काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि छोटो समय युवा तथा खेलकुदमन्त्रीका रूपमा काम गरिसकेका श्रेष्ठलाई यसपटक देशको रणनीतिक महत्वको ऊर्जा क्षेत्रको नेतृत्व दिइएको हो जसलाई युवा नेतृत्वप्रति बढ्दो विश्वासका रूपमा हेरिएको छ।
ऊर्जा क्षेत्र अहिले नेपालका लागि आर्थिक रूपान्तरणको आधार मानिएको छ। हाल करिब ३ हजार ५ सय मेगावाट विद्युत् उत्पादन भइरहेका बेला रास्वपाले आफ्नो चुनावी वाचापत्रमार्फत १० वर्षभित्र १२ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य अघि सारेको छ। यस्तो महत्वाकांक्षी लक्ष्य हासिल गर्न स्वदेशी तथा विदेशी लगानी, ठूला जलविद्युत् आयोजना, प्रसारण पूर्वाधार र नीतिगत स्थायित्व अपरिहार्य मानिन्छ। यही सन्दर्भमा श्रेष्ठको भूमिकालाई निर्णायक रूपमा हेरिएको छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठ यसअघि २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य बनेका थिए। २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उनले आफ्नो राजनीतिक आधार बलियो बनाएका हुन्।
उनको सार्वजनिक छवि २०७२ सालको महाभूकम्पपछि उल्लेखनीय रूपमा उचालिएको मानिन्छ। त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण तथा उद्धार अभियान सञ्चालन गर्नुका साथै मुस्ताङदेखि बर्दिबाससम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। यसले उनलाई भुइँतहका नागरिकसँग जोडिएको नेताका रूपमा स्थापित गर्यो।
वातावरण संरक्षणप्रति सक्रिय श्रेष्ठले ‘फोर्स नेपाल’मार्फत ‘वान ट्री-मेरो जिम्मेवारी’ अभियान सञ्चालन गर्दै वृक्षरोपण र जनचेतनामूलक कार्यक्रम अघि बढाएका थिए। यसले युवामाझ उनको सकारात्मक छवि निर्माण गर्न सहयोग पुर्याएको छ।
राजनीतिक रूपमा उनी विवेकशील साझाको अभियानबाट उदाएका हुन्। उज्ज्वल थापासँगको सहकार्यमा वैकल्पिक राजनीतिमा सक्रिय भएका श्रेष्ठ समानुपातिक प्रणालीमार्फत बागमती प्रदेशसभा सदस्य बनेपछि आफ्नो कार्यशैलीका कारण चर्चामा आएका थिए। उनले प्रत्येक वर्ष कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्ने अभ्यासलाई निरन्तरता दिएका छन्, जुन नेपाली राजनीतिमा विरलै देखिने अभ्यास मानिन्छ।
बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन कानून पारित गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, गुठी विधेयकविरुद्ध सडक र सदन दुवैबाट सक्रिय भूमिका निर्वाह गर्दै उनले नेवाः समुदायको भावनाको प्रतिनिधित्व गरेका थिए।
विवेकशील साझाभित्र वैचारिक मतभेदपछि अलग भएका श्रेष्ठ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट काठमाडौं–८ मा प्रतिस्पर्धा गर्दै विजयी भएका थिए। विभिन्न दलका प्रभावशाली उम्मेदवारलाई पछि पार्दै उनले आफ्नो राजनीतिक प्रभाव विस्तार गरेका थिए।
संघीय संसदमा रहँदा उनले सुशासन र खेलकुद क्षेत्र सुधारमा सक्रियता देखाएका थिए। छोटो अवधिका लागि युवा तथा खेलकुद मन्त्री हुँदा व्यवस्थापन सुधार, बेथिति नियन्त्रण र खेलाडीहरूको मनोबल उकास्ने प्रयासका कारण उनी ‘काम गर्न सक्ने युवा’का रूपमा चिनिएका छन्।
अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै श्रेष्ठले ऊर्जा सुरक्षा, जलस्रोतको दिगो उपयोग र सिँचाइ विस्तारजस्ता चुनौतीको सामना गर्नुपर्नेछ। जलविद्युत् उत्पादन वृद्धि, प्रसारण लाइन विस्तार, ऊर्जा निर्यात तथा सिँचाइ पूर्वाधार विकासमा उनको नेतृत्वको परीक्षा हुने विश्लेषकहरूको भनाइ छ।