ मा ‘वन यङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्डबाट सम्मानित गौतम युवापुस्ताको प्रतिनिधि स्वरका रूपमा स्थापित भएकी छिन्।

रास्वपाकी संस्थापक केन्द्रीय सदस्यसमेत रहेकी गौतमले नीतिगत सुधार, पारदर्शिता र नागरिककेन्द्रित शासन प्रणालीलाई प्राथमिकता दिने नयाँ पुस्ताको राजनीतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन्।

नीतिगत स्पष्टता, अध्ययनशीलता र सक्रियताका कारण उनलाई नेपाली राजनीतिमा सम्भावनायुक्त युवा नेताका रूपमा हेरिएको छ। समृद्ध नेपाल निर्माणमा युवाको भूमिका विस्तार गर्ने लक्ष्यसहित उनी राजनीतिमा सक्रिय छिन्। 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend