काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिभा रावल नियुक्त भएकी छिन्। रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिइन्। रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उनी सांसद निर्वाचित भएकी हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी रावल पत्रकारिता पृष्ठभूमिकी हुन्। नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन्। उनीसँग साउथ एसिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव छ।
रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गरेकी थिइन्। उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गरेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध छिन्।
रावलले स्नातक तहसम्म अध्ययन गरेकी छिन्। एक दशकभन्दा बढी समय पत्रकारिताको अनुभव बटुलेकी रावलले रवि लामिछानेको निजी सचिवालयमा समेत जिम्मेवारी सम्हालेकि थिइन्।