काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छिन्। वादी समुदायबाट मन्त्री बनेकी उनी पहिलो हुन्।
महिला सशक्तिकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी वादीले समुदायका महिलाको स्थिति झनै नाजुक रहेको बताउँदै आएकी छिन्। संस्थामार्फत सिलाइकटाइ प्रशिक्षण दिएर महिलालाई आर्थिक स्वावलम्बी बनाउने काम गर्दै आएको उनले जानकारी दिइन्।
कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका-१४ स्थायी घर भइ हाल काठमाडौंको बुढानीलकण्ठ-८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट सुरु गरेकी हुन्। 'महिलाहरुको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,' उनले भनिन्, 'स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु।'
सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन तर यो अवसरलाई उनले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताइन्। समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उनको धारणा छ। आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ।
'वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ। वादी समुदायका छोरीहरुको अवस्था अन्धकारमय छ,' उनले भनिन्।
आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उनले पढ्नका लागि कलम-कापी नपाउँदाको पीडा सम्झिइन्। उनले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाइन्।
यद्यपि वादीले जीवनमा भोगेका थुप्रै संघर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताइन्। अभावका बीच पनि पढ्ने रहर उनले कहिल्यै मारिनन् र एउटा संस्थाले उनलाई शिक्षामा सहयोग गर्यो। समाजसेवा (बिएसडब्लु) अध्ययन पूरा गरेकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताइन्।
पढ्न पाएपछि उनले जीवनलाई फरक ढंगले अगाडि बढाउन सक्ने भइन्। 'समाजमा आत्मसम्मानको लडाइँ निकै ठूलो हुँदो रहेछ,' उनले भनिन्, 'जुन अहिलेसम्म लडिरहेछु।'
यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित भएकी थिइन्। रासस